अध्यक्षलाई यस्तोसम्म अप्ठ्यारो
दिन कस्तो आयो भने, द्वन्द्वकालीन समयका वादी र प्रतिवादी एउटै मञ्चमा । ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै ‘न्यायका लागि’ लड्छु भनिदिनै पर्ने ।
नेकपा अध्यक्ष प्रचण्डले यस्तो अप्ठेरोमा ‘नजाने’ खबर पठाउनुभयो । तर, अर्को पक्षले भन्यो, ‘उसोभए खुमलटार गएर, उहाँकै घरमा कार्यक्रम गर्छौं ।’ त्यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिस जानु बेश ठानेर प्रचण्ड पुग्नुभयो, १५ गते बिहान शहीद रुद्र पाख्रिनको श्रद्धाञ्जली सभामा । सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षबाट मारिएका थिए, रुद्र पाख्रिन । उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन् । माओवादी गतिविधिको सुराकी गरी राज्यपक्षलाई सूचना दिएको आरोपमा एमाले कार्यकर्ता रुद्र अपहरणमा परेका थिए । पछि मृत फेला परे । उनकै श्रद्धाञ्जलीका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाउने भनिएका प्रचण्डलेचाहिँ चिनियाँ राजदूत भेट्न आउँछिन् भन्दै खुमलटारबाट निस्कन समय लाग्ने खबर पठाउनुभयो ।
‘प्रचण्ड नआए यो कार्यक्रमको अर्थै छैन । लु, साथी हो, हामी पनि खुमलटार जाऔँ’ भनेर शान्ति तम्सिएकी थिइन् । तर, यसबीच प्रचण्डलाई त्यो खबर पुग्यो र कार्यक्रममा जाने हुनुभयो । बरु, भेटघाटका सबै समय धुम्बाराही पार्टी कार्यालयमै मिलाउने निधो गरियो । कार्यक्रममा शान्तिले पति वियोगका दुःख सुनाइन् । भनिन्, ‘मबाट श्रीमान् खोसेर लैजाने अपराधीहरु मेरै पार्टीमा, यहीँ छन् †’ प्रचण्ड पल्याकपुलक हेर्दै हुनुहुन्थ्यो । भन्न खोजेको कसलाई हो, बुझिसक्नुभएको थिएन । तर, सबैको नजर पूर्वमाओवादी सांसद देवी खड्कातिर परेपछि कुरा बुझ्नुभयो ।
सशस्त्र द्वन्द्वकालमा द्वन्द्वरत माओवादीबाट मारिएका रुद्र पाख्रिनले रितबहादुर खड्का अखिल पाँचौंको जिल्ला अध्यक्ष हुँदा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । पछि रितबहादुर माओवादी भएर सुरक्षाकर्मीबाट मारिए । उनैकी बहिनी हुन्, देवी र भाइ विशाल । कार्यक्रममा ती दुबैजना थिए, जसलाई शान्तिले ‘अपराधी पार्टीभित्रै छन्, यहीँ छन्…’ भन्दै इंगित गरिन् । भनिन् पनि, ‘रितबहादुरका हत्यारा पत्ता लगाई तिनलाई कानुनी सजायँ दिलाउने र मेरो श्रीमान्को हत्यारालाई दण्डित गर्ने काममा अब हामी सँगै लागौँ ।’ तर, त्यसो गर्दा पूर्वमाओवादीको आरोपअनुसार रितबहादुर रुद्रको सुराकीले मारिएको र रुद्रलाई देवी–विशालहरुले मारेको भन्नेतिर कुरा पुग्छ, आरोपको समाधान हुँदैन । प्रचण्डले भन्नुभयो, ‘जनयुद्धको नेता हुनुको नाताले जस–अपजस सबै कुराको जिम्मा लिन म तयार छु भनेर पटक–पटक भन्दै आएको र त्यही कुरा यहाँ पनि दोहो¥याउन चाहन्छु । दोषी छु भने सजायँ भोग्न म पनि तयार छु भनिसकेपछि अरुको त के कुरा ? त्यसैले द्वन्द्वकालीन घटनालाई सत्य निरुपणका विधिबाट समाधान खोज्ने काममा अहोरात्र तल्लीन छौँ ।’
त्यही कार्यक्रममा एकातिर बसेर पूर्वमाओवादी केन्द्रकै बेलादेखि केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालेका श्रीराम ढकाल सहयोद्धाहरुसँग गुनासो पोख्दै थिए, अध्यक्षबारे । खुमलटारमा अध्यक्षको ९० प्रतिशत समय भेटघाटमा बित्छ । भेट चाहियो भन्ने उत्तिकै मान्छे पेरिसडाँडादेखि धुम्बाराही पार्टी अफिसतिर लाइन लागेका हुन्छन् । पार्टी च्यानलका मानिसहरु प्रायः त्यहाँ पुग्ने गरेका छन् । खुमलटारमा बुझ्दा अध्यक्ष भेटघाटमै भएको खबर आउँछ । धुम्बाराहीमा कार्यक्रम चल्दै गर्दा एकजना पार्टी सहकर्मीसँग भन्दै थिए, ‘अध्यक्षलाई भेट्न को जान्छन् ? भेटाउनेले कसलाई भेटाउँछन् ? पार्टी, नेतृत्वबारे कुनै भेटमा कुरा हुँदैन । संगठनमा काम गर्ने साथीहरु महिनौँदेखि भेट नपाएर फायर छन् । अध्यक्षचाहिँ बाहिरी मान्छे भेट्नमा व्यस्त रहनुहुन्छ ।’
श्रीराम भन्दै थिए, ‘निवास र कार्यालय फरक कुरा हो । निवासमा व्यक्तिगतखाले भेट गरे भयो । कार्यालयमा आएर अध्यक्षका हैसियतले, औपचारिक भेटघाट चलाए हुन्थ्यो । पार्टी र संगठनका विभिन्न तहमा काम गर्ने साथीहरु पनि अध्यक्षलाई कार्यालयमै भेट्न चाहन्छन् । तर, अध्यक्षसँग त्यस्तो समय नै छैन ।’ कार्यालय सचिवलाई दिनभरि अध्यक्षको कार्यक्रम नै थाहा नहुने अर्को बेथिती पनि रहेछ ।
टिप्पणीहरू