​आफू मार्ने मस्ती, सरकारलाई सास्ती

जनताले सुरक्षाका लागि गर्ने निक्षेप, अर्थात् सार्वजनिक पुँजि सुरक्षित गर्नुपर्ने एउटा संस्थाको प्रमुख नै ‘फुपूको श्राद्ध’ मा व्यस्त भएपछि अन्तको अवस्था के होला ? 

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी निर्देशक विष्णु मिश्रका अनियमितताको पर्दाफास भएपछि छानवीन शुरु हुन लागेको छ । सिमित आय भएका सर्वसाधारण निक्षेपकर्तालाई बैकिंग एवं वित्तीय संस्थाको निक्षेपप्रति बढी विश्वसनीय पार्ने उद्देश्यअनुरूप निक्षेपको सुरक्षण गरिएका बैंक र वित्तीय संस्था खारेज भएको वा लिक्विडेशनमा गएको अवस्थामा त्यस्तो निश्चित निक्षेप बराबरको दावी भुक्तानी पाउने गरी सुरक्षण र बीमा गराउने प्रचलन करिव ८० वर्षदेखि संयुक्त राज्य अमेरिकाले शुरु गरेको थियो । विश्वका झण्डै एक सय २० राष्ट्रले त्यस्तो निक्षेप सुरक्षण र बीमा स्किम लागु गरेका छन् । त्यही प्रयोजनका लागि नेपालमा स्थापित संस्थाका प्रमुख कार्यकारीचाहिँ मस्तीमा भेटिए । लघु वित्त तथा विपन्न वर्ग, साना तथा मझौला उद्यम र पशुधन जस्ता कर्जाले रोजगारी, आय आर्जन, समावेशी र दीगो आर्थिक वृद्धि गराउन मद्दत गर्ने कारण त्यस्ता कर्जाको व्यवसायिकताको जोखिम कम गर्ने उद्देश्यले उक्त अड्डा स्थापना भयो । तर, जोखिम कम हैन, धराशायी नै हुने गरी मस्ती मारिएको एउटा घटना भएपछि छानवीन अगाडि बढेको हो । उनले महालेखा नियन्त्रक गोपी मैनालीका पतिपत्नीलाई बिजनेश क्लासको सिटमा चढाएर श्रीलंका घुमाए ।

फर्किंदा बैंकक रुट हुँदै आफूले सधैं लिएर हिँड्ने महिला कर्मचारीसहित पत्तायातिर हान्निए । मानिसको निजी जीवन हुन्छ र हुनेखानेले व्यक्तिगत खर्चमा त्यसो गर्न पनि सक्छन् । तर, विपन्न वर्ग, साना तथा मझौला उद्यमको संरक्षण गर्नुपर्ने हाकिमले तिनैको निक्षेपबाट मस्ती मारेको सबै खर्च दावी गरेपछि यो प्रकरण तानिएको हो । जबकि, श्रीलंका जान मुम्बई या मद्रास भएर जाँदा नजिक र सस्तो पर्छ । तर, उनले यही प्रयोजनका लागि पूर्व गएर फेरि पश्चिम फर्किने बैंकक रुट छानेका थिए । यदि, ट्राञ्जिट परेको थियो भने त्यसलाई स्वाभाविक मान्न सकिन्थ्यो । तर, पूर्वबाट पश्चिम हान्निने र विमानस्थलबाट केही दिनलाई बाहिरिने अचम्मको शौखले उनलाई सिध्याउनै लागेको छ । उनी ०७४ कात्तिकमा तत्कालिन देउवा सरकारबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

टिप्पणीहरू