जर्नेलले जब परिचयपत्र जोगाएनन्
कागजको घरलाई कति पर्ला ? त्यस्तै, दुई–चार रूपैयाँ ! तर, त्यही कागजी घरको नाममा करोडौँ गएपछि नेपाली सेना बल्ल झस्किएको छ घर त बन्दै नबनेको रहेछ । त्यसपछि कागजी काण्ड परिचयपत्र हराउने तहसम्म पुगेको छ !
यसरी नेपाली सेनामा जर्नेलहरूको आइडी कार्ड नै हराउने नयाँ रोग फेला परेको हो । पदमा हुञ्जेल सरकारले हरियो गाडी दिन्छ, अर्दली र ड्राइभर पनि पाइन्छ । तर, पद खुस्किएपछि शानसौकत केही न केही ! त्यसमाथि घोटाला काण्ड लागेर राजीनामा दिनुपर्ने स्थितिमा मासिक खर्च त चाहियो † त्यसका लागि पेन्सनपट्टा, निवृत्त परिचयपत्र, स्वास्थ्योपचारका लागि अस्पतालको कागज बनाउनै प¥यो । अवकाशसँगै परिचयपत्रसहित जागिरकालमा आफूले सम्हाल्दै आएका सबै कागजात बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, एकजना जर्नेलले केही पनि बुझाउन नसकेपछि विविध प्रकारका घोटालासँगै शैक्षिक प्रमाणपत्र काण्डले चर्चामा आइरहने सेनाभित्र परिचयपत्र काण्ड आइलागेको हो । कोही मान्छे चिफ हुँदा त्यही मान्छेलाई लेफ्टिनेन्ट कर्णेलबाट बढाउँदै–बढाउँदै दरबन्दी नभएको ठाउँमा दुई तारे जर्नेलसम्म बनाइदिए ।
कोही चिफ आउँदा शून्य सहनशीलताको नीतिअनुसार भ्रष्टाचारमा कारवाही अघि बढाइदिए । अहिले भर्खरै राजीनामा दिन बाध्य बनाइएका जर्नेल भुवन अधिकारीमाथि त्यस्तै विपत्ति आइलागेको छ । उनीमाथि बहुविवाह गरेकोदेखि सेनाको बजेट राम्र्रै खपत गरेकोसम्मका अभियोग छन् । नेपाली सेनाको अति संवेदनशील मानिने युनिट हो, राष्ट्रिय निकुञ्ज निर्देशनालय । त्यसको भवन बनाएको भनेर उनले पेश गरेको कागजका आधारमा भुक्तानी भइसक्यो, तर भवन कतै छैन । उनैको हो, परिचयपत्र अहिलेसम्म फेला नपरेको जसको निम्ति सैनिक प्रहरी धुइँपत्ताल राजधानीका कुनाकाप्चा छान मार्दै छ ।
यसैबीच, सेनाको हवाई सेवा निर्देशनालयका महानिर्देशक सुधीर श्रेष्ठले राजीनामा दिएका छन् भने पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाका छोरा अजितवरसिंह थापामाथि छानवीन शुरु भएको छ । अशोक सिग्देल नेतृत्वको निरीक्षणाधिकृत विभागले फास्टट्रयाकसहित प्राविधिकतर्फका अनियमितताहरूको खातापाता पल्टाउने क्रममा अजित सेकिन लागेका हुन् । उनको पालामा यान्त्रिक सेवा महानिर्देशनालयअन्तर्गत गोलीगठ्ठाको कच्चापदार्थ र मेसिन ल्याउँदा आर्थिक अपचलन भएको आरोप छ ।
टिप्पणीहरू