​पर्खी बसें आउला भन्दै पालो….

व्यापारी कति बाठा भइसके भने, एउटा हाकिम विदेश उड्दैछ भन्ने चाल पाएर मुनिको हाकिम समात्ने, मुनिका हाकिमले निवेदनमा स्टिकर टाँसेर मूल हाकिमसम्मलाई हेरेको हे-यै पारिदिने ! दूरसञ्चार सेवा प्रदायक एनसेलको पुँजिगत लाभकरको रोक्का रकम यस्तै चोरबाटो बनाएर निकासा भएको हो ।
 
यस्तो चालबाजीका कारण एनसेलले १४ जुलाई २०१६ मा नाफाबापतको करिव दुई अर्ब रकम उम्काउन सफल भयो । ६ करोड लगानी गरेर ७० अर्ब नाफा लैजाने ? भन्दै डा. युवराज खतिवडाले रोकेको रकम अदालती आदेशमा चोरबाटोबाट लगिएको थियो ।
 
 राष्ट्रबैंकका गभर्नरपछिको हैसियतका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तीन वर्षअघिको साउन १७ गते क्यानाडा जानका लागि छुट्टीमा बसे । उनी गएपछि त्यसपछिको वरियतामा हाल बर्खास्तीको निर्णय पर्खिबसेका अर्का डेपुटी शिवराज श्रेष्ठ थिए । उनले ‘चिन्तामणि क्यानाडा उडे’ भन्ने सुन्नेबित्तिकै एनसेलसँग निवेदन ल्याउन भने ।

एनसेलले १६ गतेको मिति राखेर निवेदन दियो । तर, चिन्तामणि देशमा हुञ्जेल शिवराजले दोस्रो हैसियतले कुनै पनि कागजात सदर गर्न मिल्दैन । त्यसैले मिति लेखिएको ‘१६’ मा ‘१७’ को स्टिकर टाँसिदिए । यसप्रकार २२ गते दिउँसो एनसेलले रकम लग्यो । डेपुटी गभर्नरले राय दिएबमोजिम गभर्नरले निवेदन सदर गर्नुपर्छ । २२ गते एनसेललाई पैसा दिएर २६ गते गभर्नरको टेबुलमा उक्त निवेदन पु-याइयो । लेख्न त गभर्नरले ‘मिल्दैन’ भनेर लेखेका छन् । तर, पैसा पहिल्यै निकासा भइसकेपछि नमिलेर के भयो त ? 

यससँगै शिवराजले ग्राण्ड बैंकको दुई अर्ब ६० करोड कर्जा अपचलनको घटना अढाई वर्षसम्म लुकाएको तथा एपेक्स (हाल एनसीसी) बैंकको दुई अर्ब तीन करोड कर्जा घोटालाका दोषीलाई कारबाही गर्नुनपर्ने सिफारिस गरेको ठहरबमोजिम ती फाइलहरु खुल्ने तयारीमा छन् । तत्कालीन ग्राण्डी बैंकमा भएको कर्जा दुरुपयोगको मुद्दालाई समेत दुई वर्ष ७ महिनासम्म अगाडि नबढाएर श्रेष्ठले लुकाउन सहयोग गरेको राष्ट्रबैंकको छानबिन समितिले ठहर गरेको छ ।

बैंकका तत्कालिन अध्यक्ष स्वरुप गुरुङ कोने, प्रमुख कार्यकारी अधिकृत सुधीरबाबु खत्रीलगायत २० जनाको संलग्नतामा बैंकमा दुई अर्ब ६० करोड रुपैयाँबराबरको कर्जा अपचलन भएको ठहर छानवीनबाट खुलेको हो । 

टिप्पणीहरू