सरकारकै आङमाथि झन ठूलो संकट
आफ्नो थैली बलियो गरी बाँधिदिने हो भने चोरलाई धारेहात लगाइरहनै पर्दैन । तर, पटक–पटक फन्दामा पर्दा पनि होश नखुलेपछि कसको के लाग्छ ? यस्तै सरकारी शैली, लापरबाही र बेवास्ताको शिकार भएको छ महालेखा नियन्त्रण कार्यालयको वेबसाइट । देशभरका ७ सय ५३ स्थानीय तहको तथ्यांक ह्याकरको कब्जामा गए । महालेखा नियन्त्रक कार्यालयमातहत रहने स्थानीय तहको खर्चसम्बन्धी सफ्टवेयर नै ह्याकरको हातमा गएको हो । हतपतको काम लतपत भनेको यही हो ।
गत आर्थिक वर्षको अन्त्यमा बजेट स्वाहा पार्ने उद्देश्यले हतार हतार लाखौं खर्चेर बनाइएको प्रणाली हो त्यो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) नाम दिइएको उक्त सफ्टवेयरमा सबै स्थानीय तहमा भएको खर्चको विवरण राखिँदै आएको थियो । स्थानीय तहले आफ्ना निकायमा भएको खर्च विवरण सोही सफ्टवेयरमा इन्ट्री गर्दै आएका छन् । ह्याकरले १२ मंसिरदेखि ४ पुससम्मका २१ दिनको तथ्यांक लक गरिदिएको हो । महालेखा नियन्त्रक कार्यालयका प्राविधिक कर्मचारी अथक प्रयास गर्दा पनि सफल हुन नसकेपछि सिआइबीलाई हारगुहार गर्न पुगे । तर, प्रहरीको पनि केही जोर चलेको छैन । महालेखामा आइटी हेर्ने जिम्मेवारी पाएका छन् उपसचिव संसारजंग देवानले । त्यहाँ चार जना इञ्जिनियरको दरबन्दी भए तापनि दुई जनाको भरमा चलेको छ । अरु आठजना बाहिर कन्सल्टेन्सीबाट हायर गरिएको छ । यही कारण स्थानीय तहमा कार्यरत लेखा समूहका सबै कर्मचारीको सरुवा रोक्का भएको छ ।
सम्पूर्ण सरकारी निकायको तथ्यांक राख्ने जिम्मेवारी पाएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीआईसी)ले वेब होस्टिङको काम निःशुल्क गरिदिन्छ । तर, पैसा आउने कामचाहिँ उसले पाउँदैन । कुनै पनि सरकारी निकायको वेब बनाउने जिम्मा पाउँछन् व्यक्ति अर्थात् निजी कम्पनीले । सरकारी वेब सुरक्षित नभएको यो पहिलो उदाहरण होइन । केही महिनाअघि एकै पटक ५९ वटा सरकारी वेबसाइट ह्याकरको हमलामा परे । हालसम्म साढे तीन सय बढी सरकारी निकायका साइट ह्याक (डिफेसेज) भई ६० वटा वेब साइटको सर्भर ह्याक भइसकेको अवस्था छ । केही वेबमा ह्याकरले अनेकथरी भाइरस हालेर महŒवपूर्ण डाटा चोरेका छन् ।
यस्तै प्रहरीकै वेब ह्याक गरी पोर्न साइट राखिएको उदाहरण छ । हालै मात्र सम्माननीय प्रधानमन्त्रीकै ट्विटर ह्याण्डल ह्याक भएको कुरा उठिरहेको छ । सरकारी वेबसाइटको सुरक्षा प्रणाली कतिसम्म फितलो छ भन्ने बुझ्न धेरै पर जानै पर्दैन । केही वर्षअघि प्लस टुमा अध्ययनरत १७ वर्षीय विकास पौडेल एक्लैले दुई सयभन्दा बढी सरकारी वेबसाइट ह्याक गरिदिएका थिए । तैपनि, साइबर सुरक्षामा सरकारी निकायको रत्ति ध्यान गएको देखिँदैन । यस्तो अवस्थामा आम सर्वसाधारणको सुरक्षा निकायप्रति कसरी विश्वसनीय वातावरण कायम रहला ?
टिप्पणीहरू