बैठक बस्ने बल्ल आयो बेला

अघिल्लो महिना भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूमि कालापानी र लिम्पियाधुरा समावेश भएपछि त्यसबारे उत्पन्न लामो विवाद, रस्साकस्सीउपर बल्ल उसले रेस्पोन्स दिएको छ ।

कहिले माधव नेपाललाई विशेष दूतका रुपमा दिल्ली पठाउने भनियो त कहिले अनेकन कूटनीतिक च्यानलमार्फत समस्या समाधानका लागि पहल गर्न खोजियो । तर, अन्ततः वार्ताका लागि दूतावासमार्फत पठाइएको चिठीको जवाफ, अर्थात् ‘थर्ड पर्सन नोट’ दूतावासकै च्यानल हुँदै आएको छ । भारतले हाम्रो प्रस्तावबमोजिम वार्ताको मिति नै त स्वीकारेको छैन, तर उपयुक्त समयमा कुरा गर्न तयार रहेको उक्त नोटमा भनिएको छ । नोटमा ‘कालापानी’ वा ‘लिम्पियाधुरा’ उल्लेखै छैन । ‘रिमेनिङ बाउन्डरी इश्युज’, अर्थात् सुल्झिन बाँकी सीमाका विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त भएको छ । यसो भन्दा सीमाका सल्टिन बाँकी अन्य विषयमा पनि छलफलको बाटो खुलेको हो । त्यसअन्तर्गत नवलपरासीको सुस्ता–महेशपुर पनि पर्छ ।

त्यसो त पञ्चेश्वर बाँधको कुरा पनि सल्टिएको छैन । सन् १९९६ मा महाकाली सन्धि हुँदादेखि नै शुरु भएको मामिला हो यो । 
अर्कातिर, भारतले नेपाललाई दिँदै आएको सहयोगमा वृद्धि भएको छ । पहिला वार्षिक सात अर्बको सहयोग आउने गरेकोमा यो वर्षबाट १० अर्ब पुगेको छ । उसले छिमेकी देशमध्ये सबभन्दा बढी सहयोग भूटानलाई गर्छ । दोस्रोमा माल्दिभ्स र तेस्रो नेपाल हो । त्यसो त भारतीय गोरखा भर्तीमा ४० हजारको हाराहारीमा नेपाली कार्यरत छन् । उसले लड्ने लडाइँमा प्रायः नेपालीले ज्यान गुमाउनुपर्ने स्थिति छ । 

त्यस्तै, प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा स्थापित इन्ट्रिग्रेटेड चेक पोइन्ट (आइसिपी) को संयुक्त उद्घाटन गर्नुहुने भएको छ । त्यसका लागि केही समयअघि अमलेखगञ्ज ल्याइएको पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएजस्तो विधि अपनाइने छ ।

टिप्पणीहरू