​बेइजिङमा नेपाली गुरुमाथि बक्सिङ

कुनै पनि विश्वविद्यालयको प्रोफेसर निकै उच्च दर्जा हो । विदेशका कार्यकारी प्रमुखहरूले प्रोफेसरबाट सल्लाह लिने गर्छन् । जापानमा यिनलाई उच्च महत्व दिइन्छ । हाम्रै छिमेकी मुलुक चीनमा राष्ट्रपति सी चिनफिङले प्रोफेसरबाट बेला–बेला सल्लाह लिइरहेका हुन्छन् । तर, नेपालको अवस्थाचाहिँ त्यस्तो छैन । हाम्रा प्रोफेसरलाई सरकार प्रमुख त के कुरा आफ्नै विद्यार्थीले पनि माखो जति गन्दैनन् । विश्वविद्यालयको उपकुलपति नै बौद्धिक चोरीमा संलग्न भएपछि अरूको के कुरा गर्नु र !

केही नेपाली प्रोफेसरले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् भने कतिपयले चाहिँ कुख्याति कमाएका छन् । एक जना प्रोफेसरले केही दिनअगाडि चीनको राजधानी बेइजिङमा गोदाइ खाएका हुन् । 

मंसिर २९ गते आइतबार बेइजिङको एउटा रेष्टुरेण्टमा पार्टीको आयोजना गरिएको थियो । ४० भन्दा बढी सहभागीे सो जमघटमा रक्सीमा रन्थनिएका प्रोफेसरले नेपालीबाटै कुटाइ खाएको एक जना महिलाले जनआस्थालाई म्यासेन्जरमा बताइन् । त्यसरी कुटाइ खाने प्रोफेसर हुन् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका डा. टेकबहादुर क्षेत्री । उनी यतिबेला एकेडेमी अफ साइन्सेजमा भिजिटिङ प्रोफेसरको रूपमा एक वर्षका लागि बेइजिङमा छन् ।

त्यहींबाट भर्खरै पिएचडी सकेका राजु राई, सौनक भण्डारी र विनोद बानियाँले नेपालीहरूलाई बोलाएर रेष्टुरेण्टमा पार्टी दिएका थिए । त्यहाँ पुगेका क्षेत्रीले शुरुमै अरूलाई हप्कीदप्की गर्न थाले । उनले पनि सात वर्षपहिले चाइनिज एकेडेमी अफ सोसल साइन्सेजबाटै पिएचडी गरी चार वर्षअगाडि त्रिविको प्रोफेसर भएका हुन् ।

उनी भन्दै थिए, ‘तिमीहरू सब छिचिमिरा हौ । मैले भनेको मान्नुपर्छ ।’ आफू कांग्रेस भए पनि बालकोटमा केपी ओलीको छिमेकी रहेको र सबैतिर आफ्नो पहुँच पुगेको बताउँदै थिए । सुरुमा गफ मात्र लगाउँदै थिए । रक्सीको सुर चढ्न थालेपछि हात पनि चलाउन थाले । उपस्थितलाई लोपार्दै ‘तँ को होस्, मलाई चिनेको छस् ? म टियुको गोल्डमेडलिस्ट हुँ’ भन्न थाले । महिलालाई पनि उस्तै व्यवहार देखाए । सम्झाउन सक्ने कोही निस्किएनन् ।

अति भएपछि खति हुन्छ भनेजस्तै सबैलाई तथानाम गाली गर्दै लोपार्न थालेपछि एकजना गोर्खालीको फेला परे । र, उनलाई घुमाएर किक बर्साए । रक्सीले लर्खरिएका टेकबहादुर भुइँमा ढले । त्यसरी किक हान्ने व्यक्ति थिए चाइनिज एकेडेमीमै पिएचडी गर्दै नेपालको पूर्वतिर घर भएका राई थरका विद्यार्थी । उनले दोस्रो किक हान्न खोजेका थिए तर अन्य नेपालीले समाएर सम्झाए ।

त्यसपछि प्रोफेसर क्षेत्रीले सबैभन्दा पहिले नेपालमा रहेकी श्रीमतीलाई वीच्याटमा कुटाइ खाएको जनाउ दिँदै आफू बेइजिङमा असुरक्षित रहेको सन्देश पठाए । श्रीमतीले आफन्तहरूलाई त्यो सन्देश तुरुन्तै सुनाइन् । रातारात नेपालमा टेकबहादुरले बेइजिङमा कुटाइ खाएको कुरा भाइरल भयो ।

भोलिपल्ट रक्सीले छाडेपछि क्षेत्रीले गल्ती महसुस गरे । उनले जोबाट लात्ती खाएका थिए उहीसँग माफी मागे । नेपालमा पनि ‘त्यस्तो केही होइन, अलिअलि हो, मिलिसक्यो’ भनेपछि मात्र श्रीमती ढुक्क भइन् ।

टिप्पणीहरू