कर्णालीमा कहिले बन्ला पूर्ण सरकार ?

कर्णालीमा कहिले बन्ला पूर्ण सरकार ?

कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेको चार महिना पुगेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

गठवन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नहुँदा सरकार विस्तारमा सकस परेको हो । गठवन्धनमा सहमति जुटाएर सरकारलाई पूर्णता दिनुपर्ने महत्वपूर्ण जिम्मेवारी छोडेर मुख्यमन्त्री शाही पार्टीको आन्तरिक काममा लागेका कारण क्याविनेट विस्तारमा बिलम्ब भएको गठवन्धनका अन्य दलको आरोप छ । जसका कारण गठवन्धनभित्रै मुख्यमन्त्रीको आलोचना बढ्न थालेको छ ।

खासगरी मन्त्रालय भागबण्डामा दलहरुले आ-आफ्ना अडान नछोडेकै कारण क्याविनेट विस्तार हुन् नसकेको हो । प्रदेशको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले थप चार मन्त्रालय पाउनु पर्ने माग गर्दै आएको छ । गठबन्धनको अर्को दल एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी छोडेको छैन, तर मुख्यमन्त्री शाही त्यसका लागि तयार छैनन् ।

भागबण्डा नमिलेकै कारण चार महिनासम्म सरकारले पूर्णता पाउन नसकेको गठबन्धनका एक नेता स्वीकार गरे । उनले भने, ‘हामी आफ्नो माग भन्दा फरक बाटोमा जादैनौं, हामी आफ्नो बोलीमा अडिग छौँ, यदि मुख्यमन्त्रीज्यू हाम्रो कुरामा सहमत भएमा आजभोली नै मन्त्रीहरुको नाम दिन तयार छौँ ।‘ तर माओवादी केन्द्रबाटै आर्थिक मामिला तथा योजना मन्त्री बनेका विन्दमान विष्टले भने मुख्यन्त्रको बचाउ गरेका छन् । राष्ट्रियसभाको चुनाव लगतै क्याविनेट विस्तार हुने पनि उनले बताए ।

यता, एकीकृत समाजवादीले पनि उस्तै अडान दोर्होयाएको छ । पूर्वसहमति अनुसार नै तीन मन्त्रालयको जिम्मेवारी पाउनुपर्नेमा आफूहरु प्रष्ट रहेको एकीकृत समाजवादी कर्णली प्रदेशका इञ्चार्ज प्रकाश ज्वालाले बताए । ‘यसअघि हामीले तीन मन्त्रालय पाउने सहमति भएको हो, सोही सहमति अनुसार कांग्रेस सरकारलाई हामीले साथ दिएका हौँ’, उनले भने ।

यसले सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान हुन् अझै समय लाग्ने देखिन्छ । मुख्यमन्त्री शाहीले पनि सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा सरकारले पूर्णता नपाएको स्वीकार गरे । दलहरुबीच जति छिटो सहमति जुट्छ त्यति छिटो मन्त्रिपरिषद विस्तार हुने उनको भनाइ छ ।

राष्ट्रियसभाको चुनाव लगत्तै सरकारले पूर्णता पाउने मन्त्री बिष्टको भनाइमा मुख्यमन्त्री शाहीले पनि सहमति जनाए । उनले भने, ‘मैले सहमतिमा आउनुस् भनेकै छु, उहाँहरुले मन्त्रीको नाम दिनुहुन्छ भने मलाई केही छैन, म उहाँहरुले नाम दिएकै दिन सरकारलाई पूर्णता दिन्छु ।‘

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार नहुँदा सरकारले गर्नुपर्ने कामकाजमा कुनै असर नपरेको दाबी पनि गरेका छन् । ‘मन्त्रीहरु नहुँदा काममा कुनै पनि असर परेको छैन, कुनै पनि काम रोकिएको छैन, त्यही सानोतिनो काम हो कर्मचारीहरुले सघाइ राख्नु भएको छ’, उनले भने ।

गठबन्धनका २१ जना सांसदको समर्थन जुटाएर शाही गत १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी दिएका छन् । एकीकृत समाजवादीका चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्ट मन्त्री छन्। पाँच वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै समालेका छन् ।

टिप्पणीहरू