​चितवन प्रहरी कमाण्डरविहीन

सरुवा गरिएकी एसपीमाथि अनेकन प्रश्न उठाइएका कारण चितवन प्रहरी प्रमुख तीनदेखि कमाण्डरविहीन छ । 
प्रहरी प्रधान कार्यालयले त्यहाँ अन्य एसपीलाई खटाउने तयारी गरेको छ । 

पुस ४ गतेको सरुवामा चितवन खटाइएकी गंगा पन्तलाई तत्काल रवाना नदिन गृह मन्त्रालयले अनुरोध गरेपछि त्यहाँ कार्यरत एसपी दानबहादुर मल्ल १५ दिनसम्म रवाना नबुझी बसेका थिए । 

तर, १७ गते प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र टुवाइसीलाई चार्ज बुझाई तोकिएको दरबन्दीमा हाजिर हुन मल्ललाई निर्देशन दिएको थियो । 

मल्लले शुक्रबार आफ्नो चार्ज त्यहाँका डिएसपीलाई बुझाएर जिल्लाबाट बिदा भए । 

तर, आइतबार अपराह्नसम्म त्यहाँ को एसपीलाई खटाउने भन्नेबारे प्रधान कार्यालय निर्णयमा पुग्न सकेको छैन ।

सरुवामा परेकी एसपी गंगा पन्तले केही वर्षअघि फेसबुक स्ट्याटसमा नेकपा अध्यक्ष प्रचण्डको प्रतिकूल हुने गरी कमेण्ट लेखेको भन्दै पूर्वमाओवादी नेताहरुले विरोध जनाउँदै आएका छन् । पन्तले भने आफूले त्यस्तो गरेको नभई आफ्नो अकाउण्टबाट कसैले बदमासी गरी त्यस्तो कमेण्ट लेखेको हुनसक्ने बताउँदै आएकी छन् । 

उनी नेकपाप्रति पूर्वाग्रही भएको र पार्टी अध्यक्ष प्रचण्डकै जिल्लामा उनलाई खटाइँदा काममा तालमेल हुन नसक्ने भन्दै गृह मन्त्रालयमार्फत उनको रवाना रोकाइएको थियो । 

अब प्रधान कार्यालयले पन्तलाई अन्य जिल्लामा खटाएर चितवनमा एसपी रमेश थापा वा कृष्णप्रसाद पंगेनीमध्ये एकलाई खटाउने सम्भावना रहेको प्रधान कार्यालयस्रोतले जनाएको छ ।

आइबार साँझसम्म त्यहाँ खटाइने एसपीको टुंगो लगाएर सोमबार नै हाजिर गराइने भएको स्रोतको दावी छ ।

टिप्पणीहरू