उनीहरू कहाँ गुमनाम छन् अचेल ?
यसअघि २ पटकसम्म चुनाव लडेका देवेन्द्र दाहालका निम्ति संसद् प्रवेशको बाटो बल्ल खुलेको छ । झापामा लामो समयसम्म पार्टी सचिव भएर पनि चुनावी परिणाम निकाल्न नसक्ने नेताको रूपमा परिचित दाहाल यसअघि प्रधानमन्त्री केपी ओलीको सचिवालयमा थिए । ओलीसँगै जेल बसेका नारद वाग्ले पनि झापाली नै हुन् । जो यतिबेला कतारको लागि नेपाली राजदूत छन् ।
पार्टीभित्र ओली पक्षले बारम्बार अवसर पाइरहेको चर्चा सेलाउन नपाई राष्ट्रिय सभाको उम्मेदवार छनोटप्रति कता–कता असन्तुष्टि पोख्नेहरू भेटिन्छन् । यता, मेचीनगर नगरपालिकाको मेयरमा पराजित गरेको आरोप लागेका केन्द्रीय सदस्य रविन कोइरालालाई देखाउनकै लागि विष्णु प्रसाईंलाई प्रदेश प्रमुख बनाइएको चर्चा पनि उत्तिकै छ ।
देवेन्द्र दाहाल नेकपा झापाका सहइञ्चार्ज मात्र हुन् । उता, १७ वर्षसम्म कठोर जेल जीवन बिताएका मानकुमार तामाङ अर्जुनधारा नगरपालिका–१ स्थित एउटा गाउँमा सुकुम्बासीको हालतमा छन् । पार्टीले न उनको खोजखबर गरेको छ न त कुनै अवसर नै दिएको छ । उनीजस्तै दुर्गा अधिकारीलाई धुलाबारीतिर हातमा चुरोटको ठुटा बोकेर कसले चिया खुवाउला भनी बसिरहेको देख्न सकिन्छ । उनको स्वास्थ्य स्थिति कमजोर छ । घर व्यवहार पनि उस्तै ।
सँगैका नेतामध्ये मनकुमार गौतमले एकपटक कसो–कसो संसद्को अनुहार देख्न पाए । पहिलो संविधानसभापछि उनको राजनीतिक जीवन समाप्तप्रायः छ । बिरामी अवस्थामा घरको बरण्डामा बसिरहेको देख्न सकिन्छ । त्यसै बेलाका नेता नरेश खरेल र घनेन्द्र बस्नेतको हालत पनि उही हो ।
श्रीमती पवित्रा निरौलाले गत निर्वाचन झापा–२ बाट जितेपछि नरेश खरेलको अनुहार थोरै उज्यालिएको छ । लामो पञ्चायती संघर्षपछि ०४६ सालको पुस १९ गते राजाले विद्रोहीलाई आममाफी दिए । त्यो बेला जेलबाट छुट्नेहरूमध्ये भोगेन राजवंशी, मंगलमर्डी सतार, अमरबहादुर अधिकारी र पानवीर विश्वकर्माको निधन भइसकेको छ भने मोहनचन्द्र अधिकारी, नरेश खरेल, घनेन्द्र बस्नेत, मनकुमार गौतम, भीष्म धिमाल, सानो दुर्गा अधिकारी, मानकुमार तामाङ र अमर कार्कीहरू अस्तित्वमै छन् । तीमध्ये भिष्मलाई माओवादीले सांसद बनायो । तर, अहिले सक्रिय देखिँदैनन् ।
यसरी हेर्दा कसैको आड भरोसामा राजनीतिमा छाइरहने र अवसरको पर्खाइमा जीवन बिताउनुपर्ने बाध्यतामा परेको कसले देख्ने ?
टिप्पणीहरू