आफूलाई आनन्द, अर्कालाई अमिलो
गत वर्ष अर्थमन्त्रीको सर्वाधिक आलोचना हुँदा खतिवडाले प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सभाको दुई वर्षको कार्यकालपछि आफूलाई अमेरिकाको राजदूत बनाइदिए चित्त बुझाउने आशय व्यक्त गरेको बताइन्छ । हुन पनि यता खतिवडाले त्यसो भन्नु र उता राजदूत डा. अर्जुन कार्कीलाई कार्यकाल सकिए पनि अर्को आदेश नभएसम्मका लागि थमौती गरिदिनुले शंका गर्नेलाई बल पुग्यो ।
खतिवडाका समकालीन पूर्व अर्थशास्त्रीहरू ‘नानीदेखि लागेको बानी’ भनेझैं उनी जति ठूलो पदमा पुगे पनि रुचिचाहिँ राष्ट्र बैंकप्रति नै देखिएको बताउँछन् । यसबीच उनले अर्थमन्त्रीभन्दा बढी वरिष्ठ गभर्नरको हैसियतले केन्द्रीय बैंकमा माइक्रो म्यानेज्मेण्ट गरेको विभिन्न घटनाले पुष्टि गरेको छ । दौंतरी भन्छन्, ‘उनी मूलतः मौद्रिक अर्थशास्त्री हुन् । तर, अर्थमन्त्री र योजना आयोगको उपाध्यक्ष सामान्यतः सरकारी वित्त अर्थशास्त्रीलाई नियुक्त गर्दा राम्रो हुने पक्षलाई प्रधानमन्त्रीले बिर्सिदिए । यसकारण पनि खतिवडाले एकपछि अर्को ठूलो पद पाउँदै जाँदासमेत आफूलाई राष्ट्र बैंकको धङ्धङीबाट मुक्त राख्न सकेनन् ।’
विगतमा राज्यमन्त्रीसरह योजना आयोगको उपाध्यक्षबाट ‘ग्ल्यामरस’ पद भन्दै हाम्फालेर मुख्यसचिवभन्दा तलको गभर्नरमा पनि गएकै हुन् । तर, हाल अर्थमन्त्री र राष्ट्रियसभाको सांसदबाट बढीमा ६ महिना पछि हट्ने निश्चित भएसँगै उनले देखाएको सक्रियताले फेरि विभिन्न बहानामा चैतमा खाली हुने गभर्नरका लागि त मरिहत्ते गर्ने होइनन् भन्ने चर्चाले बजार गर्माएको छ ।
उता, डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई तत्काल पदमुक्त गरेर रिक्त स्थानमा आफ्नो विश्वासिलो व्यक्तिलाई नियुक्त गर्न अर्थमन्त्रीले देखाएको सक्रियताले पनि सबैलाई झस्काएको छ । चैत पहिलो साता हुने नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस तीन जना व्यक्तिमा बैंकका डेपुटी गभर्नरमध्ये कम्तीमा एक जना हुनैपर्ने कानुनी व्यवस्था छ ।
अहिले आफू अनुकूलको व्यक्तिलाई कनिष्ठ डेपुटीमा नियुक्त गर्ने र गभर्नर नियुक्ति प्रक्रियामा वरिष्ठ डेपुटीलाई सिफारिस हुनबाटै पाखा लगाउने योजनालाई पनि नजरअन्दाज गर्न मिल्दैन । तत्कालीन एमालेनिकट विद्यार्थी संगठन र कर्मचारी युनियनमा सक्रिय चिन्तामणि शिवाकोटीलाई सिफारिस हुनबाटै रोकेर शहीद बनाई अनेक बहानामा आफैँ गभर्नर बने भने त्यो पनि कुनै अचम्म नहुने विश्लेषकहरू बताउँछन् ।
टिप्पणीहरू