​कर्मचारीतन्त्रमा के–के छ कन्तबिजोग

मन्त्रालयको सचिवले गर्ने निर्णय भनेको बच्चाको भाँडाकुटी खेल हो ? साताअघि जारी सर्कुलरको मसी सुक्न नपाउँदै उल्टाइएको कच्चा निर्णयलाई के भन्ने ? यस्तै गाईजात्रा छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा । त्यहाँ मन्त्री छन्, सचिवालय छैन । सचिव साता बित्न नपाउँदै निर्णय उल्टाउँछन् ।

१६ पुसमा शाखा अधिकृत कृष्णप्रसाद हुमागाईंद्वारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद्, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयलाई पदपूर्तिसम्बन्धी माग स्थगित गर्न निर्देशन दिइएको सर्कुलर पठाइन्छ  ।’ अस्ति  २१ गते सोमबार साँझ उनै अधिकृत हुमागार्इंको अर्काे पत्र काटिएको छ लोकसेवा आयोगका नाममा । अत्यन्त जरुरी पत्रमा लेखिएको छ, विज्ञापन तथा पदपूर्ति कारबाही अघि बढाउन बाधा नपर्ने व्यहोरा मन्त्रालयको निर्णयअनुसार अनुरोध छ । यो परिपत्रसँगै लोकसेवाले नायव सुब्बा तहका लागि १ हजारको संख्यामा विज्ञापन खोल्दै छ  । 

स्वास्थ्यमा संकट 
स्वास्थ्यमा अर्काे जात्रा छ । सचिव डा. पुष्पा चौधरीले राजीनामा ठोकेर हिँडेको दुई महिना बितिसक्यो । राजीनामा स्वीकृत भएको छैन । अझै पनि मन्त्रालयमा सचिवको रूपमा तिनकै नेमप्लेट झुण्डिएको देख्न पाइन्छ । मन्त्रालयको वेबमा सचिवको रूपमा खगराज बरालसँगै डा. पुष्पा चौधरीको फोटो टाँसिएको छ । पुष्पाले गत ३ नोभेम्बरदेखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कन्टी« अफिस भारतमा पी ५ लेभलको जागिर खान शुरु गरिसकेकी छन् । यो बीचमा तीन पटकसम्म राजीनामा दिइसकिन् ।

‘राजीनामा ठोकिसकेपछि कर्मचारीको रूपमा हाजिर हुन मिल्ने कुरा भएन । राजीनामा स्वीकृत नहुँदासम्म बहालवाला कर्मचारी हो भन्न मिल्दैन । त्यही कारण नेम प्लेट झुण्डाइराखिएको एक अधिकारीले जनआस्थालाई सुनाए । मन्त्री भानुभक्त ढकालले लिच्चड कर्मचारीको राजीनामा अल्झाएर राख्नुभन्दा स्वीकृत गरिदिन खोजेका पनि हुन् तर त्यो उनको एक्लो यत्नले हुने कुरा होइन त्यसका लागि क्याबिनेटले स्वीकृत निर्णय गर्नुपर्ने हुन्छ ।  त्यहाँबाट मन्त्री भानुभक्तको पहिलो निशानामा परेका छन् सहसचिव शिवराम न्यौपाने । उनलाई श्रममा खेदेर कृषिका रघुराम बिष्टलाई तानिएको छ । पूर्वमसाल निकट विद्यार्थी नेता महेन्द्रप्रसाद श्रेष्ठ (जो उपेन्द्र यादवका विश्वास पात्र थिए) कै कारण स्वास्थ्यतर्फ समायोजनको गडबडी भएको बताइँदै छ, उनलाई प्रमुख जनस्वास्थ्य प्रशासकको जिम्मा लगाइएको छ । 

लोकसेवामा लाम, सरकारी काम
एक त सरकारी कर्मचारीको कामगराइ शैली ‘राजाको काम कहिले जाला घाम’ ! त्यहीमाथि अचेल अधिकृत माथिका कर्मचारी टेबलमा भेटिँदैनन् । तिनलाई फोन घुमाउनुहोस् जवाफ फर्कन्छ ‘बिदामा छु ।’ लोकसेवाले अधिकृत, उपसचिव, सहसचिव तहको विज्ञापन खोलिसकेको छ । आज÷ भोलिमै नायब सुब्बाको विज्ञापन खोल्दै छ । सुब्बाहरू अड्डाको काम छाडेर शाखा अधिकृत परीक्षाको तयारीमा छन् । शाखा अधिकृतहरू उपसचिव र उपसचिवहरू सहसचिवको परीक्षामा भिड्दै छन् । अधिकांश कर्मचारी बिदामा छन् । केही बिहान र बेलुका मात्र हाजिर ठोक्न आउँछन्, दिनभर हराउँछन् ।

कार्यालयमा भेटिएकाहरूको पनि सेवाग्राहीको काममा ध्यान छैन । दिनभर किताबतिरै घोत्लिरहेको देख्न पाइन्छ । यस्तै विकृति तोड्न भन्दै संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिका अधिकांश सदस्य उपसचिव र सहसचिवमा आन्तरिक प्रतियोगिता हटाउने सहमतिको नजिक पुगेका छन् । समितिका अधिकांश सदस्य सहसचिव र उपसचिव पदमा खुला प्रतियोगिताबाट १० प्रतिशत, अन्तरसेवा प्रतिस्पर्धाद्वारा १० प्रतिशत र बढुवाद्वारा ८० प्रतिशत पदपूर्ति गर्नुपर्नेमा सहमतिनजिक पुगेको समितिका एक सदस्यले जनआस्थालाई सुनाए । 

टिप्पणीहरू