यसरी जन्मिएको थियो त्यो जिल्ला
- दयाराम डाँगी
०३३ सालमा प्युठान, सल्यान, रुकुम र दाङ जिल्लाका दुर्गम भूभाग कटाएर रोल्पा जिल्ला वनाइएको हो । छिमेकी जिल्लामा अस्पताल, क्याम्पस र सडकजस्ता विकासका पूर्वाधार निर्माण भएको लामो समयपछि मात्रै रोल्पामा यी पूर्वाधार बनेका हुन् ।
सल्यान र प्युठानलाई ४५ र दाङलाई ३५ प्रतिशत दुर्गम मान्दा रोल्पालाई ६५ प्रतिशत दुर्गम मानिन्थ्यो । रोल्पामा जागिर खान आउन नमान्ने कर्मचारीलाई दुर्गम भत्ताले आकर्षण गथ्र्याे । लामो समयसम्म रोल्पाली हिँडेर दाङको कोइलावासबाट नुन बोकी खान्थे । औलो लागेर कति त वाटामै मर्ने गर्थे । पञ्चायतका ३० वर्ष मात्रै हैन बहुदलका दशकसम्म बालाराम घर्तीमगरले रोल्पाको एकल र निरन्तर प्रतिनिधित्व गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक सबै मन्त्रालयको अनुभव गरे । पञ्चायतको उत्तराद्र्धमा भालुवाङ, प्युठान हँँुदै रोल्पा जोड्ने सडकले अन्य जिल्लासँग रोल्पालाई जोडेको हो । अहिले यो सडक पक्की भएको छ । होलेरी घोराही, बुढागाउँ सल्यानजस्ता आधा दर्जनभन्दा बढी सडकले रोल्पालाई छिमेकी जिल्लासँग जोडेसँगै रोल्पा अब क्रमशः सुगमतातर्फ उन्मुख भइरहेको छ ।
समय फेरिएसँगै रोल्पा पनि फेरिएको छ । विकासका पूर्वाधार निर्माण भएका छन् । २ वटा क्याम्पस चलेका छन् । २ दर्जनभन्दा बढी उच्च मावि छन् । ५१ शøयाको जिल्ला अस्पताल बन्दै छ । कृषि क्याम्पस यसै वर्षदेखि शुरु हुँदै छ । सिटिईभिटीद्वारा सञ्चालित डिप्लोमा तहको कृषि पनि पढाइ हुँदै आएको छ । जिल्लाका सामुदायिक विद्यालयले इञ्जिनियरिङ, वन विज्ञान, पशु, कृषि विषयमा डिप्लोमा तहको पठनपाठन शुरु गरेका छन् । विकासमा आएको यो फेरबदल युगसापेक्ष माग हो ।
यति हुँदाहँुदै पनि रोल्पामा भएका जडीबुटी र खानीको उचित उपयोग हुन सकेको छैन । रोल्पामा सुनदेखि नुन खानीसम्म छन् । जेल्वाङमा स्थानीयले फलाम र तामा खानी उत्खनन गरी उपयोग गरिरहेका छन् । सुनछहरीबाट निस्कने सुन लुंग्री नदीमा चालेर धेरैको जीविका चलिरहेको छ । धवाङको सिसा खानी र चुनढुंगाको खानीले हाम्रो सभ्यतालाई गिज्याइरहेका छन् ।
खानी मात्र हैन पाँचऔंले, पदम चाल, खयर, शिलाजित, श्रीखण्ड, दालचिनी, मालागिरी, लेक तिते, टिमुर, अमला, अदुवा, बेसारजस्ता जडीबुटी छन् जसको उपयोग हुन सकेको छैन । यसका अतिरिक्त पहिचान हुन नसकेका जडीबुटीको त हिसाबकिताब नै छैन ।
पछिल्लो राजनीतिक परिवर्तनले रोल्पालाई धेरै नेता पनि दिएको छ । २ पटक उपराष्ट्रपति, २ पटक सभामुख, दर्जनौं पटक मन्त्री भएको रोल्पाले समयक्रममा भएको विकासबाहेक थप विकास भने गर्न सकेको छैन । राज्यको स्रोत–साधनमा रोल्पालीको पहुँच भए पनि विकासमा भने छिमेकी जिल्लाको तुलनामा रोल्पा अझै पुछारमा रहेको छ ।
टिप्पणीहरू