अठार वर्षपछि बल्ल आनन्द

  • शरद अधिकारी

१२ वर्षपछि खोला फर्कन्छ भन्ने उखानझैं घोराही उपमहानगरपालिका–१४ का स्थानीयको लागि १८ वर्षपछि बल्ल खोला फर्किएको छ । ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले शाही सेनाको ब्यारेकमा पहिलो आक्रमण गर्दा चौतर्फी असर परेको थियो । देशभर संकटकाल लगाइएको थियो । सो घटनापछि सुरक्षाको कारण देखाउँदै तत्कालीन भगवती गुल्मले आफ्नो कार्यालय वरपरको जमिन बिक्री–वितरण गर्न लगाएको रोक १८ वर्षपछि फुकेको छ । 

सो गुल्ममाथि माओवादीले आक्रमण गर्दा एक जना मेजरसहित दर्जन बढी सेनाको मृत्यु भएको थियो । पहिलो पटक सेनामाथिको आक्रमणबाट माओवादीले  आधुनिक हतियार प्राप्त गरेका थिए भने सेनाले पनि आफ्नो शक्ति बढाएको थियो । १८ वर्षअघि उक्त गुल्म रहेको स्थानमा पछि विभिन्न गण स्थापना गरियो । हाल रिपुमर्दन गणको एउटा युनिट त्यहाँ छ । गणको मुख्य टिम भने वडा नं. १५ भरतपुरमा छ । 

आफ्नो जमिन बिक्री–वितरण गर्न नपाएपछि मर्कामा परेका स्थानीय हिजोआज खुशी देखिएका छन् । करिब १२ बिघा जमिन सेनाले प्रयोगमा ल्याइरहेको थियो । तारबार गरेर क्षेत्रफल विस्तार गरेको सेनाले जमिन स्थानीयलाई फिर्ता गरिदिएको छ । सेनाले गण रहेको स्थानको पूर्वतर्फको सडक बन्द गरेको थियो भने पश्चिमतर्फ जमिन बिक्रीमा रोक लगाएको थियो । जमिन बिक्री गर्न नपाएपछि छट्पटाएका स्थानीयले जमिन सम्याउने, घडेरी बनाउने काम गर्न थालेका छन् । 

दाङ द्वन्द्वबाट प्रभावित जिल्ला हो । सुरक्षाकर्मी, माओवादी र सर्वसाधारण गरेर यहाँका करिब एक हजार जनाको ज्यान भएको थियो । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि धेरै विषय मिलान भएपनि घोराहीको जग्गा विवाद मिलान भएको थिएन । 

व्यक्तिको जमिन फिर्ता भए पनि सहिदमार्ग जोड्ने सडक भने सेनाले अझै खोलेको छैन ।
 

टिप्पणीहरू