​जनप्रतिनिधिको झण्डै गयो ज्यान

घटना गत मंसिर २२ गतेको हा । जिल्ला प्रहरी कार्यालय चितवनका ट्वाइसी एकराज कोइरालाले केसलाई सामान्य मिलापत्रमा ढिसमिस गर्न खोजेपछि नेकपाका प्रदेश कमिटी सदस्य, पार्टी एकीकरण पूर्वका माओवादी केन्द्रीय सदस्य तथा राप्रपाका पूर्व जिल्ला अध्यक्ष बद्री तिमिल्सेना जंगिए । कोइरालाको साथमा पहिल्यै कांग्रेसका जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठ थिए ।

मंसिर २१ गते शनिबार साँझ करिब ६ बजेतिर इच्छाकामना गाउँपालिका–२ का अध्यक्ष पञ्चबहादुर चेपाङलाई कांग्रेस कार्यकर्ता उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ, विजय गुरुङलगायतले मोसो दली जुत्ताको माला लगाउँदै लछारपछार मात्र पारेनन् उत्तरकुमारका बाबुले यो बोक्सो हो यसलाई त ‘गुहु’ खुवाउनुपर्छ भनेर दिसा कोच्याउन खोज्दा चेपाङले प्रतिकार गरे । ‘मैले तपाईंहरूको के बिगारेको छु र मलाई यस्तो अमानवीय व्यवहार गर्नुभएको ?’ भन्दै । 

प्यासले प्याक्प्याक् परेका चेपाङले एक घुड्की पानी माग्दासमेत पानी हैन तेरो मुखमा त पिसाब हालिदिनुपर्छ भनियो । वडा अध्यक्षको दावा गरेका माओवादी कार्यकर्ता उत्तरलाई पार्टीले टिकट नदिएपछि चिढिएर कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसले उनलाई अध्यक्षको टिकट त दिएन तर आश्वासनको लालीपप मात्र चुसायो । तत्कालीन माओवादी र कांग्रेस मिलेर पनि एमालेका उम्मेदवार पञ्चुलाई हराउन नसकेपछि हत्तोत्साही बनाउन उत्तरहरूले पहिलेदेखि नै गाली बेइज्जत गर्ने, मार्नेसम्मको धम्की दिएको बताइन्छ । चितवनको एक मात्र गाउँपालिका त्यसमा पनि सबैभन्दा दुर्गम वडाका वडाध्यक्ष पञ्चुले जनताको एक सुको आस गरेनन् । तिनै पञ्चुलाई कुट्ने योजना बनाउँदै उचित समयको पर्खाइमा रहेका गुरुङहरूले २१ गते शनिबार मौका फेला पारे । 

केही दिनअघि मात्रै ओल्र्याल्ङस्थित अस्थायी वडा कार्यालय तोडफोड भएपछि अध्यक्ष चेपाङले जनतालाई अपायक र असुरक्षित भएको भन्दै वडा कार्यालय सार्ने जानकारी गराएका थिए । प्रमुख प्रशासकीय अधिकृतले समेत पायक पर्ने ठाउँमा सार्न भनेपछि वडाको सामान ओल्र्याङबाट काउले सार्ने क्रममा गुरुङहरूले सो दुव्र्यवहार गरेका छन् । शारीरिक रुपले अपांग, जातीय रुपले अल्पसंख्यक चेपाङ एक इमान्दार वडाध्यक्ष छन् । तिनै चेपाङमाथि भएको दुव्र्यवहारको घटानालाई लिएर मुद्दा दर्ता गराउन पुगेका नेकपाका नेता नारायणप्रसाद अधिकारी, दानबहादुर गुरुङ, बद्री तिमिल्सेनालाई डिएसपी कोइरालाले बाल नदिई कुराको चुरो अन्तै मोड्न खोजेपछि तिमिल्सेनाले म पनि तपार्इंलाई यही मोसो र जुत्ताको माला लगाइदिन्छु, के गर्नुहुन्छ ? सार्वजनिक मुद्दा चलाउनुहुन्छ, मिलापत्र गराउनुहुन्छ वा अमानवीय व्यवहारको मुद्दा चलाउनुहुन्छ ? भनी जंगिएका हुन् । 

बढीमा पाँच वर्ष र ५० हजारसम्म जरिवाना गर्न सकिने सो मुद्दाका आरोपी उत्तरकुमार र बिर्खबहादुर गुरुङलाई जिल्ला अदालत चितवनले थुनछेकको आदेश गरी पुर्पक्षका लागि कारागार पठाएको छ भने हुस्तीका विजय गुरुङ फरार छन् । अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भोलिपल्टै नियन्त्रणमा लिएको थियो । 

टिप्पणीहरू