​मन्त्रीको खर्चमा अर्कैको मोज

१८ महिने सत्ताको स्वाद चाखेर उपेन्द्र यादव बाहिरिए । तर, उनी सत्तामा रहँदा भएको मोजमस्तीको हिसाबकिताब मिलाउन नसक्दा अर्थ र स्वास्थ्य मन्त्रालयका हाकिमहरूको टाउको दुखाइ शुरु भएको छ ।

दुई/पाँच हजारको गोलमाल भए पो एउटा कुरा ? झण्डै साढे दश लाख (१० लाख ४० हजार ३ सय ६९ रुपैयाँ) तलमाथि भएको हिसाबकिताब निस्किएको छ । स्वास्थ्यकै तथ्यांकलाई आधार मान्ने हो भने उपेन्द्र सरकारी खर्चमा जम्मा आठ पटक मात्र विदेश शयरमा निस्किएका हुन् । जसका लागि अर्थले ३८ लाख ८१ हजार ७०७ रुपैयाँ निकासा गरेको देखाउँछ तर स्वास्थ्यको विवरणमा २८ लाख ४१ हजार ३ सय ३८ रुपैयाँ मात्र उल्लेख छ । बीचमा कहाँ हरायो त १० लाख ४० हजार ३ सय ६९ रुपैयाँ ? जस्तोः एउटा कार्यक्रमको सिलसिलामा स्विट्जरल्याण्ड जाँदा मात्र पौने सात लाख रकम खर्च भएको छ । हराएको पैसा कसको गोजीमा पुग्यो ? को मोटायो ? स्वास्थ्यमन्त्रीको हैसियतले एक साताका लागि स्विजरल्याण्ड जाँदा अर्थ मन्त्रालयले ११ लाख ८४ हजार ८ सय १२ रुपैयाँ निकासा गरेकोमा स्वास्थ्यको विवरणमा ५ लाख ५ हजार ९ सय ३९ रुपैयाँ मात्र उल्लेख छ ।

यसरी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट निकासा भएको रकम रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुग्दा बाटैबाट झण्डै पौने सात लाख रकम झ्वाम पारिएको छ । यस्तै गरी लण्डन जाँदा अर्थबाट निकासा भएको ५ लाख देखिन्छ तर स्वास्थ्यको विवरणमा जम्मा ३ लाख मात्र लेखिएको छ । दु्ई लाख बीचमै कसैले तर मारेको छ । मन्त्री बनेको केही महिनापछि ०१८ को सेप्टेम्बरमा उपेन्द्र दिल्ली पुगे । एक साताको कार्यक्रमका लागि जाँदा अर्थ मन्त्रालयबाट ४ लाख २० हजार ५ सय ३० रुपैयाँ निकासा भएको विवरण भेटिन्छ तर स्वास्थ्यको हिसावमा २ लाख ६३ हजार ५६ रुपैयाँ खर्च भएको छ । उसो हो भने अर्थबाट निकासा भएको १ लाख ५८ हजार रुपैयाँ कसको गोजीमा पुग्यो ? उत्तर कसले दिने ?

टिप्पणीहरू