आगामी चुनावका परिणाम र सम्भावित आकलन

आगामी चुनावका परिणाम र सम्भावित आकलन

सत्ता गठबन्धनको अस्ति शनिवारको बैठकले जेठ मसान्तभित्रै चुनाव गर्ने निर्णय गरेसँगै स्थानीय तहको निर्वाचनको सुनिश्चितता बढेको छ । सरकारले अहिलेसम्म निर्वाचन मिति घोषणा गरेको छैन,तर गठबन्धनको पछिल्लो निर्णयले यसअघिका चुनावी सँशय एक हदसम्म हटेको छ ।

संविधानअनुसार पनि ढिलोमा मङ्सिरसम्ममा चुनाव गर्नुपर्ने भएकाले स्थानीय तहको निर्वाचन अब धेरै पर छैन । चुनाव नजिकिँदै गर्दा राजनीतिक शक्ति सन्तुलन, समीकरण र सम्भावित परिणामलाई लिएर चासो र चर्चासमेत हुन थालेका छन् ।

आगामी चुनावको सम्भावित परिणामको आंकलन गर्दा यसअघिको नतिजा र अहिलेको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्नुपर्ने हुन्छ । २०७४ सालको स्थानीय चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा वैशाख ३१, दोस्रो चरणमा असार १४ र तेस्रो चरणमा असोज २ गते निर्वाचन सम्पन्न भएको थियो । तीनै चरणका निर्वाचनमा प्रमुख ३ राजनीतिक दलहरु अपवादबाहेक एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिएका थिए । केही स्थानीय तहमा कांग्रेस र माओवादीको तालमेल हुँदा केहीमा एमाले र राप्रापाले मिलेर लडेका थिए ।

७५३ स्थानीय तहमध्ये नेकपा एमालेले २९४ तहमा अध्यक्ष/प्रमुख जितेर पहिलो दल बनेको थियो । २६६ तहमा प्रमुख/अध्यक्ष जितेको नेपाली काँग्रेस दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १०६ स्थानीय तहमा जितेर तेस्रो भएको थियो । त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम (जसपा)ले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो ।

राजपा (हालको लोसपा)ले २५ वटा स्थानीय तहमा नेतृत्व हात पार्दा मधेशी जनधिकार फोरम (लोकतान्त्रिक) (अहिले काँग्रेसमा समाहित भैसकेको छ) ले ८ स्थानीय तहमा जीत दर्ता गरेको थियो । बाँकी स्वतन्त्र र अन्य दलले जितेका थिए ।

संविधान जारी भएलगत्तै र भारतीय नाकाबन्दीपछि भएको निर्वाचनमा यी दुई फ्याक्टरले परिणाममा केही हदसम्म प्रभाव पारेको मान्न सकिन्छ ।खासगरी मधेश प्रदेशमा संविधानप्रतिको चर्को असन्तुष्टि थियो । जसको परिणाम संघीय समाजवादी र राजपाले त्यहाँ उल्लेख्य सिटमा जीत हात पारेका थिए भने मधेशको मुद्दामा कठोर मानिएको एमालेको पक्षमा खराब परिणाम आएको थियो ।

तर, ठिक विपरीत पहाडी क्षेत्रमा एमालेले राम्रो परिणाम ल्यायो । राष्ट्रवादको नारा लिएर चुनावमा गएको एमालेलाई नाकाबन्दीविरुद्ध उभिने केपी ओलीको अडानले परिणाम पक्षमा पार्न सफलता मिलेको हो ।

“भरतपुरमा रेणुले जित्नुबाहेक विराटनगर,ललितपुर, महानगरसहित अन्य उपमहानगरहरुमा माओवादीको मतले कांग्रेसले जितेको हो । यो तथ्यांकलाई हेर्दा काँग्रेस एक्लै चुनावमा जाँदा पहिले जितेका स्थानीय तह जोगाउनु उसका लागि चुनौतिपूर्ण देखिन्छ ।”

तर,यसबीचमा राजनीतिक परिस्थिति र दलहरुको अवस्थामा ठूलो उथलपुथल आइसकेको छ । एमाले-माओवादीको एकता हुँदै विभाजन र एमालेमा आएको फुट अनि त्यसले निम्त्याएको राजनीतिक ध्रुवीकरणले समीकरणमा ठूलो फेरबदल आएको छ । मधेशवादी दलहरु पनि एकता र विभाजनको चरणबाट यसबीच गुज्रिएका छन् । पाँचदलीय गठबन्धन एकातिर र प्रमुख प्रतिपक्षसहित अन्य विपक्षी दलहरु अर्कोतिर छन् । जसका कारण यहि अवस्था रहँदा दलहरुले चुनावमा विगतकै परिणाम दोहोर्याउने सम्भावना निकै झिनो छ ।

दलहरु चुनावी प्रतिष्पर्धामा कसरी प्रस्तुत हुन्छन् भन्ने कुराको प्रष्ट तस्वीर आइसकेको छैन । सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे एकमत छैन । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमा एक्लै चुनावमा जानुपर्ने मत बलियो छ । कांग्रेसको संस्थापनइतर खेमा अन्य दलसँग चुनावी तालमेल गर्न नहुने अडानमा छ भने सभापति शेरबहादुर देउवा,नेताद्वय रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरु चुनावसम्मै पाँचदलीय गठबन्धन कायम राख्नुपर्ने पक्षमा देखिएका छन् ।

“गत निर्वाचनमा मधेशमा माओवादीले १९ तहमा प्रमुख/अध्यक्ष जितेको थियो भने जसपाले २६ तह हात पारेको थियो । “

यता,एमाले पनि एक्लै चुनावमा जाने सम्भावना कम छ । बाहिर एक्लै चुनाव लड्ने दाबी गरेपनि राष्ट्रियसभाको हालै सम्पन्न निर्वाचनले एमाले गठबन्धनको खोजीमा छ भन्ने देखाइसकेको छ । त्यसैले आगामी निर्वाचनमा सत्ता गठवन्धनमा नरहेका महन्थ ठाकुरको लोसपा,सिके राउतको जनमत र राप्रपालगायतका दलहरुसँग एमालेको चुनावी तालमेल हुने सम्भावना प्रवल देखिन्छ ।

चुनावमा दलहरु एक्लाएक्लै जान्छन् या तालमेल हुन्छ भन्ने प्रष्ट चित्र नआइसकेको अवस्थामा परिणाम आंकलन गर्न कठिन छ । तर, गठबन्धन हुँदा र नहुँदा दुई खाले परिणाम आउने करिब पक्का छ ।

गत निर्वाचनको परिणाम केलाउँदा एक्लाएक्लै चुनावमा गएको अवस्थामा एमालेलाई नै फाइदा हुने देखिन्छ । ०७४ सालको चुनावमा पहिलो पार्टी बनेको एमाले विभाजित छ, तर फुटको ठूलो प्रभाव देखिएको छैन । माधव नेपालले २० प्रतिशत मत काट्ने आनुमान गर्ने हो भने उसले धेरै सिट गुमाउने अवस्था रहँदैन । त्यसैले एमाले पुन: पहिलो पार्टी बन्यो भने अचम्म मान्नु पर्दैन ।

वामपन्थी मत छिन्नभिन्न भएको अवस्थालाई अवसरका रुपमा प्रयोग गर्ने कांग्रेसको रणनीति देखिन्छ । तर, तल्लो तहमा एमाले फुटको प्रभाव धेरै नदेखिएकाले एकल प्रतिष्पर्धामा जाँदा कांग्रेसले अपेक्षित सफलता पाउने सम्भावना धेरै कम छ । बरु विगतको मत परिणाम हेर्दा गठबन्धन गरेर चुनावमा जाँदा नै कांग्रेसलाई बढी फाइदा हुने देखिन्छ ।

“एमाले फुटको प्रभाव धेरै नदेखिएकाले एकल प्रतिष्पर्धामा जाँदा कांग्रेसले अपेक्षित सफलता पाउने सम्भावना धेरै कम छ । बरु विगतको मत परिणाम हेर्दा गठबन्धन गरेर चुनावमा जाँदा नै कांग्रेसलाई बढी फाइदा हुने देखिन्छ ।”

गत निर्वाचनमा माओवादीले १०६ स्थानमा अध्यक्ष/प्रमुख जित्दा झन्डै ७० ठाउँमा दोस्रो भएको थियो । अहिले एकीकृत समाजवादी,जसपा, जनमोर्चा र माओवादीबीच तालमेल हुँदा कांग्रेस र एमालेले जितेका ती स्थान गुमाउनुपर्ने हुनसक्छ । त्यतिबेला रणनीतिक र राजनीतिक महत्वका हिसाबले महत्वपूर्ण मानिएका महानगर र उपमहानगरहरुमा माओवादीले कांग्रेसलाई प्रमुख छोडेको थियो ।

भरतपुरमा रेणु दाहालले जित्नुबाहेक विराटनगर, ललितपुर महानगरसहित अन्य उपमहानगरहरुमा माओवादीको मतले कांग्रेसले जितेको हो । यो तथ्यांकलाई हेर्दा काँग्रेस एक्लै चुनावमा जाँदा पहिले जितेका स्थानीय तह जोगाउनु पनि उसका लागि चुनौतिपूर्ण हुने देखिन्छ ।

बताइएअनुसार काँग्रेस सहमत नभए माओवादी,एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच चुनावी तालमेल हुने निश्चित छ । त्यस्तो अवस्थामा जसपाको बलियो उपस्थिति रहेको मधेशमा परिणाम उलटपुलट हुनसक्छ । त्यहाँ माओवादी र समाजवादीको सांगठनिक अवस्था खराव छैन । गत निर्वाचनमा मधेशमा माओवादीले १९ तहमा प्रमुख/अध्यक्ष जितेको थियो भने जसपाले २६ तह हात पारेको थियो ।

यता, माओवादीको आधार क्षेत्र मानिएको कर्णालीमा समाजवादीको पनि सांगठानिक स्थिति कमजोर नरहेको भनिन्छ । त्यस्तै,लुम्बिनीमा माओवादी, एकीकृत समाजवादी र जसपा मिल्दा काँग्रेस र एमालेलाई चुनाव जित्न कठिन हुनसक्छ । सुदूरपश्चिम र बाग्मतीमा पनि माओवादी र समाजवादीको स्थिति ठीकठाक नै देखिन्छ । त्यसैले आगामी निर्वाचनको परिणाम अहिले चर्चा गरिएभन्दा फरक आए अचम्म मान्नु पर्दैन ।

टिप्पणीहरू