राजनीति,राजनीतिकर्मी र गुण्डागर्दी

राजनीति,राजनीतिकर्मी र गुण्डागर्दी

ठूला राजनीतिक दलका बडे नेताहरु प्रायः पछिल्ला दिनमा ‘डन’ लाई पाल्ने “बा” बनेका छन् । नाम चलेका गुण्डाहरु नेताहरुको आडमा अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् । पार्टीमा पद पाउन उनीहरुलाई कुनै गाह्रो नहुने गरेको देखिँदै आएको छ । डनका नाममा प्रख्यात केही व्यक्ति अहिले पनि मन्त्री,सांसदजस्ता विभिन्न राजकीय पदमा बसेर राज गरिरहेका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ एकताका दिपक मनाङ्गेको नामबाट गुण्डागर्दीमा प्रख्यात थिए । उनी राज्यमन्त्री बनेपछि केही समय विवादमा तानिए । तर २०७४ को निर्वाचनमा मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएसँगै पुराना गतिविधिबाट लगभग अलग भएका छन् ।

दीपक मनाङ्गे विभिन्न राजनीतिक दल हुँदै अहिले प्रदेशसभामा स्वतन्त्र सांसदसमेत छन् । आपराधिक जगतमा नाम चलेका व्यक्तिमध्ये राजनीतिमा छलाङ मार्ने गणेश लामा अर्का हुन् । उनीसँगै तीर्थ लामा पनि राजनीतिक रुपमा उत्तिकै सफल छन् । २०६३ सालसम्म उनीहरु सबै मनाङ्गे समूहमा थिए ।

“कोखामा चार राउण्ड गोली लागेर घाइते भएका उनले त्यसपछि काठमाडौं छाडेका हुन् ।”

अहिले गणेश नेपाली काँग्रेसको केन्द्रीय सदस्य बनेका छन् । तीर्थ काभ्रेपलाञ्चोक जिल्लाको नेता छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

यता गणेश काँग्रेस नेता विजयकुमार गच्छदार निकट भएकाले केही समय लोकतान्त्रिक फोरममा पनि सक्रिय भए । पछि गच्छदारसँगै कांग्रेसमा फर्किएर पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनी २०७४ को चुनावमा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १, प्रदेशसभा ‘ख’ बाट उम्मेदवार थिए । तर, चुनाव भने हारे ।

अर्का पूर्व डन काजी शेर्पा माओवादी केन्द्र निकट देखिए पनि राजनीतिमा त्यति सक्रिय छैनन् । उनी चाबहिलस्थित केएल टावरमा सञ्चालित ‘योहो’ टेलिभिजनका सञ्चालक हुन् । पहिला चक्रे समूह हुँदै काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रवेश गरेपछि काजी ग्याङ्स्टरका रुपमा चर्चामा आए । अहिले न्युरोडमा व्यवसायी बनेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडालाई आधार बनाउँदै लामो समयदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न ‘बाबु’ उपनामले चिनिने विश्वक्रान्ति सिंह हालै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध थिए । मकवानपुर काँग्रेस नेता तथा प्रदेश सभापति इन्द्र बानियाँसँग व्यावसायिक साझेदारीमा विवाद भएपछि काँग्रेस परित्याग गरेका हुन् ।

गुण्डानाइकेका रुपमा परिचित दावा लामा अहिले काँग्रेससम्बद्ध नेपाल तरुण दलका काभ्रे सभापति हुन् । २०७३ को चैत २९ मा बौद्धको नयाँबस्तीस्थित दिव्य पार्टी प्यालेसमा उनीमाथि गोली प्रहार भएको थियो । कोखामा चार राउण्ड गोली लागेर घाइते भएका उनले त्यसपछि काठमाडौं छाडेका हुन् ।

दावालाई गोली प्रहार गर्ने ‘अम्बरे’ नामले चिनिने अमर राना हुन् । उनले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनमाथि नयाँबानेश्वरमा गोली हानेका थिए । अहिले जेलमा छन् ।

सुरक्षाकवचको निम्ति राजनीति

दलको आड लिएर आफ्नो संरक्षणका लागि पछिल्लो समय आपराधिक गतिविधिमा लागेका व्यक्तिहरु राजनीतिमा संलग्न हुने गरेको भूपू डिआइजी हेमन्त मल्लले बताए । देश र जनताको लागि भन्दा पनि आफूले गरेको अपराध कसरी जोगाउने भन्ने कुरामा उनीहरु बढि केन्द्रित हुने गरेको उनको भनाइ छ ।

मल्लले भने, ‘उनीहरु आफू कसरी जोगिने भन्ने विषयमा केन्द्रित हुन्छन्,राजनीतिमा लाग्दा आफ्नो सुरक्षा र अपराध सहजै लुकाउन सकिन्छ भन्ने कुरा उनीहरुलाई थाहा छ । त्यसैले निर्दोष सावित हुनकै लागि भए पनि राजनीतिमा लाग्ने गर्छन् ।’

ठेक्कापट्टामा भएको घाटा होस् या अन्य विभिन्न किसिमका मुद्दा लुकाउन शक्तिको दबाबमा सहजै उन्मुक्ति पाउने उनीहरुको मनशाय रहेकाले राजनीतिमा बढि सक्रिय हुने गरेको पत्रकार टीकाराम राईले बताए ।

हरेक विषयमा राजनीतिलाई जोडेर अपराध गर्नेहरुको यहाँ कमी छैन । ठूला दलका नेताहरु नै आपराधिक गतिविधिमा संलग्नहरुलाई निर्दोष ठहर गर्न गुण्डालाई आफ्नो पार्टीमा स्थान दिन सँधैं लागि परेको पछिल्लो केही दशकको घटनाक्रमले पनि प्रमाणित गरेको छ ।

टिप्पणीहरू