यिनको खान्की कसले देख्ने ?

साविक अर्घाखाँची जिल्ला, सिमलपानी गाविस–१३ स्थायी घर भई काठमाडौंको कीर्तिपुर बस्ने सिरहा जिल्लाका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले सरकारी सेवा प्रवेश गरेको करिब १९ वर्षमा भ्रष्टाचार गरी ४ करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको देखिन्छ ।

बुटवल यातायात विभाग (४ वर्ष), लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग (३ वर्ष), ठूलो करदाता विभाग हरिहर भवन (२ वर्ष), घरेलु उद्योग कार्यालय त्रिपुरेश्वर (२ वर्ष), विराटनगर भन्सार (३ वर्ष), खोटाङ जिल्लाको स्थानीय विकास अधिकारी (२ वर्ष) र हाल सिरहा जिल्लाको स्थानीय विकास अधिकारी (उपसचिव) भई १ वर्षदेखि ब्रह्मलुट गरिरहेका छन् । भ्रष्टाचार गरेको अकुत आर्जनबाट दाजुभाइ, दिदीबहिनी, ससुराली र आफन्तको नाममा बुटवल र काठमाडौंमा जग्गाजमिन खरिद गरेका छन् । अर्घाखाँचीको दुर्गम गाउँमा उनको परिवारलाई पेटभरि खानसमेत मुस्किल थियो ।

बुटवल बस्दा एउटै नं. प्लेट ४ वटा गाडीलाई दिएकोसम्म भेटियो तर उनलाई कुनै कारबाही भएन । उल्टो मालदार अड्डामा सरुवा भइरहेको छ । अहिले उनलाई राजस्व विभागमा भ्रष्टाचारको मुद्दा चलाइएको छ । निज र आफन्तका नाममा १० करोडभन्दा बढी नगद एवं सुन, चाँदी रहेको बुझिन्छ । राजनले भारतका बैंकमा समेत २ करोड नगद जम्मा गरेका छन् ।

गत तिहारमा लुम्बिनी अञ्चल अस्पतालको अधिकृत तहमा कार्यरत भाइ बिपिनकुमार बिसीसहित कपिलवस्तु जिल्लाकै बुंगतीमा आफ्नो राजनीतिक पकड मजबुत बनाउन एमाले र कांग्रेसका कार्यकर्तालाई ५० लाख वितरण गरी भाषणसमेत गरेका थिए । स्थानीय निर्वाचनमा पनि श्रीमती गीतालाई १ करोड खर्च गरी शीतगंगा नगरपालिकाको उपमेयरमा लडाए । यद्यपि उनले हारिन् । 

राजनका अगाडि राजनारायण पाठक, गोपाल खड्का त केही होइनन् । यिनी हदैसम्म लाजपचेका भ्रष्टाचारी हुन् । हाम्रा हाकिम पैसा भनेपछि यति गिर्दा रहेछन् कि कठै नेपालको किस्मत ! 

– नजिकबाट चिन्ने कर्मचारी

टिप्पणीहरू