​सडकका हाकिमलाई सडकमै

  • शरद अधिकारी 

राजाको काम कहिले जाला घाम भनेझैं हिजोआज दाङ जिल्लामा सडक डिभिजनको काममा ढिलासुस्ती भएको छ । यहाँ पुल निर्माणमा भएको ढिलाइको पीडा कांग्रेसभन्दा अरूले सायदै भोगेका होलान् । दाङका खोलामा पुल नबन्दा जनताले दुःख पाएको कुरा त छँदै छ त्योभन्दा बढी पीडा स्थानीय पालिकाको निर्वाचनमा कांग्रेसले भोगेको थियो । जनमतका हिसाबले दाङमा कांग्रेस राम्रै मानिन्छ तर खोलामा बन्दै गरेका पुलको हालतका कारण उसको हालत पनि त्यस्तै भयो । घोराहीदेखि पूर्वमा पर्ने कटुवा खोलाको पुल ६ वर्ष बित्दा पनि पूर्ण हुन सकेको छैन । पत्रे खोलाको अवस्था झन् नाजुक छ । गुहार खोलामा मात्रै समयमा पुल बन्न सक्यो । निर्माणाधीन पुलको काम पनि अलपत्र छ । 

यस्तै अवस्था छ सडकको । सडकमा खाडल सामान्यजस्तो लाग्छ । पूर्व–पश्चिम राजमार्गमा त भैंसी आहाल बस्न मिल्ने खालका खाडल छन् भने अन्यत्रको हालत के होला ? यस्तै क्रममा निकै ढिलासुस्ती गरेको आरोप लगाउँदै सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई मोसो दलिएको छ । पुल निर्माण शुरु भएयता पाँच जना प्रमुख बदलिएका छन् । पहिलेका प्रमुखले गर्नुपर्ने रफ्तारमा काम गरेका थिएनन् तर त्यसको मारमा परेका छन् जितेन्द्र चौधरी । भर्खरै सरुवा भएर आएका चौधरीको कार्यकालमा स्वाभाविक रुपमा काम धेरै भएको छ तर उनलाई काम नगरेको भनेर मोसो दलियो, त्यो पनि प्रतिबन्धित विप्लव समूहबाट । दाङमा असोजमा २१ जना नेता–कार्यकर्ता पक्राउ परेपछि नेकपाको शक्ति क्षीण भएको चर्चा चलिरहेका बेला घोराहीको मुटुमै आएर एउटा कार्यालयको प्रमुखलाई मोसो दलेको घटनाले धेरैलाई झस्काएको छ । 

नेकपाका कार्यकर्ताले आइतबार चौधरीको कार्यकक्षमै गएर मोसो दलेका हुन् । जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले चौधरीलाई कारबाही गर्नुपर्नाका १५ वटा आरोपसहित विज्ञप्ति जारी गरेका छन् । 

जितेन्द्र चौधरीको घर जनकपुर हो । तर, ललितपुरस्थित हात्तीवनमा बस्दै आएका छन् । भारत ससुराली भएका उनका एक छोरा र एक छोरी छन् । छोरा अभिषेक बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र छोरी स्मृति चौधरी एमयलबि मेडिकल इन्स्टिच्युट झाँसी भारतमा पढ्दैछन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट इञ्जिनियर गरेका चौधरी खानेपानी संस्थानबाट सब–इञ्जिनियर हुँदै सरकारी सेवामा प्रवेश गरेका हुन् । 
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार कर्मचारीको सहयोगबिना दिनदहाडै यस्तो गैरकानुनी काम सम्भव छैन । सडकको काम निकै ढिला भए पनि कारबाही गर्नुपर्ने कार्यालय प्रमुख अरू नै भएको जानकारहरू बताउँछन् । पहिलेका हाकिमलाई कारबाही गर्नुपर्नेमा भर्खरै मात्रै आएका व्यक्तिलाई तारो बनाउने कुराले कार्यालयका व्यक्तिहरूकै संलग्नता हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो घटनामा कोही पनि पक्राउ परेका छैनन् । 

टिप्पणीहरू