​राजाको खोपी हँुदै अझ पूर्वतिर

एकातिर आम्दानीको आश, अर्कातिर सैन्य संवेदनशीलताको सवाल । यो कुराको तादात्म्यता नमिल्दा राजाहरुले छोडेर गएको नारायणहिटी दरबार वरिपरि लफडा शुरु हुने खतरा छ । 

सहरी विकास मन्त्रालयले हालै नारायणहिटीको सम्पूर्ण जिम्मेवारी गणतन्त्र स्मारक तथा दरबार संग्रहालय विकास समितिलाई बुझाएको छ । लामो समय पुरातत्व विभागमा महानिर्देशक रहेका सहसचिव भेषनारायण दाहाल उक्त विकास समितिमा खटाइएका छन् । विभागमा दामोदर गौतमलाई निमित्तको जिम्मेवारी दिएर यसअघि उपसचिवको नेतृत्व रहने विकास समितिको कार्यालयमा भेषनारायण हाजिर भएसँगै लफडा पनि शुरु भइसक्यो । विकास समिति भनेपछि त्यो आफैँमा स्वायत्त हुन्छ । तर, ठूलो निर्णय गर्नुपर्ने भयो भने पर्यटन मन्त्रालयमार्फत जानुपर्छ । अहिले भेषनारायणचाहिँ नारायणहिटीको आम्दानी बढाउन धमाधम एकपछि अर्काे निर्णय ठोक्दै छन् ।

सकेसम्म वैशाख १ गतेदेखि नै, नभए ढिलोमा १५ जेठभित्र स्व.राजा वीरेन्द्र बस्ने बंगला श्रीसदन अवलोकनका लागि खुला गर्ने योजना उनले जनआस्थालाई सुनाएका छन् । श्रीसदनदेखि टुकुचामाथि पुल हालेर गणतन्त्र स्मारक जान बाटो बनाइने योजना छ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र पुल हाल्न निर्देशन दिइसक्नु भएको छ । राजा हुँदै गणतन्त्र आएको सन्देश दिन अवलोकनका लागि जानेहरुलाई पहिला राजाको घरमा छिराउने र त्यहाँबाट गणतन्त्र स्मारक पु¥याउने योजना हो । तर, प्राविधिक कारणले यस्तो गर्न मुस्किल छ । किनभने, नेपाली सेनाका संवेदनशील युनिटहरु त्यहीँ छन् । गैरसैनिक मानिसलाई सैन्य क्षेत्र कति देखाउने ? यो विषयमा सेना र विकास समितिबीच व्यापक मतभेद छ । भेषनारायणलाई जनआस्थाले जिज्ञासा राख्दा सैनिकसँग समन्वय गरेरै यी काम गरिने बताए । 

त्यस्तै, विमानस्थलस्थित अति विशिष्ट कक्षसँगै रहेको जमिनमा वीरेन्द्रकालीन समयमा दरबारले प्रयोग गर्ने गरेको निजी हेलिकोप्टर र सानो जहाज छ । त्यो पनि नारायणहिटीमा अवलोकनका लागि राखिने भएको छ । केही निजी प्रयोगका त्यस्ता जहाज अभ्यासका लागि भैरवनाथ गणमा पु¥याइसकिएको छ ।

यसरी पूर्वसहसचिवलाई हाकिम तोकेर विकास समिति त बनाइयो, तर अहिलेसम्म व्यवस्थित अफिस छैन । त्यहाँ रहेको राहदानी विभागलाई त्रिपुरेश्वर सारेर त्यहाँ विकास समितिको कार्यालय राख्ने योजना छ तर साँघुरो । अहिलेसम्म पहिला उपसचिव बस्ने गरेको ठाउँमै भेषनारायण बसेका छन् । उनका अनुसार नारायणहिटीमा चार करोड आम्दानी, १२ करोड खर्च हुन्छ । झण्डै बार्षिक आठ करोड घाटा देखिन थालेपछि यो घाटालाई कम गर्न त्यहाँभित्रका हरेक चिजलाई व्यापारिकरण गर्ने र आम्दानी बढाउने योजना बनाइरहेको दाहाल सुनाउँछन् । गणतन्त्र स्मारकमा अण्डरग्राउण्ड पार्किङ छ । डेढ दुई सय अटाउने थिएटर छ । तिनैबाट आम्दानी बढाउने योजना भेषनारायणले सुनाए ।

टिप्पणीहरू