तीनपाते डाँडाका कमल दाइझैँ विरक्तियो मन

तीनपाते डाँडाका कमल दाइझैँ विरक्तियो मन

उही खै लागेका टिनका छाना, मक्किन लागेका र बैंकले ऋण पनि नपत्याउने घर, साँघुरो रोड । ठूला ट्रक, अहिले त अटो र मयुरीले पनि भरिभराउ । भन्नलाई त बागमती प्रदेशको राजधानी हेटौँडा ।

तर, विस्तारै स्वयमसेवी भावना मरिरहेको अवस्था । नकारात्मक भावनाले भरिभराउ आत्माहरू । राजनीतिक इवी र प्रतिशोधले सबैतिर बास गर्‍यो, कोही कसैलाई गन्दैनन्, राम्रो भन्दैनन् भन्ने पिरलोले थलिएका हिरालाल श्रेष्ठ र सरोज खनालहरूको एउटा झुण्ड नारायणी संघ परिसरतिर घोत्लिरहेका हुन्छन् ।

२०१९ साल र अहिलेको हेटौँडामा केही फरक देखिन, उही खै लागेका टिनका छाना, ट्रकका धुवाँधूलो । अनि वाल्मीकि क्याम्पसमा रड लिएर हिँडिरहेका कमल थापा नै अहिले पनि हेटौँडाका हिरो, राष्ट्रिय राजनीतिमा उनकै दबदबा । दिवंगत भइसकेका साहित्यकार दाहाल यज्ञनिधिले सुनाउनुभएका यी पंक्तिमा थप्नुपर्ने थुप्रै टिल्टिलाउँदा आल्मुनियममय हेटौँडा होलान् ।

डिजिटल बोर्ड, सडकमा फेरिएको जीवन शैली बाँचिरहेका केही सुकिलाजन देख्दा हेटौँडा बदलियो भन्न सकिएला । तर मर्दै गएको मानवता, भित्रँदै गरेको अराजकता र त्यसले निम्तने समाज अब कस्तो होला ? यो विषय पेचिलो बन्न छाडेको छ । मर्नेहरू धमाधम मरिरहेका छन्, मलाम जाने पनि तालिका बनेको छ ।

यति भावनामा बग्नुपर्ने कारणचाहिँ हेटौँडाका सर्वाधिक प्रिय चियापसले बुद्धिबहादुर श्रेष्ठ ‘जेठादाइ’ र साथी अर्जुन घिमिरेको सवारी दुर्घटनामा आइतबार र सोमबार निधन हो । उता, सोमबार नै गाउँका सुरेन्द्र मोक्तान सवारी दुर्घटनामा परेर गम्भीर घाइते भए । केही साताअघि पत्रकार गणेशदर्पण अधिकारीका भाइ दुर्घटनामै पर्दा १९ दिनभन्दा बढी आइसियुमा राखेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्, तर उनीसँगै दुर्घटनामा परेका गाउँकै अर्का भाइ पनि बिते ।

यो साता दुर्घटनाका यस्ता अमिला खबरहरूले मन बेचैन छ, केही कामै गर्न मन लाग्दैन भन्छन् भाइ गणेश दर्पण । सडकमा भएका विदारक दुर्घटनाका दृश्य अनि चिनजानका मित्रहरूको मरणले कतै हामीलाई चिन्ने र राम्रो भन्ने घट्दै पो गयो कि भन्ने हुटहुटी पनि जाग्दो रहेछ ।

अब यो हुटहुटीभन्दा बढी हुटहुटी छ हेटौँडाकै कमल थापालाई । उनको हुटहुटी देखेर राप्रपा मकवानपुरकै प्रवक्ता भाइ विशभ अधिकारीले काठमाडौंको एउटा अनलाइनमा लेखेका छन् । आफ्नो मात्र नभएर बुबापुस्ताको पनि आदर्श नेताको हुटहुटीले मकवानपुरमा पनि कमल थापाभन्दा राजेन्द्र लिङ्देनको राप्रपा पो भरिभराउ हुने अवस्था छ । अस्ति मनहरीतिरका साथीहरू सुनाउँथे, कमल थापाको पारा देखेर एमाले र अन्त गएकाहरू लिङदेन आएपछि फेरि फर्कन थाले ।

तर कमल दाइको हुटुहुटी शान्त पार्न लिङदेनले कुनै कसरत गरेको देखिन्न । बाल मनोविज्ञानमा झलझली याद आउने त्यही कमल दाइको गीत छः तीन पाते डाँडा काटेर । गीतमा त हाम्रा कमल दाजुले पिरतीको भाका नै लेख्नु भएको थियो तर ३५ वर्ष सत्तामा रहेर हिजैदेखि पार्टीबाट बाहिरिँदा साँच्चैै उहाँले पोख्नु भएको आवेगहरूले उहाँप्रतिको सम्मानमा राप्रपाजन नै विरक्तिएका छन् ।

एउटा चिर्कटोमा लिङदेनको एक्सन नपाए म बाटो मोड्न सक्छु भन्ने कमल दाइको पछिल्लो अभिव्यक्तिपछि कतै उहाँ खड्ग विश्वकर्माझैँ एमालेतिर मोहित हुनु भएको त होइन ? हेटौँडाका एमालेजन उसै पनि कमल थापाले चुनाव हार्दा राप्रपाजन भन्दा बढी दुःखी नै छन् ।

मिलेनियम कम्प्याक्ट च्यालेञ्ज (एमसिसी) । नेपालमा यसको नाम यही रहेछ । शुरुमा नेताहरू मिलेनियम च्यालेञ्ज कर्पोरेशन पनि भन्थे । नेताहरूले नै नाम नजानेपछि हामी सुनिजान्नेहरूले एमसिसी मात्रै भन्न थाल्यौँ, पछि प्रदीप ज्ञवाली र गोकुल बाँस्कोटाहरूले मिलेनियम कम्प्याक्ट च्यालेञ्ज भने । एमसिसीका पक्षमा सबै छन् ।

शेरबहादुर देउवा, केपी शर्मा ओली, डा. बाबुराम भट्टराई, कमल थापा । यतिखेर एमसिसीलाई प्रचण्डले पठाएको चिठीका नाममा उनको खेदो खन्नेहरूलाई अर्को बजारु मसला भएको छ । यो मसलाले प्रचण्डको दोहोरो भूमिका भन्नेहरूलाई पनि फाइदा भएको छ, राष्ट्रघात नै भए पनि गठबन्धन तोडे पारित गर्न साथ दिन्छौँ भन्ने प्रमुख प्रतिपक्षीको जवाफ पनि जनताले सुन्न पाएका छन् ।

एमसिसीका केही बुँदा नेपाली स्वाभिमान, अस्मिता, राष्ट्रियताविपरीत छन् । नेपालमा एमसिसीचाहिँ शाहवंशीय राजाशासनका राजाझैँ प्रश्नरहित हुन्छ भन्नु नै नेपाली अस्मितामाथि प्रहार हो । तर, एमालेजनहरू विकास, बिजुलीको पोल, चिम र जागिरमा रमाएर यस्तो घातलाई किन साथ दिन्छु भनिरहेका छन्, बाबुराम र कमल थापाको स्वर किन मिलिरहेको छ ? जबकि, स्वयम् शेरबहादुरको चाहना एमसिसी पारित गर्ने हुँदै होइन ।

गठबन्धन तोड्ने भने पनि नभने पनि देउवा दुई वटा कुरामा निकै सशंकित हुनुहुन्छ । एउटा संसदमा एमसिसी पारित नहुन सक्छ । दोस्रो, यसो भनेर गठबन्धन तोडिएको भोलिपल्ट फेरि ओली, प्रचण्ड, माधव, उपेन्द्रहरूले राष्ट्रिय सभामा झैं हात ठड्याएर एक भयौँ भन्देलान् । उनीहरूले हात ठड्याएपछि अहिले मारमुंग्रीमा रहेका कम्युनिष्टहरू फेरि २०७४ मै फर्किहाल्छन् ।

त्यसपछि कांग्रेसको हालत उही होला । गगन थापा र विश्वप्रकाश शर्माका तागतिला ट्विट र भाषणले मात्रै कांग्रेस सतिसाल हुने सामाजिक सञ्जालमै हो । अहिलेको महाधिवेशनको घाउले कांग्रेस कति घाइते छ, देउवा जानकार हुनुहुन्छ । त्यसैले पास होस्, नहोस् सदनमा टेबुल गर्न चाहनुहुन्छ । पास नभए पनि कांग्रेसको केही जाँदैन, जान बाँकी केही पनि छैन ।

मन्त्रालय फुटाउँदा त पापको घडा बोकेको आरोप लागेका बेला एमसिसीजस्तो राष्ट्रघात शीरमा राखेर दलहरू फेरि स्थानीय तह निर्वाचनमा होमिएका छन् । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैचरणमा हुने कुराले जनतामा आशा पलाएको छ । तर नेताहरू कति चाँडै ५ वर्ष बिते भन्दै त्यतिखेर गरेको प्रतिवद्धता पूरा भए नभएको घोषणापत्र खोज्न लागेका छन् । सबैले स्मार्ट सिटी बनाउँछु भनेका थिए । त्यो स्मार्ट सिटी कस्तो भयो ? त्यो पनि लेखाजोखा गर्न नपाई निर्वाचनको मिति आयो ।

गाउँपालिका र जनप्रतिनिधिको घरमा वाइफाइ हुनु, कर्मचारी र जनप्रतिनिधिको एटिएम कार्ड हुनु मात्रै स्मार्ट सिटी होइन होला । अनि पिच भत्काएर धूलो उडाउने विकासे गतिविधिहरू पनि हेटौँडामै देखिन्छ । पिच टाल्दै बलियो बनाउने हो कि भत्काएर स्लाब हाली बलियो देखाउने भन्ने होडमै विकासे बजेट सकिएको देखिन्छ ।

जनताको उद्यम, उन्नति बस् त्यही कालोपत्रे, पिच, अलकत्राले धूर, आनामा बर्सेनि केही हजार थपिदिएको छ । तर, जग्गाको भाउ जति नै बढे पनि छोराछोरीले अष्ट्रेलिया, क्यानाडा, अमेरिका जाने भनेका दिन त्यो जग्गाले पनि नपुग्ने हालतबाट माथि जान सकिएको छैन ।

हेर्दा हाँसिखुशी हुनेहरूबीच यो पाँच वर्षमा अरु अदृश्य असमानताहरू बढेका छन् । देखिनलाई सबैले हुलिया खुशी देखाए पनि असमानताको खाडल अरु ठूलो हुँदैछ । समाज अराजक र नकारात्मक बन्यो, स्वयमसेवी भावना मर्दै गयो । थाहा छैन, अब कस्तो समाज बन्दैछ ? केहीसाताअघि हेटौँडाकै एउटा निजी अस्पतालमा भेटिएको भाइको कुरा राखेर समापन गर्न लागेँ । घाँटीमुनिको स्टिल हटाउन अस्पताल आएका भाइको अप्रेसन सकिएपछि भेट्न जाँदा उनले सुनाएका मर्मस्पर्शी कुराले नेपाली समाज झल्काउँछ ।

घरमा बूढी आमा, ऋणको भारी । बेहोस होउँला, होसमै आइन भने के होला भन्दै छातीको भाग मात्रै ‘लाटो पारेर’ स्टिल निकाल्न खोज्दा छुलछुल पिसाब आउने गरी दुखेको कथाभित्र अर्को कथा थियो, कतै छातीमा चलेको छुरा झुक्किएर घाँटीमा पुग्ने पो हो कि ? मान्छेलाई बेहोस हुँदा सुख छैन, नहुँदा पनि सुख छैन । अझ उनले सुनाए, ‘दिदीको जागिरको पैसा ऋण मागेर मोटरसाइकल किनेँ, दुर्घटनामा परेर छातीमा स्टिल हालियो, अहिले स्टिल निकाल्न अर्को भिनाजुसँग ऋण लिएर आएको छु, तपाईंहरूलाई के ढाँट्नु, अस्पतालमै पनि कहिलेकहीँ खाना खाने पैसा भएन, आमा घरमा रुँदैछिन्, के भयो यो सब ?’

हो, हाँसीखुशी र सम्पन्न देखिएका कयौँ यस्ता परिवारलाई के एमसिसी र स्थानीय निर्वाचनले ‘स्मार्ट अवसर’ लिएर आउला ? होइन भने अफगानिस्तानमा एक पत्ता सिटामोलका निम्ति अमेरिकी सेनाको ‘मिसबिहेभ’ भोग्न बाध्य भन्ने समाचार दशकपछि हामीले नेपालमा पनि भोग्नुपर्ने त होइन ? यति लेख्दा हद भए अमेरिका जाने भिसा नलाग्ला त के भो र ? बसौँला कमल थापाझैँ विरक्तिएर, लेखौँला फेरि अर्को ‘तीनपाते डाँडा काटेर’को सिक्वेल ।

टिप्पणीहरू