किन समयमै नतिजा निकाल्न सक्दैन त्रिवि ?

किन समयमै नतिजा निकाल्न सक्दैन त्रिवि ?

त्रिभुवन विश्वविद्यालयले समयमै परिक्षाको नतिजा निकाल्न नसक्दा विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा सकिएको लगभग एक वर्ष पुगेको छ । तर त्रिविले नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । त्यसकै कारण विद्यार्थीहरुले माथिल्लो तहमा पढ्न पाएनन् ।

गत असारमा हुनुपर्ने परिक्षाहरु कोरोनाका कारण बैशाख ५ गतेबाट सञ्चालन भएका थिए । दोस्रो वर्षको नतिजा नआएसम्म तेस्रो वर्षका परिक्षा सञ्चालन गर्न मिल्दैन । तर पनि त्रिविले परिक्षा सञ्चालनको तयारी थालिसकेको छ ।

परिक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने प्रावधान छ । सोअनुसार काममा गम्भीर नभएको भन्दै पटक पटक आलोचना र विरोध आइरहेको छ । त्रिविका पदाधिकारीहरु उक्त किसिमका विरोधहरुको बेवास्ता गर्दै कुन समयमा परिक्षा सञ्चालन गर्नु पर्ने हो,कुन समयमा नतिजा प्रकाशन गर्नु पर्ने हो भन्ने विषयमा बेखबर जस्तै रहेको आरोप छ ।

विद्यार्थीको चाहना के छ ?

त्रिविको बेवास्ताकै कारण विद्यार्थीहरुले नियमित पठन पाठन गर्न सकिरहेका छैनन् । रत्नराज्य लक्ष्मी क्यामपसमा बिए तेस्रो वर्षमा अध्ययनरत अनिता बस्नेतलाई बेलैमा नतिजा आउने आश मरिसकेको छ । बिए तेस्रो वर्षको परिक्षा दिने तयारीमा रहेकी उनी नतिजा नआएकै कारण पढाईतिर खासै मन नलाग्ने गरेकाे बताउँछिन् ।

कहिले कोरोनाका कारण पढाइमा बाधा आउने त कहिले परिक्षा रोकिने जस्ता समस्याले धेरै पीडा हुने गरेको विद्यार्थीहरुको गुनासो छ ।

यस्तै बिबिएस नियमित तेस्रो वर्षमा अध्ययनरत छात्र कैलाश बिष्टले नतिजा ढिलो आउने कारणले शैक्षिक गुणस्तरमा प्रश्न उठ्नु दुःखको विषय भएको बताए । उनले शिक्षाप्रति नै नकारामत्क सोच पलाउने गरेको गुनासो गरे । चाँडो भन्दा चाँडो नतिजा प्रकाशन गरे योजनाबध्द रुपमा पढ्न सहज हुने उनको भनाइ छ । आफूहरुले पाएको दुःख अबका विद्यार्थीले भोग्न नपरोस् भन्ने उनको चाहना छ । साथै उनले चाँडोभन्दा चाँडो नतिजा सार्वजनिक गर्न माग गरेका छन् ।

विश्वविद्यालयका पदाधिकारी जिम्मवार हुनुपर्छ : शिक्षाविद्

आफूले पढाएका विद्यार्थीको पेपर शिक्षक आफैले जाँचेमा नतिजा चाँडो निकाल्न सकिने शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । उनले विश्वविद्यालयले शिक्षकमाथि विश्वास नगर्नुको परिणामले नतिजा ढिलो आउने गरेको दाबी गरे ।

विश्वविद्यालयका पदाधिकारीहरुले आफूले रुचाएका शिक्षकलाई मात्र पेपर जाँच्न दिने प्रवृतिका कारण विद्यार्थीहरुले दुःख पाउने गरेको उनको भनाइ छ । शिक्षकहरुको पढाइको गुणस्तरमाथि प्रश्न उठ्ने गरी सबै जिम्मेवारी त्रिवि आफैँले लिनु गलत हुने कोइरालाको बुझाइ छ । नतिजा समयमै निकाल्न विश्वविद्यालयका पदाधिकारीहरु जिम्मेवार हुनुपर्नेमा उनको जोड छ ।

शिक्षा प्रणालीलाई परिर्वतन गरी सबै जिम्मेवारी क्याम्पस तहमा दिएर विश्वविद्यालयले नतिजाको अंक ठीक छ छैन भनेर मूल्यांकन मात्र गरेमा गुणस्तयुक्त शिक्षा दिन सकिने प्रोफेसरहरुको विश्वास छ ।

त्रिवि नै अन्योलमा

उपकुलपति प्रोफेसर डा. धर्मकान्त बाँस्कोटाले कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बताए । उनले कोभिड जोखिममा कर्मचारीहरुले पेपर जाँच्न नमानेकोले समयमै नतिजा निकाल्न नसकिएको प्रतिक्रिया दिए । महामारीमा सामाजिक दूरी कायम गरेर काम गर्ने वातावरण नभएकोले सो अवस्था सिर्जना भएको डा. बास्कोटाको भनाइ छ । यस्तै उनले कर्मचारीहरु र अंक चढाउन कम्प्युटर प्रणालीमा दक्ष जनशक्तिको अभावका कारण समयमै नतिजा प्रकाशन गर्न गाह्रो परेको बताए ।

त्रिविका कर्मचारीहरु एकआपसमा आरोप प्रत्यारोप गरेर गैरजिम्मेवार हुने गरेकाे गुनासा आउने गरेका छन् । बारम्बार विद्यार्थीहरुको भविष्यमाथि खेल्ने गरेको आरोप लाग्ने गरेका विश्वविद्यालयका पदाधिकारी,कर्मचारीहरु आफ्नो बचाउ गर्न भने पछि हट्दैनन् भनिन्छ ।

डा.बाँस्कोटाले नतिजा आउने नआउने कुनै जानकारी नभएको धारणा राखेका छन् । त्रिविका पदाधिकारीहरु तलब,भत्ताकै लागि मात्रै कार्यालय आउने गरेको भनी आलोचना भइरहेकाे बेला उनको यस्तो विचार आएको हो ।

गत माघ ११ मा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अनुगमन गरेका थिए । उनले अनुगमनमा समयमै नतिजा प्रकाशन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन पनि दिएका हुन् । त्यसलगत्तै त्रिविले स्नातक तेस्रो वर्षको नतिजा प्रकाशन गरेको थियो ।

साथै त्रिविले विद्यार्थीहहरुलाई समयमै उच्च शिक्षा दिन नसकेको भन्दै पटक पटक विवाद हुने गरेको छ । विद्यार्थीहरुबाट पनि समयमै उच्च शिक्षा हासिल गर्न नपाएको भन्दै गुनासो आउन थालेका छन् । विश्वविद्यालयका पदाधिकारी र अन्य कर्मचारी शैक्षिक गुणस्तरमा भन्दा पनि आफ्नो स्वार्थमा केन्द्रित हुने गरेको एक थरि विश्लेषकहरुको टिप्पणी छ ।

टिप्पणीहरू