पूर्वराजाले भने – प्रजातन्त्रको सही अभ्यास भएन

पूर्वराजाले भने – प्रजातन्त्रको सही अभ्यास भएन

पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक,रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रको नाममा अहिले भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको आरोप लगाए ।

राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा एक हुनुपर्ने बताउँदै पूर्वराजाले भनेका छन्’,जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ । न त्यो कसैको सुरक्षाको कवच,न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन, रहिरहने छन् ।’

‘यसमा दोष नेतृत्वको कि प्रणालीको ?’

प्रजातन्त्र निर्देशित र नियन्त्रित हुन नहुने भन्दै उनले त्यो स्वतःस्फुर्त एवं लोकसम्मत हुनुपर्नेमा जोड दिएका छन् । तर,अहिले प्रजातन्त्रको सही अभ्यास नभएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले प्रश्न गरेका छन्, ‘यसमा दोष नेतृत्वको कि प्रणालीको ?’

उनले प्रजातन्त्र अभ्यासको नाममा राज्यका सबै अंगलाई कमजोर बनाइएको आरोप पनि लगाएका छन् । ‘अलमलिएको सरकार, भत्किएको संसद,बिग्रिएको न्यायालय,भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुयाई रहेको छ, विचारणीय प्रश्न छ’, पूर्वराजाको भनाइ छ ।

टिप्पणीहरू