आत्महत्या रोज्नेमा महिलाभन्दा पुरुष धेरै
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा महिलाले भन्दा पुरुषले बढी आत्महत्या गरेको एक तथ्याङ्कले देखाएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा देशभरमा महिलाको तुलनामा १ दशमलव ५९ गुणा बढि पुरुषले आत्महत्या गरेको पाइएको हो ।
चालू आर्थिक वर्षको हालसम्ममा तीन हजार १ सय ७८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ११ सय ४ जना महिला र १७ सय ६१ जना पुरुष छन् । आत्महत्या गर्नेमा बालिकाको संख्या बढि छ । सोही अवधिमा १ सय ९६ जना बालिकाले आत्महत्या गर्दा १ सय ३१ जना बालकले प्राण फालेका हुन् ।
तथ्याङ्क हेर्दा अधिकांशले विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, हातहतियार प्रयोग गरेर, हाम्फालेर, डुबेर, करेन्ट लगाएर र दुरुत्सानका कारण आत्महत्या गरेका छन् । जसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । तथ्याङ्कमा २५ सय ७० जनाले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । जसमा २ सय ५६ पुरुष, १ सय ६८ महिला, २४ बालिका र १४ बालक छन् ।
झुण्डिएर आत्महत्या गर्नुबाहेक विष सेवन गरेर ज्यान फाल्नेको संख्या पनि उस्तै छ । ४ सय ६२ जनाले विष खाँदा २ सय ५६ पुरुष र १ सय ६८ महिला छन् । २४ बालिका तथा १४ बालकले पनि विष खाएर प्राण त्यागेका छन् ।
त्यस्तै, आत्महत्या दुरुत्सानका कारण पनि मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । सो अवधिमा १ सय २ जनाले दुरुत्सानका कारण ज्यान फालेका छन् । जसमा महिलाको संख्या उच्च देखिन्छ । ७९ जना महिलाले दुरुत्सानका कारण प्राण त्याग्दा २० पुरुष, ३ बालिका र २ बालकले पनि प्राण छाडेका छन् ।
यसका साथै डुबेर २०, हाम्फालेर १४, आगो लगाएर ५ तथा हातहतियार प्रयोग गरेर ५ जनाले आत्महत्या गरेका छन् । करेन्ट लगाएर भने चालू आर्थिक वर्षमा एक जनाले पनि ज्यान फालेका छैनन् ।
आत्महत्यामा प्रदेश १ एक नम्बरमा
प्रदेश १ मा सबैभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । उपत्यका तथा सातै वटा प्रदेशको तुलनामा प्रदेश नम्बर १ मा आत्महत्या गर्नेको संख्या बढी देखिएको हो । प्रदेशअनुसार आत्महत्या गर्नेको संख्यामा प्रदेश १ पछि लुम्बिनी, मधेश, बाग्मती, गण्डकी, सूदुरपश्चिम र कर्णाली प्रदेश छन् । उपत्यकामा पनि आत्महत्या गर्नेको संख्या उत्तिकै बढ्दो छ ।
सबैभन्दा बढी प्रदेश एकमा ६ सय ५४ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ३ सय ९२ र महिला २ सय १३ छन् । त्यस्तै, बालक ३२ र बालिका ३० जना छन् । त्यस्तै, दोस्रोमा रहेको लुम्बिनीमा ६ सय २६ जनाले आत्महत्या गरेका छन् । त्यहाँ ३ सय ६९ पुरुष, २ सय ३ जना महिला, २९ जना बालिका र २६ जना बालकले प्राण त्यागेका हुन् ।
मधेशमा पनि ४ सय ४४ जनाले आत्महत्या गर्दा १ सय ८० पुरुष, १ सय ५८ महिला, ७५ बालिका र ३१ बालकले आत्महत्याको बाटो रोजेका छन् । मधेशपछि बाग्मती प्रदेशमा ४ सय २४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा २ सय ३२ पुरुष, १ सय ५५ महिला, २३ बालिका र १४ बालक छन् ।
उता, गण्डकीमा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् भने सूदुरपश्चिममा २ सय ८७ तथा कर्णाली प्रदेशमा १ सय ४३ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्रै यो अवधिमा २ सय ४७ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।
टिप्पणीहरू