झण्डै डेढ अर्ब जनसंख्याको चीन अझै मान्छे बढाउने तयारीमा

झण्डै डेढ अर्ब जनसंख्याको चीन अझै मान्छे बढाउने तयारीमा

चीनले घट्दो जन्मदरलाई बढाउन विभिन्न उपाय अपनाउन थालेको छ । राजधानी बेइजिङमा सञ्चालित सरकारी मेडिकल बिमा योजनामा एक दर्जनभन्दा बढी प्रजनन सेवाहरु समेटिने भएका छन् ।

चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पत्तिलाई सहयोग गर्ने पहलस्वरुप थप प्रजनन् सेवाहरु समेटिन लागेको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कूल १६ मेडिकल सेवालाई २६ मार्चदेखि शहरको राज्य बिमाले समेट्ने जनाइएको छ । सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरुप धेरै मेडिकल सेवालाई बिमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन् योजनाले सेवाग्राहीको खर्च घटाउने र थप बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पत्तिलाई फाइदा पुग्ने विश्वास गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल बिमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई समेत सहयोग गर्नेछ ।

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौंपछि पहिलो पटक ह्वात्तै कमि आएको छ । गत वर्षदेखि केन्द्र सरकारले दम्पत्तिहरूलाई तीन वटासम्म बच्चा जन्माउन अनुमति दिएको छ ।

एक सन्तान नीतिका कारण चीनमा आगामी केही दशकमा जनसंख्याको विभिन्न उमेर समूहमा गम्भीर असमानता देखिने पूर्वानुमानपछि त्यहाँ धेरै बच्चा जन्माउन उत्प्रेरित गर्न थालिएको हो ।

टिप्पणीहरू