विप्लव माओवादीद्वारा ३ जना सहकर्मी बर्खास्त
मकवानपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना तीन जना नेतालाई बर्खास्त गरेको छ ।
केही समययता विभिन्न बहाना बनाएर पार्टीको काममा अनुपस्थित भएको र अन्य पार्टीसँग हिमचिम बढाएको आरोपमा उनीहरुलाई बर्खास्त गरिएको हो ।
पार्टी कारबाहीबाट बर्खास्तगीमा पर्नेहरुमा जिल्ला समितिका सदस्यहरु उमेश गुनी, रामशरण कार्की र शिव पौडेल हुन् । गुनी जनसरोकार मञ्चको जिल्ला अध्यक्ष समेत थिए ।
जिल्ला सेक्रेटरी राम घलान (वाटर) र इञ्चार्ज इन्द्रबहादुर परियार नयनले जारी गरेको विज्ञप्तिमा जनसरोकार मञ्चको अध्यक्षमा सागर कँडेललाई जिम्मेवारी तोकिएको उल्लेख छ ।
विज्ञप्तिमा जनघात र राष्ट्रघातमा लिप्त रहेका पार्टीहरुसँग सम्बन्ध बढाएकाले गत मंसिर १० गतेको सचिवालय बैठकको आधारमा गुनी, कार्की र पौडेललाई निकालिएको उल्लेख छ ।
स्रोतका अनुसार बर्खास्त भएका जिल्ला समिति सदस्यहरु नेकपा माओवादी केन्द्रसँग नजिकिँदै गएको बताइन्छ । माओवादी केन्द्र प्रवेश गर्ने सुईंको पाएपछि विप्लवले उनीहरुलाई तत्काल बर्खास्त गरेको हुनसक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू