अनि उनी चीनमै रोकिए

अनि उनी चीनमै रोकिए

गत आइतबार बिहान चीनको हुपेर्ई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरूलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए । तीन साताभन्दा लामो समयदेखि हुपेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरू कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन् । उनीहरू पनि मानसिक तनावमा थिए । नेपाल सरकारले हुपेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरू खुशी छन् । फर्केर आउनेहरू पनि फुरुंग परेका छन् ।

त्यस्तो खुशी सबैमा छाउन भने सकेन । हुपेईको उहान विमानस्थलबाट ६ जना नेपाली भने स्वदेश आउन पाएनन् । उनीहरू चीनमै रोकिनुको विस्तृत कारणबारे उहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेका र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइनमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन् ।

उहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य उहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए । उनी उहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन् । उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन् । उनीहरूकी २२ महिनाकी छोरी पनि थिइन् ।

बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरूमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो । सबै सामान्य नै थियो । तर, विमानस्थलमा गएर लगेज पठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७.५ डिग्री सेल्सियस देखायो । चीनले कोरोना भाइरसको संक्रमण बढेपछि ३७.१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरूलाई विमानस्थलबाट अन्यत्र जान दिँदैन ।

विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए । उनले एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन् ?’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो । चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारणचाहिँ कथंकदाचित विगेशमानमा कोरोना संक्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो ।

विमानस्थलबाट फर्कने अर्का अभागी थिए जकपुरका डा. कुनाल शाह । उनी हुपेई प्रान्तको चिङचौको याङ्चे विश्वविद्यालयमा चिकित्साशास्त्रमा एमडी गर्दै छन् । उनको तापक्रम ३७.५ डिग्री सेल्सियस् आएपछि विमानस्थल प्रशासनले नेपाल आउन दिएन । कुनालका सहपाठीले जनआस्थालाई बताएअनुसार उनको सामान्यतः शारीरिक तापक्रम बढी नै हुने गर्छ ।

जनकपुर घर भए पनि गर्मी ठाउँमा बस्न नचाहेकाले उनले स्कुल तथा कलेजको अध्ययन काठमाडौंमा गरेका हुन् । उनले नेपाल मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । आगामी महिना एमडी सकेर नेपाल फर्कने तयारी गरेका शाह विमानस्थलबाट विश्वविद्यालयतिरै फर्किए ।

चिङचौकै याङ्चे विश्वविद्यालयमै एमबिबिएस अध्ययनरत वीरगञ्जका अरुण शाहको ३७.९ डिग्री सेल्सियस् तापक्रम देखाएको थियो । थकाइ र बिहान सबेरैदेखिको यात्रा अघिल्लो राति सुत्न नसक्दा उनको तापक्रम बढेको हुन ससक्ने उनका सहपाठीले बताए । अरुण एमबिबिएस पाँचांै वर्षमा अध्ययनरत छन् ।

उहानको विमानस्थलबाट फर्कने अर्का अभागी नेपाली थिए राजाबाबु यादव । महोत्तरीका यादव इन्साइमा एमबिबिएसको इन्टरसिप गर्दै छन् । उनको तापक्रम ३७.३ देखिएको थियो । हुपेई प्रान्तको उहानदेखि इन्साइमा पुग्न ८ घण्टाजति लाग्छ । त्यति लामो यात्रा र अघिल्लो राति पनि घर जान पाउने खुशीमा नसुतेका उनको तापक्रम बढेकाले नेपाल आउन नपाएको उनका सहपाठीले बताए ।

टिप्पणीहरू