‘सत्ता गठबन्धन टुटेपछि मात्र एमालेले धारणा बनाउने’
एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरित नेता भीम रावलले एमसीसीबारे संसदमा बोलेको भन्दै स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘रावलले पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’
नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप समेत लगाएका छन् । साथै उनले प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर अर्कै कुरो बोल्दै एमसीसीलाई विवादको विषय बनाएको दाबी गरे ।
उनले भने, ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड तथा नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ, दुई जनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लिनु पर्दछ ।’
गठबन्धन कायम रहँदासम्म एमसीसी बारे एमालेले केही नबोल्ने बताउँदै उनले गठबन्धन टुटेमा मात्र आफ्नो पार्टीले धारणा राख्ने बताए ।
टिप्पणीहरू