काँग्रेस पोखराले भन्यो : सामाजिक सञ्जालबाट उम्मेद्वारी घोषणा नगर्नुहोस
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भनेपछि राजनीतिक दलहरु तयारीमा जुट्न थालेका छन् । आन्तरिक तयारी चुनाव घोषणा भएकै दिन गरे पनि पार्टीहरुले वाह्यरुपमा यसको तयारी थाल्न थालेका हुन् ।
आउँदो निर्वाचनलाई लक्षित गर्दै पोखरामा काँग्रेस तात्न थालेको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीमा जुटेको बताएको हो ।
काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिव गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए ।
कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागिताको अपेक्षा गरेको छ । सोको लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ ।
काँग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेदवारको अन्तिम टुंगो नलागेसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारीको घोषणा नगर्न नगराउन पनि अनुरोध गरेको छ ।
टिप्पणीहरू