एमसीसीविरुध्द दिउँसै लालटिन बालियो
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । संसद भवनअगाडि अनेरास्ववियूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेको थियो । अध्यक्ष सुदेश पराजुली नेतृत्वको समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेको हो ।
उनीहरुले नेता तथा सांसदहरुलाई दिउँसै लालटिन बालेर सचेत गराएका छन् । आज बिहान मात्र गृहमन्त्री बालकृष्ण खाँणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा एमसिसी प्रस्तावमाथि छलफल हुने बताइएपछि प्रदर्शनकारी समूहहरुले बानेश्वर क्षेत्रमा बिहानैदेखि विरोध जनाए । प्रदर्शनकारीहरूले एमसिसी अनुमोदन गर्न नहुने भन्दै सरकारविरुध्द नाराबाजी गरेका थिए ।
प्रदर्शनलाई लक्षित गर्दै सो क्षेत्रमा ठूलो संख्यामा आज सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले भीड नियन्त्रण गर्न आज पनि रबरको गोली,अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
टिप्पणीहरू