मकै पोल्ने मन्दिराको दैनिकी, ‘बिहान ४-रातिको ११’
मन्दिरा खत्री एकाबिहानै उठेर संघर्षको मैदानमा एक्लै हिँड्छिन् । घर परिवारको खुशीको लागि आफ्नो दुःख थन्क्याउँदै काठमाडौंको बिरानो शहरलाई आफ्नो बनाउन चाहन्छिन् । १६ वर्षको कलिलो उमेरमै जिम्मेवारीको भारी भोकेकी उनले आफ्नो खुशीसमेत बिर्सिसकेकी छन् ।
बिरानो शहरमा एक्लै हिँड्न बानी पारिसकेकी मन्दिरालाई जाडो होस् या गर्मी पत्तै हुँदैन । परिवारको खुशीका अगाडि यस्ता दुःखहरु उनलाई फिक्का लागेको धेरै भइसकेको छ । दोलखाको मैलुङ गाउँपालिका घर भएकी मन्दिरा गाउँको थोरै जग्गा जमिनको उब्जाउले परिवार पाल्न नसकिने भएपछि काँधमा जिम्मेवारीको भारी बोकेर शहरतिर पसेको धेरै भइसकेको छ ।१६ वर्षको उमेरमा गाउँकै एक युवकसँग विवाह भएको हो । घरपरिवारले नै खोजेको केटासँग बिहे गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई स्वीकार गर्दै उनले सानो उमेरमै सिउँदो रंगाएकी हुन् । उनी २५ वर्षमा हिँडिरहेकी छिन् । मन्दिराका श्रीमान २८ वर्षका गोपाल खत्री हुन् । उनले १० कक्षासम्म अध्ययन गरेका छन् । परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण उच्च शिक्षा हासिल गर्न सकेनन् ।
गोपाल शारीरिक रूपमा पनि केही कमजोर छन् । दुईवटै कान कम सुन्छन् । श्रीमती मन्दिरासँगै काठमाडौं आए । सानै उमेरमा पारिवारिक दायित्व बोकेर शहर पसेको यो दम्पत्तिको बिरानो ठाउँमा आफ्ना कोही थिएनन् । आफू बाँच्नुसँगै परिवार पाल्नुपर्ने जिम्मेवारी पनि थियो । त्यसैले रोजगारीको सिलसिलामा विभिन्न ठाउँमा पुग्न थाले । काठमाडौंमा काम पाउन सजिलो कहाँ छ र !, गोपालले धेरै हण्डर खाए । अन्ततः सार्वजनिक बसमा सहचालकको काम पाए ।घरको अवस्थाले थिचिएको बेला यो काम उनका लागि सबथोक थियो । तर,खुशी धेरै समय टिकेन । केही समयमै कामबाट निकालिए । बिडम्वना ! त्यो खुशी लुटिनुको कारण अरु थिएन,आफ्नै कानको समस्या थियो । त्यसपछि यो दम्पत्तिको दुःखका दिन फेरि शुरू भए । गोपाल कामका लागि जहाँजहाँ पुग्थे, कान नसुनेका कारण निकालिन्थे । एकातिर श्रीमानको शारीरिक अवस्था,अर्कोतिर आर्थिक अभावको पीडाले मन्दिरालाई अहिले पोल्ने गरेको छ । घरमा छोराछोरी र श्रीमान,बाहिर कामको चिन्ताले उनी राति सुत्न पनि सक्दिनन् ।
“५ कक्षा पढ्दा पढ्दै घरपरिवारले बिहे गरिदिएपछि पढाइलाई निरन्तरता दिन सकिनन् । उनलाई अंग्रेजी बोल्न साह्रै मन पर्छ । अंग्रेजी नबुझेकै कारण धेरै ठाउँमा दुःख पाएको गुनासो पनि गरेकी छन् ।”
कालिकास्थानको डेरामा दुई छोराछोरी र श्रीमानसँग बसेको वर्ष दिनभन्दा धेरै भएको छ । श्रीमानको कमाइ नभएकाले अहिले मकै व्यापार गर्न थालेकी छन् । कालिकास्थानस्थित बरको रुखमुनि मकै पोलेर बेच्नु अहिलेको दैनिकी हो । परिवार पाल्ने जिम्मेवारीले भतभति पोलेको मन शीतल बनाउन मन्दिराले मकै पोल्न थालेको एक वर्ष भएको छ ।
दिनभरि धुलो र धुवाँ खाई लखतरान शरीर लिएर घर पुगेपछि पनि उनलाई विश्राम मिल्दैन । घरको काम पनि आफैँले गर्नुपर्ने हुन्छ । सबै काम भ्याएर रातिको ११ बजेतिर ओछ्यानमा पुग्दा थकित र गलित भैसकेकी हुन्छिन् ।
बिहान चार बजे उठेपछि फेरि उही दैनिकी शुरु भइहाल्छ । आँखा मिच्दै काँचो मकै लिन कालिमाटी पुग्छिन् । त्यसपछि बरको रुखमुनि आगो फुक्न पुग्नुपरिहाल्छ । दैनिक एक सय वटा मकै बेच्ने गरेको उनको भनाइ छ । मकै बेचेर दिनमा नौ सयदेखि हजार रुपैयाँसम्म कमाइ हुने उनले बताइन् । तर,यो कमाइले घर खर्च टार्न सजिलो छैन ।
एक जनाकै कमाइले घर खर्च,कोठा भाडा,छोराछोरीको पढाई धान्न नसकिएको दुःखेसो छ मन्दिराको । त्यतिमात्र कहाँ हो र,श्रीमानको कानको उपचार गर्नसमेत मकै पोलेर कमाएको थोरै रकम खर्च गर्नुपर्ने बाध्यता रहेको सुनाइन् । माइतीतिर पनि आर्थिक अवस्था कमजोर भएकाले आपतविपतमा सहयोग गर्नुपर्ने अर्को जिम्मेवारी पनि छ उनलाई । सबैतिरको समस्यालाई हेर्दाहेर्दै कलिलै उमेरमा आफ्नो खुशी थन्क्याउनु परेकाले होला आजकाल आफू उमेरले पको भएझैं लाग्छ रे !
आफू सरहका युवतीहरु क्याम्पस पढ्न गएको देख्दा खिन्नता पनि लाग्छ । मन्दिराका अनुसार ५ कक्षा पढ्दा पढ्दै घरपरिवारले बिहे गरिदिएपछि पढाइलाई निरन्तरता दिन सकिनन् । उनलाई अंग्रेजी बोल्न साह्रै मन पर्छ । अंग्रेजी नबुझेकै कारण धेरै ठाउँमा दुःख पाएको गुनासो पनि गरेकी छन् । तर, उनी आफूले पाएकोजस्तै दुःख छोराछोरीले नपाउन् भन्नेमा सचेत देखिन्छिन् ।भन्छिन्, ‘मैले नपढेर दुःख पाएँ,छोराछोरीलाई आफू बेचिएर भए पनि राम्रो पढाउने धोको छ ।’ त्यसैले होला आफ्ना दुई सन्तानलाई दुःख गरेर भए पनि बोर्डिङ्मा पढाएकी छन् । छोरालाई डाक्टर र छोरीलाई नर्स बनाउने धोको छ ।
सासले जतिसम्म साथ दिन्छ त्यतिसम्म सन्तानका लागि दुःख गरेरै भए पनि उच्च शिक्षा हासिल गराउने उनको सपना छ । उनीहरुकै सफलताको लागि संघर्ष गर्न थालेको वर्षौं भइसकेको छ । जेठो छोरोको उमेर ८ वर्ष पुगेको छ । उनले छोरो जन्मेदेखि नै संघर्ष गर्न सिकिसकेकी थिइन् ।
टिप्पणीहरू