मकवानपुरमा काँग्रेस संस्थापनका उम्मेदवार दुई,भिडन्त तीन

मकवानपुरमा काँग्रेस संस्थापनका उम्मेदवार दुई,भिडन्त तीन

नेपाली काँग्रेस मकवानपुरको १४ औँ जिल्ला अधिवेशन शुरु भएको छ । अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने निश्चित छ । निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार जिल्ला नेतृत्वका लागि आनन्दराम पराजुली, बुध्द लामा र जयराम लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

तीनै जना उम्मेदवारले आफूलाई सशक्त उम्मेदवारको रुपमा प्रस्तुत गर्दै पहिलो पटकमै ५१ प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरेका छन् । सभापति पदमा उम्मेदवारी दिएका पराजुली यसअघि हेटौँडा उपमहानगर इकाई समिति सभापति भइसकेका छन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट मेयर पदका उम्मेदवार थिए ।

त्यसैगरी पुराना नेताको परिचय बनाएका लामाले यसअघि जिल्ला सचिवको रुपमा काम गरिसकेका छन् । तत्कालीन संविधानसभा निर्वाचन २०७० मा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धामा आएका लामिछाने निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।

पराजुली र लामा संस्थापन पक्षका हुन् । उनीहरुलाई मिलाउन नसक्दा लामिछानेले फाइदा उठाउन सक्ने आँकलन गरिएको छ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेबाट मतदान हुनेछ । जिल्लाभर काँग्रेसका १ हजार ८ सय ८२ जना मतदाता छन् ।

सभापति हुन कूल मतको ५१ प्रतिशत अनिवार्य ल्याउनुपर्ने विधानमा छ । तीन जना उम्मेदवारवीच मत विभाजित हुँदा कसैको पनि ५१ प्रतिशत मत प्राप्त नभएमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ ।

टिप्पणीहरू