गोकुल यसरी खेर गए

गोकुल यसरी खेर गए

गोप्य कुराकानी भएको १५ महिनापछि किन कसैको अडियो बाहिर आउँछ ?

भनिन्छ, विनोद चौधरीहरूको टेलिकम सञ्चालनमा सरकार स्थायी रूपमै बाधक भएपछि स्विटजरल्याण्डबाट खरिद गर्ने भनिएको सेक्युरिटी प्रेसका कमिशन एजेण्ट विजय मिश्रमार्फत सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हुर्मत लिइयो, झण्डै सवा वर्ष पुरानो गोप्य अडियो रेकर्ड सार्वजनिक गरेर । किन चौधरीहरू यसमा लागे ? कुरा बुझ्न त्यति गाह्रो छैन ।

मन्त्री बाँस्कोटाले फागुन १ गते ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (अहिलेको सिजी टेलिकम) लाई एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरको हिसाब देखाउन चुनौती दिएका थिए । उसले विश्व बैंकसँग सहयोगमा पाएको रकमबाट भएको काम कारबाहीको विवरण खोजिने पनि गोकुलले भनेका थिए ।

उक्त रकमको खर्च, गर्नुपर्ने काम र पूर्वशर्तमा रहेका प्रावधान पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने उनको भनाइ थियो । तत्कालीन एसटिएमले पाँच सय ३४ गाउँमा सेवा विस्तार नगरेको, भिस्याटलगायत प्रविधिकोे अवस्थाबारे सत्यतथ्य जानकारी नदिएकोबारे चर्कोसँग कुरा उठेको थियो ।

तर, त्यतिबेलासम्म चौधरीले पहिला अनुदानको पैसा लक्षित कामभन्दा फरक शीर्षकमा सिध्याइसकेका थिए । अहिले पनि त्यो पैसाको भ्याट फिर्ता लिने चक्करमै छन् । आयातित उपकरण प्रयोगमा नआएपछि ती सामानको भ्याटबापत २२–२५ करोड रूपैयाँ फिर्ता लिनुपर्ने छ । तर, कर विभागले भ्याट फिर्ता नदिने नीति अवलम्बन ग-र्यो ।

बरु, गोकुलले एसटिएमले निर्माण गर्ने भनेको एक हजार २८ वटा पिसिओ बने कि बनेनन् ? ती काम कहाँ पुगे ? काम नभएको भए त्यसबापतको रकम फिर्ता हुन्छ कि हुँदैन ? जस्ता प्रश्न उठाउँदै भ्याट फिर्ता हुने नामै लिएनन् । त्यही एसटिएम कम्पनी चौधरी ग्रुपले खरिद गरी सिजी टेलिकमका नाममा सञ्चालन गरिरहेको छ ।

नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि जाँदा कर कार्यालयले पहिलाको कर तिराउन खोज्यो । तर, गोकुललाई पछ्याउँदै स्पेनसम्म पुगेको चौधरी ग्रुपले न मन्त्रीको छेउ पायो, न कुनै भेउ पायो । यहाँसम्म कि लाइसेन्ससमेत नवीकरण हुन दिइएन र त्यसपछि प्रयोगमा आए, विजय मिश्र ।

सेक्युरिटी प्रेसमा यति समूह एजेण्ट रहेको फ्रान्सेली कम्पनी अगाडि आएपछि विजय मिश्रको ठेक्का पाउने सम्भावना समाप्त भयो । चौधरीलाई भ्याट फिर्ता नभएको र टेलिकम सञ्चालनमा ल्याउन नसकेकोमा गोकुलसँग बदला लिनु थियो । त्यसमाथि पार्टीका अध्यक्षहरू र त्यसमुनिको तहका सबै नेताकहाँ सहज संवाद चल्ने यसअघि मन मिल्दासम्म एमालेका सभासद् विनोद चौधरीमाथि गोकुलको ‘अत्याचार’ सह्य नभएर पनि हुनुपर्छ, पार्टीकै केही मान्छेले पनि यो झुण्डलाई चम्कायो ।

पहिला नाकाबन्दी सुल्झाउन सरकारी दूत भएर योग गुरु रविशंकरमार्फत मोदीकहाँ पुग्ने व्यक्ति हुन्, विनोद । त्यसबेला सहयोग गरेको नाममा अहिले गोकुललाई पेलेर काम लिन खोज्दाको परिणाम पनि हो यो प्रकरण भनिँदै छ । अहिले चौधरी ग्रुप र विजय मिश्र एकैचोटि ‘गोकुलपीडित’ बन्न पुगे र यसरी विरोधी–विरोधी मिलेर गोकुललाई तित्राको मुखै बैरी बनाइदिए ।

टिप्पणीहरू