कर्मचारीका कष्ट र काइदा
आएपिच्छेका मन्त्रीसँग मनमुटाव हुने तर वर्षौंदेखि एउटै मन्त्रालयमा बस्नचाहिँ नछाड्ने ! उद्योगसचिव यामकुमारी खतिवडाको कुरा हो यो ।
अघिल्ला मन्त्री मात्रिका यादव त हिजोआज यामकुमारीकै कारण आफू असफल हुनुपरेको भन्न थालेका छन् । उनले यामलाई पहिल्यै सरुवा गर्न खोजेका थिए तर राष्ट्रपतिको पावर लगाएर टिकिरहिन् । अहिलेका मन्त्री लेखराज भट्टसँग पनि उनको कुरा मिलिरहेको छैन । सहसचिव हुँदा केही दिन क्षेत्रीय प्रशासक र केही समय सूचना आयोगबाहेक पूरैजस्तो अवधि त्यहीँ बसिन् । मतलब, जहाँ गए पनि यामकुमारीले उद्योगको स्वाद बिर्सन सकिनन् । सूर्यबहादुरका छोरा सुनील थापा मन्त्री हुँदादेखि अहिलेसम्मै उनी त्यहीँ छिन् । समकक्षीसँग कुरा हुँदा राजीनामा दिन्छु भन्ने गरेकी छन् ।
मन्त्रालयमा दुई सचिव हुनाले कामको तालमेल मिलेन भन्छिन् । उद्योग छाड्नै प¥यो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाए जान तयार छिन् । मोहनकृष्ण सापकोटा र सूर्य गौतम पनि त्यहीँका लागि दौडधुपमा छन् । सामान्यका यादव कोइराला गृहसचिव बनाइने आशमा थिए । किनभने, अहिलेका सचिवमध्ये सत्तारुढ दलका सबभन्दा हार्डकोर मान्छे उनै हुन् । तर, सरकारचाहिँ यामकुमारीजस्ता कांग्रेस पृष्ठभूमिलाई नै बोक्नमा मग्न छ । उनी कांग्रेसको सरकार आए माइती ओखलढुंगा देखाएर कांग्रेस बन्ने, नेकपा आए पति र झापा देखाएर त्यतैको भइदिने † अर्कातिर, सामान्यमा मन्त्री हृदयेश त्रिपाठीले सचिव यादवलाई त्यति रुचाएका छैनन् ।
गृहकै क्याडर यादव त्यहीँ सचिव होलान् भनेर हृदयेशले बीचमा केही पनि भनेनन् । तर, गृहसचिव महेश्वर न्यौपाने भएपछि हृदयेशले प्रम सचिवालयमा यादवलाई अन्यत्र पठाउनेबारे एक–दुई लट कुरा राखिसकेका छन् । यादवलाई पनि सामान्यमा बस्न मन मरिसकेको छ । त्यसैले यामकुमारी उद्योगबाट निस्किइन् भने त्यहाँ जान खोजेका छन् । यादवको मन्त्रालय मात्रै ‘सामान्य’ हैन, आनिबानी पनि सामान्य † नेपाल सरकारको सचिव भएर अहिले पनि स्कुटरमा बालबच्चालाई स्कुल पु¥याउनमै व्यस्त हुन्छन् । यसैबाट बुझिन्छ, यस्ता सचिवसँग कम्बल नओढी घ्यू खान्छु भन्ने सय तोला सुनका साहु हृदयेशको कुरा नमिल्नु ठीकै हो ।
सामान्यको कप्रका दुई उपसचिव फेरिए । त्यसमध्ये चन्द्र फुयाँल कृषिमा सरुवा भए । तर, त्यहाँ कप्र नपाएपछि आफैँ सरुवा संशोधन गराएर अर्थ मन्त्रालय बनाए । ईश्वर गिरी पनि सरुवा भएर सहरी विकासमा पुगे । अर्का उपसचिव सुरेन्द्र थापा पनि सरुवा भए । सामान्यमा पाँच सहसचिवको दरबन्दी छ । तीमध्ये जयराज आचार्य पुराना हुन्, उनको सरुवा भएन । सामान्यले ३४ उपसचिवलाई काजमा सातै प्रदेशमा पठाएको छ । तर, एक महिना भइसक्यो, दर्जन उपसचिव पनि खटाइएका ठाउँमा गएनन् । उद्योगका विमल बराल औद्योगिक प्रवद्र्धन शाखामा छन् । उनलाई २ नं. प्रदेश खटाइएको हो । तर, यामकुमारीले यादव कोइरालाई भनेर थमौती गराइन् । यामकुमारी विमल नभए मन्त्रालय नै चल्दैन भनेझैँ प्रस्तुत हुन्छिन् । उद्योगका पाँचमध्ये उपसचिवमध्ये अरूचाहिँ प्रदेशमा हाजिर भइसके ।
शिवराम न्यौपाने उद्योग विभागका महानिर्देशक थिए । अहिले सबभन्दा बढी सरुवा पर्नेमा छन् । सहसचिव भएलगत्तै उद्योगको महानिर्देशक भए । गोर्खा बु्रअरीको दर्ता प्रमाणपत्र हराएकाले सो कम्पनीले प्रतिलिपि माग गरेको थियो । उनले महानिर्देशक हुँदा ऐनमा प्रतिलिपि प्रमाणपत्र दिने व्यवस्था नभएकाले भनी लेखिदिए । नागरिकताको प्रतिलिपि दिन मिल्ने, कम्पनी दर्ताको प्रमाणपत्र नमिल्ने ? भन्दै मन्त्री पनि कराए । त्यसलगत्तै अर्को उजुरी गयो, चौधरी ग्रुपका मान्छेसँग पाँच लाख रूपैयाँ लिएको । मन्त्रीले एक्सन लिएपछि पैसा मात्रै हैन, मान्छे नै फिर्ता भए । त्यहाँबाट शिवराम पुगे श्रम मन्त्रालय । भर्खरैको सरुवामा महिला तथा बालबालिकामा परेका छन् ।
उता, विशेष आर्थिक क्षेत्र (सेज) को कार्यकारी निर्देशक रिक्त छ । मात्रिकाकै पालामा पदपूर्तिको प्रक्रिया अगाडि बढेको थियो । त्यहाँ जानका लागि आठ जनाले दरखास्त दिएका छन् । तर, लेखराज मन्त्री भएर गएपछि प्रक्रिया रोकेर सहसचिवलाई जिम्मेवारी दिए । यामकुमारीले अडान लिनुपथ्र्यो, तर लिइनन् । कर्मचारीले चलाउनाले भैरहवामा सेज धराशायी हुने अवस्थामा छ । वीरगञ्जमा त्यस्तै बेहाल छ । सहसचिव भुवनहरि अर्याल कम्पनी रजिष्ट्रार्ड कार्यालयका प्रमुख थिए । काम गर्न नसकेको भनेर मन्त्रालय तानिए । ६० सहसचिव सरुवा हुँदा मधेसी आयोगमा परे । तर, सचिवको निकटस्थ हुुनुका कारण मधेसी आयोगमा अर्कैलाई पठाएर उद्योगमा थमौती गरियो । उनलाई अहिले कप्रमा जिम्मेवारी दिइएको छ ।
कम्पनीमा काम गर्न नसकेको भनेर तान्ने, सामान्यको सरुवा थमौती गरेर उल्टै कप्रमा राख्ने ? भन्दै कर्मचारीबीच बबाल छ । उद्योगको अर्को दरबन्दीमा कर्णाली प्रदेशबाट डा.मानबहादुर विक गएका छन् । दिनेश भट्टराई र कम्पनी रजिष्ट्रार गरी दुई दरबन्दी खाली छ । पहिला डा.मानबहादुर ५ नं. प्रदेशसभाका सचिव थिए । त्यसको तीन÷चार महिनामा मनमुटाव भएपछि आन्तरिक मामिला मन्त्रालय पठाइयो । आन्तरिक मामिलामा तीन महिना बसेपछि प्रदेश नै फेरेर कर्णालीतिर फ्याँकियो । त्यहाँको पनि सामाजिक विकास मन्त्रालयमा गए । अहिले संघमा तानिएर उद्योग मन्त्रालयमा पुगेका छन् । आफ्नो निष्ठामा अडिने मान्छे भएका कारण यी डाक्टर र यामकुमारीको कुरा मिल्ने छाँट छैन । किनभने, यामकुमारीलाई पैसा नचलाउने मान्छे मनै पर्दैन । उद्योगबाटै पुष्पराज शाही कुनै आयोगमा सरुवा भएका थिए । तर, फेरि फर्किएर त्यहीँ पुगे । यसरी मन्त्रालयमा सहसचिवको भीड छ तर कम्पनी रजिष्ट्रार्डको कार्यालय लामो समयदेखि खाली छ ।
टिप्पणीहरू