गैंडाकोट पालिकामा भइरहेको गलफत्ती

गैंडाकोट पालिकामा भइरहेको गलफत्ती

पहिले निःशुल्क भन्ने, पछि खर्च देखाउँदै रकम माग्ने ! यस्तो भएपछि मेयरले भ्रष्टाचारी किन नभनून् ? भ्रष्टाचार गर्न सघाउनेचाहिँ वडाध्यक्ष परे । पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकामा केहीअघि यस विषयमा निकै चर्काचर्की परेको थियो ।

नेपाल स्वास्थ्य व्यवसायी संघ, गैंडाकोट नगर इकाइको तर्फबाट केहीअघि स्वास्थ्य शिविर गरिएको रहेछ वडा नं. १८ मा । त्यो शिविर गर्ने बेलामा चाहिँ हामी निःशुल्क गर्छौं भनेर नगरपालिकालाई पत्राचार भएको रहेछ । तर, शिविर सम्पन्न भइसकेपछि वडाध्यक्ष तिलबहादुर चितौरे मगरसँग मिलेर डेढ लाखको बिल तयार पारी नगरपालिकामा पेश गरिएको छ । त्यसैलाई भ्रष्टाचार भएको भन्दै मेयरले भुक्तानी दिन नमानिरहेका हुन् ।

करिब एक महिनाअगाडि यस विषयमा मेयरको कार्यकक्षमा निकै चर्काचर्की परेको थियो । नेपाल स्वास्थ्य व्यवसायी संघका प्रतिनिधिले ‘हामीलाई भ्रष्टाचारी किन भनेको ?’ भन्दै मेयरलाई ¥याख¥याख्ती पारिरहेका थिए भने मेयर छत्रराज पौडेलचाहिँ ‘तपाईंहरूलाई व्यक्तिगत रूपमा मैले भ्रष्टाचारी भनेको भन्दापनि त्यो संस्थागत भ्रष्टाचार नै हो,’ भन्दै आफ्नो अडानमा अडिग देखिन्थे । स्वास्थ्य व्यवसायी संघको तर्फबाट नगरपालिकामा पेश गरिएको यो बिलको रकम अझै निकासा नगरिएको मेयरले बताएका छन् ।

सामान्यतया महिनामा एक/दुईपटकसम्म बस्ने गरिन्छ कार्यपालिका बैठक तर गैंडाकोट नगरपालिकाको कार्यपालिका बैठक गत महिना चार÷पाँच महिनापछि मात्र बस्न सकेको बताइन्छ । मेयर छत्रराज एमालेबाट विजयी । तर, नगरकार्यपालिकामा कांग्रेसको बहुमत छ । कार्यपालिकाको २८ सदस्यमा १८ जना कांग्रेसका छन् । यसले गर्दा मेयरलाई काम गर्न निकै कठिनाइ भइरहेको बुझिएको छ । उपमेयर पनि कांग्रेसकी छन् । आफैं महिला भएर दुई वर्षअघि आफैंले करारमा नियुक्त गरेकी महिला कार्यालय सहयोगीको जागिर खोस्न उपमेयर विष्णुकुमारी कँडेल अहिले लागिपरेकी बुझिन्छ ।

 

टिप्पणीहरू