आगामी स्थानीय चुनावमा प्रमुख पदमा महिलाको संख्या बढ्ला ?
अहिले विभिन्न राजनीतिक दलहरू संवैधानिक प्रावधानअनुसार समावेशीताप्रति धेरथोर इमान्दार देखिन्छन् । सोही व्यवस्थाअनुरुप महिला जनप्रतिनिधिहरुले आफ्नो अधिकार एक हदसम्म भएपनि सुनिश्चित गरेका छन् ।
विडम्बना, स्थानीय तहका प्रमुख पदमा महिला प्रतिनिधिको सहभागिता भने न्यून रहेको छ । संविधानले स्थानीय तहको प्रमुखमा पुरुष भए उपप्रमुखमा महिला वा महिला भए पुरुष भन्ने स्पष्ट कानुनी व्यवस्था गरेको छ । तर, राजनीतिक दलहरूले अघिल्लो स्थानीय तह निर्वाचनमा प्रयाः उपप्रमुखमा महिलालाई मात्र सीमित गरेका थिए । यसको अर्थ सबै स्थानीय तहमा पुरूष मात्र प्रमुख हुनुपर्छ भन्ने होइन भनेर राजनीतिक दलले बुझ्नुपर्ने थियो । तर त्यसो गरेको देखिएन ।
स्थानीय तहमा महिलाको संख्यात्मक उपस्थिति हेर्दा २०७४ को निर्वाचनमा सबैजसो राजनीतिक दलले अनिवार्य प्रतिनिधित्व हुनुपर्ने गरी निर्वाचन ऐनमा उल्लेखित पदमा उम्मेदवारी दिएका थिए । जसमा धेरै उपप्रमुख महिला प्रतिनिधिहरु छन् । ७५३ स्थानीय तहमा १८ वटामा मात्र महिला प्रमुख पदमा सहभागी भए । छ वटा महानगरपालिमध्ये भरतपुर एउटामा मात्रै महिला प्रमुख छन् । यस्तै २७६ नगरमध्ये पाँच वटामा मात्र महिला प्रतिनिधिहरुले प्रमुख पद सम्हाल्न पाएका छन् । यसैगरी ४६० गाउँपालिकामा पनि १२ वटामा महिला प्रमुख छन् । यसरी हेर्दा माथिल्लो पदमा महिला सहभागिता तीन प्रतिशतभन्दा पनि कम देखिन्छ ।
ऐन र कानुन मान्नुपर्ने बाध्यताका कारण राजनीतिक दलहरुले समावेशिताप्रति इमान्दारिता देखाउन खोजेको भान हुन्छ । सबैजसो स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा महिला हुनुले अहिले पनि महिलाहरु पुरुषकै मातहतमा बस्नुपर्ने बाध्यात्मक अवस्था कायम छ । हरेक ठाउँमा जन्मजात पुरुष प्रधान ठानिने पितृसत्तात्मक सोच यथावत छ ।
सरकारले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने घोषणा गरेको छ । त्योसँगै स्थानीय तहका सबै जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल समाप्त हुने छ । कोही दोहोरीने मनसायमा छन् भने केहीले माथितिरको पद आँटेका छन् । तीमध्ये उपप्रमुख पदमा सहभागी महिलाहरु अबको स्थानीय निर्वाचनमा साविकको पदबाट माथि उक्लिएलान् कि भएको पद पनि समाप्त होला ? अहिले यो चर्चाको विषय बनेको छ ।
कतिपय महिला जनप्रतिनिधि आफूहरुको पद सुरक्षित हुन्छ भन्नेमै विश्वस्त छैनन् भने कतिपयले हालको पदबाट माथिल्लो पदको उम्मेदवारीको अपेक्षा गरेका छन् ।
तीमध्ये यी उपमेयर यसो भन्छिन् :
अछामको कमलबजार नगरपालिकाकी उमप्रमुख भूमिशरण ढकाल बजगार्इंले आगामी निर्वाचनमा माथिल्लो पदमा उम्मेदवारी दिने बताएकी छन् । उनलाई आफ्नो पाँच वर्षको अनुभवले नगर प्रमुख भएर काम गर्ने सक्ने आँट र हौसलत दिएको छ ।
उनले नगरवासीका समस्यालाई नजिकबाट नियाँलेका कारण अबको निर्वाचनमा बहुमतका साथ प्रमुख पदमा जीत हासिल गर्ने विश्वास गरेकी छन् । उनी भन्छिन्, ‘मेयर भएर काम गर्न सक्छु भनेर मैले पाँच वर्षको अनुभवबाट सिकेको छु, हामीले नगर प्रमुख कै हैसियमा रहेर नजिकबाट सबै कामकाजलाई नियाल्ने मौका पाएका छौँ, नगरबासीका हरेक समस्यालाई घरदैलोमा पुगेर हेरेका छौं, त्यसैले मलाई विश्वास छ माथिल्लो पदमा बहुमतले जीत हासिल गर्छु ।’
उनले ‘सुत्केरीसँगै उपप्रमुख कोशेली कार्यक्रम’ मा हरेक सुत्केरीलाई पोषिलो खानेकुरा र लत्ताकपडा उपलब्ध गराउँदै आएको बताएकी छन् । विभिन्न कार्यक्रमका साथ महिलालाई हौसला दिँदै आएको उनको भनाइ छ । नगरका महिलाहरुले प्रमुख भएर काम गर्न आफूलाई सँधै आग्रह गर्दै आएको पनि भूमिशरणले सुनाइन् ।
‘मैले यहाँका महिलाको विभिन्न कार्यक्रममार्फत समस्यको समाधान गरिरहेको छु, उहाँहरुले पनि मलाई अब प्रमुख भएर काम गर्नुपर्छ भन्दै आग्रह गर्दे आउनुभएको छ,’ उनले भनिन् ।
उनले नगरका १० वटै वडामा मेयरकोभन्दा आफ्नो ठूलो पकड रहेको दाबी गरिन् । पुरुषको तुलतामा महिलाले सबै नागरिकको दु,ख र पिडा बुझ्न सक्ने भएकाले प्रमुख भएर काम गर्दा अझै सहज हुने उनको बुझाइ छ । यस्तै नगरपालिकाको मेयरमा उम्मेदवारी दिएमा नगरप्रमुख ओमप्रकाश विष्टले समेत साथ दिने उनको विश्वास छ ।
यता, उनी जस्तै सोही जिल्ला मंगलसेन नगरपालिकाकी उपमेयर सरिता उपाध्यायको चाहना पनि फरक छैन् । उनले पार्टीले साथ दिएसम्म आगामी आउने निर्वाचनमा नगरको मेयरमा उम्मेवारी दिने सोच राखेकी छन् ।
उनी आफ्नो कार्यकालमा गरेको कामको मूल्याङ्कन गरी पार्टीले प्रमुख पदको जिम्मेवारी दिनुपर्छ भन्ने पक्षमा छन् । अहिलेसम्म नगरको नेतृत्व गर्ने व्यक्तिभन्दा आफूले तुलनात्मक रुपमा राम्रो काम गरेको पनि उनले बताइन् ।
उपाध्यायले घरघरमा खानेपानीका धाराहरु पुर्याएर स्थानीयको मन जित्न सफल भएको दाबी गरेकी छन् । त्यसैगरी सडक नपुगेका वडाहरुमा अहिले सडक पुगेकाले आफूले बहुमतका साथ नगर प्रमुखमा जित्ने उनको विश्वास छ । नगरवासी महिलाका समस्यालाई उजागर गर्दै घरेलु हिँसामुक्त नगर बनाइएको उनको दाबी छ ।
उनीहरु एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै स्थानीय तहका अन्य जनप्रतिनिधि महिलाहरु साविकभन्दा माथिल्लो पदमा बसेर नेतृत्व गर्ने मनसायमा देखिन्छन् । तर, उनीहरुको इच्छालाई राजनीतिक पार्टीहरुले के गर्छन् ? त्यसबारेमा माओवादी केन्द्रकी नेतृ अमृता थापा मगरको धारणा भने यस्तो छ ।
महिला आँटिलो हुनुपर्छ : अमृता थापा
माओवादी केन्द्रकी नेतृ अमृता थापाले उनीहरुको इच्छाअनुसार नै सबै राजनीतिक दलले माथिल्लो पदमा सहभागी गराउनु पर्नेमा जोड दिएकी छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै ’गाउँ शहर घरघर आउँ, माओवादीलाई विजयी बनाउँ’ भन्ने नाराका साथ चुनावको तयारीमा लागेको बताइन् । उनले अबको निर्वाचनमा स्थानीय तहमा महिलालाई प्रमुख बनाउने पक्षमा आफ्नो पार्टी रहेको बताइन् ।
यस्तै, उनले सबै राजनीतिक पार्टीले महिला प्रतिनिधिको कामकाजलाई मूल्याङ्कन गरि प्रमुख पदमा उम्मेदवारी दिन आग्रह गरेकी छन् । आफ्नो पार्टीले अघिल्लो चुनावमा पनि धेरै महिलालाई स्थानीय तहका विभिन्न पदमा सहभागी गराएको उनको दाबी छ ।
उनले भनिन्, ‘माओवादीले विगतदेखि नै महिला सहभागितामा जोड दिएको छ, अघिल्लो स्थानीय तहमा धेरै महिला विभिन्न पदमा निर्वाचित भएका थिए । महानगरको प्रमुख भएर काम गरिरहेकै छन् । अबको निर्वाचनमा पनि त्यहीअनुसार अघि बढ्छौँ ।
माओवादी केन्द्रले महिलालाई प्रमुखमा सहभागी गराउने उद्देश्यका साथ लविबङ गर्ने उनले जानकारी दिइन् । साथै महिला प्रतिनिधिहरुले पनि आफू गर्न सक्छु भन्ने आँट र विश्वास देखाउनुपर्ने उनको सुझाव छ ।
टिप्पणीहरू