विद्यालयको पाठ्यक्रममा गम्भीर गल्ती
पछिल्लो समय नेपाली शैक्षिक क्षेत्रको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वयम् पाठ्यक्रम विकास केन्द्रले गम्भीर त्रुटी गरेको छ । भोलिका कर्णधार भनिएका बालबालिकाले सिक्ने शैक्षिक पाठ्यक्रममा नेपालको बारेमा फरक तथ्य लेखिएको छ ।
बालबालिको पाठ्यक्रममा हुने सानो त्रुटीले पनि उनीहरुको सिकाइको गुणस्तरमा ह्रास आउन सक्छ । तर पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा पाँचको सामाजिक अध्ययन विषयमा हेर्दा सानो तर गम्भीर त्रुटी भएको पाइएको छ ।
उक्त पुस्तकमा नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवको नियुक्ती मितिनै विद्यार्थीहरुले गलत पढ्दै आएको पाइएको छ । उनीहरुले एउटै सरकारी निकायबाट प्रकाशित सामाजिक अध्ययन पुस्तकको कक्षा ५ र ६ मा प्रथम राष्ट्रपतिको नियुक्ती मिति छुट्टाछुट्टै पढ्दै आएका छन् ।
लामो समयदेखि कक्षा ५ का विद्यार्थीहरुले पढ्दै आएको सामाजिक अध्ययन विषयमा ‘हाम्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुख’ पाठमा २०६५ साउन ६ गते नेपालको पहिलो राष्ट्रपति बनेको उल्लेख गरिएको छ । तर, त्यही विषय कक्षा ६ को सामाजिक अध्ययन विषयमा २०६५ साउन ८ गते लेखिएको छ । यसरी हेर्दा विद्यार्थीले कुन तथ्यलाई आधार मान्ने ? यसमा पाठ्यक्रम विकास केन्द्र गम्भीर नभएको पुष्टि भएको छ ।विशेष सावधानी नपनाई पुस्तक छपाई गर्दा त्यस्तो गल्ति भएको बताइन्छ । उक्त विषयमा सम्बन्धित सबै कर्मचारी र विज्ञहरुको कमजोरी भएको पाठ्यक्रम विकास केन्द्रका एक जना पूराना विज्ञले उल्लेख गरे ।
हाम्रोतर्फबाट गल्ती भएकै होः निर्देशक
पाठ्यक्रम विकास केन्द्रको सामाजिक अध्ययन शाखाकी निर्देशक रेनुका पाण्डे भुसालले आफूहरुको गल्ती स्वीकार गरेकी छन् । लामो समयदेखि कक्षा ५ को पुस्तकमा देखिएको त्रुटीबारे छलफल भइरहेको पनि उनले जानकारी दिइन् । सो पुस्तकमा भएको गल्तीबारे केही दिन अघिमात्र जानकारी पाएको उनले बताइन् ।
निर्देशक रेनुकाले भनिन्, ‘कक्षा पाँचको सामाजिक विषयमा भएको गल्तीबारे हामीलाई अहिले मात्र थाहा भएको छ, यसलाई सच्चाउनु पर्ने पक्षमा हामी छलफल गरिरहेका छौँ, यो हामीबाट भएको ठूलो गल्ती हो ।’
केन्द्रका अधिकारीहरुले आफ्नो वेवसाइटमार्फत यसबारे सबैलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छन् । त्यसैगरी पुस्तकलाई सकेसम्म बजार र सम्बन्धित विद्यार्थी, विद्यालय र अभिभावकबाट मगाउने तयारी थालिएको जानकारी पनि दिइएको छ ।
निर्देशक भुसालले भनिन्, ‘हामीबाट त सही नै गएको छ, तर कतै छपाईमा गल्ती भएको होला, अब छिट्टै अर्को नयाँ पुस्तक छपाउने छौँ ।’
टिप्पणीहरू