एउटी महिला पीडित भएको घटनाले अर्की महिलाको परिवारमा बज्रपात

एउटी महिला पीडित भएको घटनाले अर्की महिलाको परिवारमा बज्रपात

मोरङमा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको घटना र त्यसपछि भएको अर्को अमानवीय अत्याचारले अहिले चर्चा पाएको छ । लेटाङ–५, खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अविभावकहरुले हिजो दिनभर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

सोही क्रममा महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएसँगै त्यहाँको अवस्था थप तनावग्रत बनेको छ । घाँटी र छातीमा छुरा प्रहार हुँदा सिकिस्त भएकी उनको साँझ निधन भएको छ । उक्त घटनालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले आज लेटाङमा कर्फ्यू लगाएको छ ।

सहायक प्रमुख सूचना अधिकारी महेशराज तिम्सिनाका अनुसार लेटाङको वडा नम्बर ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय, पूर्वमा मोरङ्गे खोला, पश्चिममा चिसाङ खोला सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा आधा दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । उनीहरुसँग जिल्ला प्रहरी कार्यालयमा छानबिन टोलीले सोधपुछ गरिरहेको छ ।

गत शुक्रबार होली खेल्ने क्रममा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको पीडित पक्षका अविभावकले आरोप लगाएपछि स्थानीय प्रशासनले दुवै पक्षसँगै छलफलको तयारी गरेको बताइन्छ । उक्त विषयमा छलफल नगरेर अविभावक र विद्यार्थीले घटनालाई लुकाउन खोजेको भन्दै अनियन्त्रित भीडले आगजनी र तोडफोड गरेको सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए ।

केही युवाले आरोपित शिक्षकको मोटरसाइकलसमेत तोडफोड र आगजनी गरेको उनले जानकारी दिए । त्यसपछि स्थानीयले प्रहरीमाथि समेत आक्रमण गरेको थियो ।

यस्तो छ घटनाको नालीबेली

नाबालिका लेटाङ–५, खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् । उनी १२ वर्ष उमेरकी हुन् । होलीका दिन आरोपित शिक्षकले उनको घरमा गएर पानी मागेर खाएका थिए । ती शिक्षकलाई पीडित भनिएकी छात्राले पानी दिएकी थिइन् । ‘सोही क्रममा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको अविभावकले आरोप लगाएका हुन्,’ घटनालाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जनआस्थालाई बताए ।

उक्त घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको छ । ३० जनाभन्दा बढि प्रहरी घाइते भएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णाकुमारी निरौलाले बताइन् । उनका अनुसार तीन जना शिक्षक,दुई जना विद्यार्थी र अविभावकहरु पनि घाइते भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

लेटाङ नगरपालिकामा बिहानदेखि कर्फ्यु लगाइएकाले त्यहाँको अवस्था हिजोको तुलनामा सामान्य रहेको नगरपालिकाकी उपप्रमुख कृष्णाकुमारी निरौलाले जानकारी दिइन् । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि दोषीलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने उनको भनाइ छ । अपराधिक घटनामा जोसुकैको संलग्नता भए पनि तिनलाई कारबाहीको दायरामा ल्याइने उनले दाबी गरिन् ।

टिप्पणीहरू