को को हुन् पञ्चदेवलका मेयर आकांक्षी ?
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसकै लागि दलहरु चुनावको तयारीमा जुटेका छन् । स्थानीयस्तरका नेताहरुबीच मेयरको टिकट हात पार्ने होडबाजी पनि शुरु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका, अछामको लागि मेयर आकांक्षी नेताहरु सार्वजनिक हुने क्रम बढेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा नगरभित्र नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो पार्टी बनेका थिए । नेपाली काँग्रेसले २०७४ को निर्वाचनमा मेयर र उपमेयर जितेर नगरको प्रतिनिधित्व गरिरहेको छ ।
नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत साजवादीबाट योगेन्द्र विष्ट मेयर आकांक्षीको चर्चामा छन् । विष्ट एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसमेत हुन् । शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका विष्ट आगामी निर्वाचनमा मेयर भएर काम गर्ने सोचमा छन् ।
लामो समय शिक्षक पेशामा रही सेवा गरेर आफूले नागरिकको मन जितेको उनको दाबी छ । त्यसैले पनि आफूलाई आगामी निर्वाचनमा नगरवासीहरुले मेयर जिताउने उनको विश्वास छ । उनले भने, ‘मैले शिक्षक भएर लामो समयसम्म नागरिकलाई सेवा सुविधा दिएको छु, त्यसैले आगामी निर्वाचनमा मेयरमा जित्छु भन्ने विश्वास लिएको छु ।’
उनले गठबन्धन गरेर गएमा नगरपालिकामा आफ्नो पार्टीलाई फाइदा हुने बताए । पार्टीले केन्द्रबाटै वार्ता गरेर गठबन्धन गरेमा पनि आफूहरु त्यसमा सहमत हुने उनको भनाइ छ । अन्यथा गठबन्धन नभएमा एक्लै पनि जित्न सकिने उनको दाबी छ । गाउँका जनतामा सही नेतृत्वलाई छान्न सक्ने क्षमता भएको भन्दै आफूले नेतृत्व पाएमा विकासका महत्वपूर्ण काममा जोड दिने बताए ।
नेकपा माओवादी केन्द्र
यता, माओवादी केन्द्रबाट मेयरका आकांक्षी चार जना रहेको बताइन्छ । जसमा नितेश रिमाल, अर्मर विक, रामप्रसाद जौसी र रामबहादुर विक हुन् । यसमा पनि रामबहादुर विक बढी नै चर्चामा देखिएका छन् । कालिकास्थानका विक पार्टी प्रदेश कमिटी सदस्य एवम् क्षेत्रीय संयोजक पनि हुन् ।
सोही नगरमा अघिल्लो चुनावमा तेस्रो बनेकोे माओवादी अहिले पहिलो पार्टी बन्ने स्थानीय माओवादी नेताहरुको दाबी छ । काँग्रेस नेतृत्वबाट नगरवासीहरु असन्तुष्ट भएको भन्दै आफ्नो जीत निश्चित भएको उनीहरुको विश्वास छ ।
पार्टीले निर्णय गरे पञ्चदेवल विनायक नगरपालिकाको मेयरका लागि आफूले उम्मेदवारी दिने विकले बताए । नगरवासीको सेवाको लागि गरेको योगदानका कारण आगामी निर्वाचनमा बहुमतले जित्ने उनको दाबी छ । काँग्रेस जनप्रतिनिधिले पाँच वर्षसम्म गरेको कार्यशैलीबाट आजित नगरवासीहरुले विकल्प चाहेको हुँदा आफ्नो पार्टीले जित्ने उनको अनुमान छ ।
‘पहिले नै भन्न सकिँदैन । यदि पार्टीले मलाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्छ भने म त्यसमा तयार छु । उनले भने, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कामकाजबाट नागरिक सन्तुष्ट छैनन्, विकल्पको खोजीमा छन् । काँग्रेसको सही विकल्प माओवादी नै हो, त्यसैले हामीले जित्ने अनुमान गरेका छौं ।’
काँग्रेसका जनप्रतिनिधिले नगरलाई बेरुजुमा राखेर आर्थिक वर्षको बजेट आफ्नो व्यक्तिगत खर्चमा प्रयोग गरेको उनको आरोप छ । पाँच वर्षको अवधिमा नगरमा कुनै पनि विकासका कार्यहरु नभएको उनले बताए ।
अहिलेका जनप्रतिनिधिप्रति नागरिकको दृष्टिकोण नै फरक भएको भन्दै पञ्चदेवलमा काँग्रेससँग गठबन्धन नगर्ने उनको भनाइ छ । अबको निर्वाचनमा गठबन्धन गर्नेबारे एमालेका स्थानीय तहका नेताहरुसँग छलफल भइरहेको उनले बताए । नगरमा काँग्रेसभन्दा एमालेसँग गठबन्धन गरेमा सक्षम नेतृत्व चयन हुने उनको बुझाइ छ ।
नेकपा एमाले
गत निर्वाचनमा नगरमा दोस्रो पार्टी भएको नेकपा एमालेबाट मेयरका लागि भीमबहादुर विष्टलगायत तीन जनाको नाम चर्चामा छ । तीमध्ये अघिल्लो निर्वाचनमा पराजित मेयरका उम्मेदवार नन्दबहादुर कडायत पनि समावेश छन् ।
यसमा पनि भीमबहादुर विष्टको सम्भावना अधिक रहेको बताइन्छ । विष्टले पनि पार्टीले टिकट दिए आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नगरका अधिकांश वासिन्दाले मेयरमा उम्मेदवारी दिन आफूलाई आग्रह गरेको उनले बताए । अन्य नेताकोभन्दा नगरमा आफ्नो लोकप्रियता धेरै रहेको दाबी गर्दै आगामी निर्वाचनमा जनताको इच्छाअनुसार नेतृत्व लिन तयार रहेको उनी बताउँछन् ।
उनले भने, ‘मलाई नगरका अधिकांशले तपाईंको आवश्याकता छ भन्नुहुन्छ, उहाँहरुमा नगरको नेतृत्व मैले गर्नुपर्छ भन्ने चाहना छ, त्यसमा अन्य नेताकोभन्दा मेरो लोकप्रियता बढी देखेको छु, त्यसैले आगामी निर्वाचनको निम्ति म तयार छु ।’
अघिल्लो निर्वाचनमा पनि मेयरको ‘अफर’ आएको उनले बताए । एकीकृत समाजवादीको केही प्रभाव रहे पनि नगरमा एमालेको जम्बो कमिटी रहेको उनी विश्लेषण गर्छन् । साथै काँग्रेसको अस्तित्व समाप्त भएको भन्दै नगरवासीले अब एमालेको नेतृत्व चाहेको उनले बताए ।
नेपाली काँग्रेस
अरु पार्टीको तुलनामा काँग्रेसबाट मेयरको दाबेदार धेरै देखिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो बनेको उक्त पार्टीमा हालसम्म मेयर आकांक्षीका पाँच जनाको नाम बाहिर आएको छ । जसमा रामबहादुर शाही, ताराप्रसाद खनाल, टंकबहादुर धामी र मानबहादुर शाही छन् ।
यस्तै, नगरको नेतृत्व गरिरहेका देवराज देवकोटा पनि दोहोरिने मनसायमा रहेको उनी निकट एक युवाले बताएका छन् । । उनका अनुसार यो संख्या अझै बढ्न सक्ने अनुमान छ ।
स्वतन्त्र नेतृत्वको अपेक्षा
नगरको विकास र समृद्धिका लागि स्वतन्त्र युवा नेतृत्वको पनि नगरवासीहरुले आवश्यकता महशुस गरेका छन् । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले विकास परियोजनालाई आसेपासेका लागि कमिसन खाने मेसो बनाएकाले नगरवासी असन्तुष्ट भएको बताइन्छ ।
विकासका हिसाबले पिछडिएको अछाम जिल्लाको उक्त नगरमा स्थानीय सरकार आउँदा पनि कुनै सुधार नदेखिएकोमा नागरिकको गुनासो छ । बिजुली बत्ति, खानेपानीको सुविधा नपाएका स्थानीयहरु सबै राजनीतिक पार्टीका नेताहरु उस्तै लाग्ने गरेको बताउँछन् ।
केही युवाले कपिल सिजापतिलाई स्वतन्त्र रुपमा मेयर उठ्न आग्रह गरिरहेका छन् । बौद्धिक, जुझारु, युवा नेता सिजापतिले नगरको नेतृत्व पाएमा नगरवासीका आकांक्षा पूरा हुनसक्ने विद्यार्थी नेता अर्जुन विक्रम शाहीको विश्वास छ । तर, स्वतन्त्र नेतृत्वको चर्चामा रहेका सिजापतिले भने आफू पार्टी र मोर्चाको निर्णयभन्दा बाहिर गएर कुनै उम्मेदवारी नदिने बताए ।
उनले भने, ‘केही युवा साथीहरुले मलाई स्वतन्त्र रुपमा उम्मेदारी दिन भनिरहनु भएको छ । मेरो चाहना पनि कोही आशलाग्दो युवा नै मेयर भइदिए हुन्थ्यो भन्ने छ । तर हाम्रो पार्टी र मोर्चा चुनावमा नजाने सम्भावना बढी देखिन्छ । चुनावबाट जनचाहना पूरा नहुने कुराको पुष्टि पनि भइसक्यो । त्यसैले मेरो उम्मेदवारी नरहन सक्छ ।’
उनले काँग्रेसका काला कर्तुतविरुद्ध कुनै आशालाग्दो उम्मेदवारलाई जिताउन आफूले भूमिका खेल्ने जनआस्थासँगको कुराकानीमा बताए ।
टिप्पणीहरू