हुलाकमा भ्याइनभ्याइ, सुविधा बढाउन हेलचेक्र्याईं

हुलाकमा भ्याइनभ्याइ, सुविधा बढाउन हेलचेक्र्याईं

पहिले इन्टरनेट नभएको समयमा एक ठाउँका मानिसले अर्को ठाउँकालाई खबर आदान प्रदान गराउने माध्यमका रुपमा हुलाकको जन्म भएको इतिहास पाइन्छ ।

नेपालमा पनि तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भएपछि नेपालमा हुलाक सेवा औपचारिक रूपमा सुरु भएको हो ।

तीन दशक अघिको मात्रै कुरा गर्ने हो भने पनि हुलाकी पसेपछि गाउँ होस् या सहर सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । अहिले भने इन्टरनेट र सूचना प्रविधिको पहुँच सहरदेखि गाउँसम्म पुगेका कारण व्यक्तिगत प्रयोेजनका चिट्ठीपत्र आदानप्रदान हटेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको हुलाक सेवा विभागका अनुसार अहिले मुलुकभर ७० वटा जिल्ला हुलाक कार्यालय, ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक कार्यालय गरि ३ हजार ९ सय ९७ शाखा कार्यालय सञ्चालनमा छन् ।

तर, समयअनुसार प्रविधि र सुविधा फेरिँदै जाँदा, सबैका हातमा मोबाइल तथा इन्टरनेटको पहुँचले देशका अधिकांश हुलाक कार्यालय भने प्रयोगविहीन अवस्थामा छन् ।

स्काइप, ह्वाट्सएप, फेसबुक, भाइबर, वी च्याट्लगायत सामाजिक सञ्जाल र नयाँ प्रविधिले भौगोलिक दूरीलाई मेटाइदिएको छ । यी प्रविधिका कारण पनि हुलाकको महत्व घट्दै र हुलाक सेवाको प्रयोग कम हुँदै गएको हो ।

देशभरका धेरै हुलाकघर प्रयोगविहीन भइरहेका बेला यता ललितपुरको पाटनढोकास्थित जिल्ला हुलाक कार्यालयमा भने कर्मचारीहरुलाई भ्याइनभ्याइ छ ।

करिब साढे दुई आनाको जग्गामा रहेको नौ कोठे भवनमा हुलाक सेवा प्रदान गरिएको छ । कर्मचारीहरुका अनुसार उनीहरुलाई कार्यालयको समय १० बजेदेखि ४ बजेसम्म भ्याइनभ्याइ हुने गरेको छ ।

कार्यालयले हाल चिठ्ठीपत्र, द्रुत डाँक सेवा (ईएमएस), एफएमको लाइसेन्स नवीकरण देखि लिएर हुलाक बचत बैंकसम्म सबै सेवा प्रवाह गर्दै आएको छ । त्यसैगरी कार्यालयमा एक सय ५० पोष्ट बक्स राखिएका छन् ।

हप्ताको छ दिन काम हुने उक्त कार्यालयमा कोरोनाका कारण कतार, दुबई, मलेसियाका लागि मात्र सेवा प्रवाह भइरहेको छ । अन्य मुलुकका लागि सेवा बन्द गरिएको छ ।

करिब चार दशक अघि स्थापना भएको उक्त कार्यलयमा औसतमा दैनिक ६० हजारदेखि एक लाख थानसम्म टिकट बिक्री हुने गरेको छ । यस्तै एक आर्थिक वर्षमा ८० देखि एक करोड रुपैयाँसम्म टिकट बिक्रीबाट उठ्ने गरेको छ ।

केहि दशकअघि एकजना हुलाकीको भागमा एक दिनमा ५० किलोका दुई बोरामा चिठ्ठीपत्र कोचिएर आउने गरेको कार्यालयमा अहिले जमाना फेरिएसँगै सरकारी कार्यालय र व्यक्तिबाट गरेर दैनिक ५ सयवटा चिठ्ठीपत्र आउने गरेको छ ।

कार्यालयमा अनलाइन डेलीभरीदेखि बुक पोष्ट समेत आउने गरेको छ । दैनिक ६ देखि ७ सयसम्म बुक पोष्ट गर्न ग्राहकहरु आउने गरेको कार्यालयले जनाएको छ । यसमा पनि कोरोनाले असर गरेको बताइन्छ । महमारी नभएको भए यसमा अझ वृद्धि हुने कर्मचारीको आकलन छ ।

त्यसैगरी भ्याइनभ्याइ भएको बेलामा प्रेषकले स्पष्ट रूपमा ठेगाना नलेखिदिँदा आफूहरुलाई गाह्रो हुने गरेको कार्यरत एक कर्मचारीले बताए ।

उनका अनुसार त्यस्ता चिठ्ठीपत्रहरु सात दिनसम्म नफर्काइ राखिदिने नियम भए पनि आफूहरुले १५ दिनसम्म राखिदिने गरिएको छ । तर, ग्राहकले उल्टै कर्मचारीलाई दोष लगाउँदै कार्यालयमा आएर गालि गलौजमा उत्रिँदा दुःख लाग्ने गरेको पनि बनाए ।

उनी भन्छन्, ‘स्पष्ट रूपमा ठेगाना, नाम नलेखिएका चिठ्ठीपत्रहरु हामीले सात दिनसम्म राख्ने हो तर पनि कतिको १५ दिनसम्म पनि राखिदिने गरेका छौं । तर पनि कतिपय त आएर धम्काउने गर्छन् ।’

यस्तै अहिले ३५ जना कर्मचारी रहेको कार्यालय भवन सानो भएको कर्मचारीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको हुलाक सेवा विभागले जग्गा भेटिए भवन निर्माण गर्न मद्धत गर्ने बताए पनि पायक पर्ने ठाउँमा जग्गा पाउन नसक्दा न कार्यालय सार्न सकिएको छ, न राम्रोसँग सेवा प्रवाह गर्न ।’

यता करार कर्मचारीका हकमा भने अहिले सरकारले १३ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । महँगीको तुलनामा तलब न्यून भएको र यसले आफूहरुलाई दैनिकी धान्न धेरै गाह्रो भएको सम्बन्धित कर्मचारीले बताएका छन् ।

उनीहरु भन्छन्, ‘हाम्रो काम यहाँ रहेका स्थायी कर्मचारीअनुसार नै छ । तर, हामीलाई तलब अति नै थोरै छ । मन्त्रालयदेखि विभागसम्म धायौं तर महँगी बढेको बढ्यै छ तलब भने बढेन ।’

टिप्पणीहरू