गल्ली–गल्लीमा चुनाव प्रचार सामग्री छ्याप्छ्याप्ती

गल्ली–गल्लीमा चुनाव प्रचार सामग्री छ्याप्छ्याप्ती

देशमा चुनाव आउन पुग नपुग एक महिना बाँकी छ । तर, काठमाडौँका मुख्य व्यापारिक केन्द्र बागबजारदेखि बिजुलीबजार र कालिमाटीसम्मका गल्लीलाई चुनाव प्रचार सामग्रीले छपक्कै छोपेको छ ।

विभिन्न राजनीतिक दलका चुनाव चिन्ह अंकित प्रचार सामग्रीको छपाई सिध्याएर बागबजार र बिजुलीबजारका मुद्रण व्यवसायीहरु अहिले बिक्री गर्ने तयारीमा छन् ।

दुई करोडभन्दा बढी लगानी

बागबजारमा अवस्थित सयभन्दा बढी स्क्रिन प्रिन्ट व्यवसायीले विभिन्न राजनीतिक दलका चुनाव चिन्ह अंकित प्रचार सामग्री उत्पादन गरिसकेका छन् । सोही प्रचार सामग्रीमा उनीहरुले दुई करोडभन्दा बढी लगानी गरेको बताएका छन् । तर अहिलेसम्म राजनीतिक दलका ठिक्क पारिएका प्रचार सामग्री बिक्री भएका छैनन् । यसबाट उल्टै जोखिम बढेको व्यवसायीहरुको आशंका छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन तालमेल गरेर चुनावमा होमिएका कारण मुद्रण गरिएका विभिन्न दलका प्रचार सामग्री त्यतिकै खेर जाने खतरा बढेको हो । तर, व्यापारीले भने सबैका चुनाव चिन्ह भएका सामग्री छाप्न भ्याइसकेका छन् ।

उता, नेकपा एमालेसँग तालमेल गर्ने खबर बाहिएिपछि राप्रपा र राप्रपा नेपालको चुनाव चिन्ह अंकित प्रचार सामग्री छाप्न बन्द गरेका छन् । २०७४ को निर्वाचनअन्तर्गत दोस्रो र तेस्रो चरणका निर्वाचनमा तडकभडकपूर्ण प्रचार शैली बढेको भन्दै निर्वाचन आयोगले टिशर्ट, क्याप र ब्याचको प्रयोगमा रोक लगाएको छ । तर, व्यापरीहरुले अहिले तयार पारेका प्रचार सामग्रीमध्ये सबैभन्दा बढी लगानी टिशर्ट, क्याप र ब्यामा गरेका छन् । उनीहरुले हतारमा त्यस्ता सामाग्री छापेका कारण आयोगले रोक लगाएका प्रचार सामग्री बनाउँदा लाखौंको व्यापार खेर जान सक्ने सम्भावना बढेको हो ।

कुन पार्टीको चुनाव चिन्हको मूल्य कति ?

पियुष प्रिन्टिङ प्रेसले एकीकृत समाजवादीको १२ गुणा १८ इन्चको झण्डालाई १६ रुपैयाँ तोकेको छ भने अर्का व्यवसायी दिनेश थापाले त्यही झण्डालाई १७ रुपैयाँ तोकेका छन् । यस्तै, दिलु श्रेष्ठको गोल्ड प्रिन्टले उक्त झण्डालाई १५ रुपैयाँमा दिने बताए । यदि अर्डर बढी आएमा उनले १२ रुपैयाँसम्ममा दिन सक्ने बताएका छन् ।

यसबाहेक चुनाव चिह्न अंकित टिशर्ट, टोपी र ब्याचका मूल्य पनि व्यापारीहरुले फरक फरक तोकेका छन् ।

२०७० र २०७४ सालको चुनावमा निर्वाचन प्रचार सामग्री बेचेर १० लाख आम्दानी गरेका निवेश आर्टका श्याम तण्डुकार यस पटकको निर्वाचनमा अलि सुस्ताएका छन् । उनी बागबजारका प्रिन्टिङ व्यवसायीमध्ये पुराना व्यक्ति हुन् । ‘मैले विगतका निर्वाचनमा यस्तै सामग्री बेचेर २० लाख रुपैयाँसम्म कमाएको छु, उनले भने, ‘अब छोराले यो काम गर्छ, म त अलि बुढो भइसकेको छु । पहिला जस्तो काम गर्न पनि सक्दिनँ ।’

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म डेस्कटप डिजाइनिङमा सक्रिय दिनेश थापाले यस पटकको चुनावमा प्रचार सामग्रीको व्यापार गर्ने निर्णय गरेका छन् । विगतको चुनावमा यी सामग्री बेचेर उनले १८ लाख आम्दानी गरेपछि यस पटकको निर्वाचन हुने पक्का भएपछि उनले अनामनगरमा रहेको डेस्कटप अफिस नै बन्द गरेर बागबजारमा स्क्रिन प्रिन्टको काम गर्न थालेका हुन् ।

उनले एकीकृत समाजवादीको १२ गुण १८ साइजको झण्डालाई १७ रुपैयाँमा बेच्दा एमालेको त्यही साइजको झण्डाको मूल्य भने २० रुपैयाँ तोकेका छन् । त्यसको कारण कलम बनाउँदा कम र सूर्य बनाउँदा बढी मसी खर्च हुने भएकाले हो । त्यही साइजमा नेपाली काँग्रेसको झण्डा र चुनाव चिन्ह बनाउँदा अझ महँगो हुने उनको भनाइ छ ।

काँग्रेसको चुनाव चिन्ह बनाउँदा झन् महँगो हुनुको कारण पनि रुखमा बढी मसी लाग्नु र चारतारे झण्डामा पनि थप मसी खर्च हुनु हो । यस्तै, नेकपा माओवादी केन्द्रको १२ गुणा १८ साइजको झण्डालाई पनि १७ रुपैयाँसम्म बेच्ने तयारी भएको उनले सुनाए ।

पियुष प्रिन्टिङका उमेशबाबु श्रेष्ठले आगामी चुनावका लागि मुख्यतः नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रचार सामग्री बनाएर तयार पारि सकेका छन् । यसमा उनले करिव १५ लाख रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । तर, ती सामाग्री बिक्री हुन थालेका छैनन् ।

यस्ता प्रचार सामाग्री प्रायः मनोनयन दर्तापछि मात्र बिक्री हुने उमेशबाबुको अनुभव छ । ‘अहिले बनाएर राख्ने हो, अर्डर आउनासाथ हामी सप्लाई गरिहाल्छौँ, उनले भने, ‘यसमा मैले १५ लाख लगानी गरेको छु, अब हेरौँ कतिको व्यापार हुन्छ ।‘

चुनाव लागेपछि हुने स्क्रिन प्रिन्टको व्यापार देखेर अफसेट प्रेस चलाउने केदार अधिकारी पनि आकर्षित भएका छन् । ’मैले पनि यही काम गर्न थालेको छु,’ उनले भने, ‘यदी कसैलाई आवश्यक भएमा म पनि यस्ता सामान सप्लाई गर्न तयार छु ।’

टिप्पणीहरू