गुरुले छात्रा जिस्क्याएपछि आन्दोलन

गुरुले छात्रा जिस्क्याएपछि आन्दोलन

हरेक समाजले शिक्षकलाई सम्मानित व्यक्तिका रुपमा लिने गर्छ । ‘शिक्षक’ आफैँमा सम्मानित शव्द हो, जसले मान्छेले शीर झुकाउँछ । तर, शिक्षक आफ्नो मर्यादामा रहँदामात्रै ऊप्रतिको सम्मानले शीर झुक्ने हो । जब शिक्षक शव्दकै अपमान हुने गरि कसैले गलत हर्कत गर्छ भने त्यहाँ घृणा जाग्छ र मान्छे आक्रोशित हुन्छ ।

पछिल्लो समय शिक्षकहरुबाटै विद्यालयका छात्राहरु असुरक्षित रहनुपरेका थुप्रै घटना बाहिरिने गरेका छन् । जसका कारण असल शिक्षकहरुलाई पनि समाजले शंकाको नजरले हेर्ने गर्छ । नवलपरासीको गैँडाकोटमा एकजना शिक्षकले त्यसैगरी अमर्यादित हर्कत देखाउँदा स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका छन् । आन्दोलनले विद्याको मन्दिर मानिने विद्यालय केहीबेर रणसंग्राममा परिणत भएको थियो ।

आफैँले पढाउने एक छात्रालाई शिक्षक कपिल घिमिरेले अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका हुन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुकाे आरोप छ । विद्यार्थीहरुले शिक्षक घिमिरेलाई कडा कारबाही गर्न माग पनि गरेका छन् ।

आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । जसका कारण विद्यालय र राजमार्ग क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन् । ‘इन्सपेक्टर प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन् । उता कति जना घाइते भए जानकारी आएको छैन,’ उनले भने ।

आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको छ । विद्यार्थीका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन दुई पक्षबीच छलफल हुँदै आएको थियो ।

टिप्पणीहरू