फूलको आँखामा फूलै संसार : सडकपेटीमा व्यवसाय गर्नेको जीवन

फूलको आँखामा फूलै संसार : सडकपेटीमा व्यवसाय गर्नेको जीवन

काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस छिर्ने कुनोमा एक जना युवकको दैनिकी जुत्ता चप्पल सिउने र पालिस गर्ने रहेको छ । चैत वैशाखको चर्को घाम होओस् वा मंसिर पुसको जाडो उनी सँधै हातमा धागो र सियो बोकेर सडक पेटीमा बसेका हुन्छन् । उमेरले २८ वर्ष पूरा गरेका उपेन्द्रराम सर्लाही जिल्लाबाट काठमाडौं आएका हुन् । उनले सडक पेटीमा आफ्नो दैनिकी शुरु गरेको झण्डै १८ वर्ष पुगेको छ ।

उनी जस्तै हजारौं युवालाई अहिले स्वदेशमा रोजगारीको अभावमा विदेश जानु पर्ने बाध्यता छ । परिवारको जिविकोपार्जनको निम्ति विदेशमा रातदिन पिल्सिनु पर्ने पीडादायी अवस्थाभन्दा बरु आफ्नै देशको सडकपेटीमा जुत्ता चप्पल बनाउने र पालिस गर्ने कामले उनलाई सन्तुष्टि दिएको बताउँछन् ।

‘मलाई गाउँघरका धेरैहरुले विदेश जान सल्लाह दिए, अझै पनि दिँदैछन्,’ उनले भने, ’उहाँहरु यस्तो युवा उमेरमा पनि सडक पेटीमा बसेर कति दिन पुग्छ ? भन्नुहुन्छ तर, मलाई अर्काको देशमा रातदिन पिल्सिनु पर्ने पीडादायी अवस्थाभन्दा यो कामले नै सन्तुष्टि दिइरहेको छ । त्यसैले मलाई विदेश जान मन लागेको छैन ।’

कुनै पनि कामलाई सानो वा ठूलोको रुपमा तुलना नगर्ने उनी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । उपेन्द्ररामा नेपालीहरुको कामप्रति हेर्ने कमजोर दृष्टिकोणकै कारण धेरै युवा बेरोजगार भएको बताउँछन् । ’मलाई कुनै पनि काम सानो वा ठूलो भन्ने लाग्दैन्, जुनसुकै काम पनि गर्न तयार हुनुपर्छ । तर, अहिलेका युवा आफ्नै देशमा बसेर घरको काममा समेत रुची देखाउँदैनन् । त्यही कारण मलाई धेरै युवा बेरोजगार भएका हुन की भन्ने लाग्छ,’ उनी अगाडि भन्छन्, ’एक त नेपालीहरुको कामप्रति हेर्ने दृष्टिकोण नै कमजोर लाग्छ । ’

जुत्ता चप्पल बनाउने र पालिस गर्ने काम उनले दाईबाट सिकेका हुन् । दैनिक पाँच सयदेखि छ सय रुपैयाँसम्म कमाउने उनको अनुभव छ । पहिलेदेखि नै दाजुभाई मिलेर उक्त काम गरिरहेको उपेन्द्रराम बताउँछन् । सिजनअनुसार घर नजिकैका जग्गामा कृषीबालीहरु लगाउनु पर्ने भएकाले पालैपालो दाजुभाईले उक्त काम पनि गर्दै आएका छन् । यतिखेर दाइ सर्लाही गएका छन् ।दाई भाउजु र उनीहरुका तीन जना सन्तान, बुबा र आफू गरि उपेन्द्ररामको परिवारमा सात जना छन् । आमाको केही वर्षअघि काठमाडौँको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको दुःखद् कुरो पनि जनआस्थासँगको कुराकानीको क्रममा सुनाए । जुत्ताचप्पल सिलाएर भए पनि पैसाको अभाव कहिले महशुस नगरेका उनलाई आमा बचाउन नसक्दा अहिले पनि पछुतो लागेको बताउँछन् ।

यही कमाइबाट आफ्नो सात जनाको परिवारलाई हाँसीखुशी पालिएको उनले सवर्ग बताए । पुतलीसडकमा साथीहरुसँग डेरामा मिलेर बसेका उनले कमाएको आधा आम्दानी घर परिवारको लागि छुट्ट्याउने गरेका छन् । हरेक महिना घर परिवारको आवश्यह खर्च पठाउने गरेको उनी बताउँछन् ।

’दाजुभाउजु र छोराछोरी, बुबा र म गरि सात जनाको परिवार छ । अहिले उनीहरु सबैलाई मैले नै हेर्नुपर्छ । यसबाट कमाएको आधा पैसा उनीहरूका लागि छुट्टाउन म कहिल्यै बिर्सिन्नँ । उनीहरुलाई मासिक खर्च यतैबाट पठाउने गरेको छु’, उनले भने, ’यसबाटै कमाएर हामी सबैलाई पुगेको छ । तर, मैले आमालाई बचाउन सकिन । त्यो सम्झेर दुःख लाग्छ ।’

सानै उमेरदेखि घर परिवारको दुःख महशुस गरेका उनले सडकपेटीमा बसेर भए पनि सर्वसाधारणको चित्त बुझाउने काममा पछि हटेका छैनन् । जुत्ताचप्पल सिलाउन आउने विभिन्न किसिमका ग्राहकसँगको अनुभवले उनलाई झन् अनुभवले खारिदिएको छ । आफ्नोमा आउने नियमित ग्राहकमध्ये एक माननीयलाई उनी सँधै सम्झन्छन् । उनले ती माननीयको परिचय लुकाएरै भने, ‘एक जना रापेछापको माननीय हुनुहुन्छ, मैले उहाँको जुत्ता पालिस गरे वापत ५० रुपैयाँ माग्छु, तर उहाँले मलाई सँधै दुई, तीन हजार दिएर जानुहुन्छ । उहाँ मैले सम्झिरहने ग्राहकमा पर्नुहुन्छ।’

उनले १८ वर्षको समयमा ती माननीय जस्तै राम्रा मान्छे मात्रै भेटेका छैनन् । कोही नानाथरी गालीगलौज गरेर पैसा नै नदिएर जाने ग्राहकको पनि सामना गरेका छन् । आफ्नो अनुभाव सुनाउँदै उनले भने, ‘मैले यो काम थालेको १८ वर्ष भयो । यसबीचमा धेरै मान्छेलाई चिनेको छु । कोही राम्रा भेटिए, कोही नराम्रा,’ भन्दै उपेन्द्रराम थप्छन्, ‘मैले केही ग्राहकको चप्पल, जुत्ता सिलाए वापत पाउनु पर्ने पैसा माग्दा पनि नानाथरी गाली पाएको छु । कसैले त बार्गेनिङ गरेर यति मात्रै दिन्छु भनेर पनि जाने गरेका छन् । उनीहरु हाम्रो यो रहर होइन, बाध्यता हो भनेर कहिल्यै बुझ्दैनन् ।’

पहिलेको भन्दा अहिले जुत्ता पालिसबाट धेरै आम्दानी हुन थालेको उनको अनुभव छ । अहिले एक जोर जुत्ता पालिस गरेको ५० देखि ६० रूपैयाँसम्म लिन्छन् । एक जोडी चप्पल सिलाएको एक सय रुपैयाँ तोकेका छन् । यही कामको लागि उनी बिहान सात बजे डेराबाट निस्कन्छन् र बेलुकी सात बजे अगाडि मुश्किलले कोठामा पुग्छन् ।

सडकमा बसेर जुत्ता चप्पल बनाउने र पालिस गर्नेको दैनिकी अन्य युवकको भन्दा फरक छ । जथाभावी बरालिएर हिँड्नुभन्दा बाटोमै बसेर दुई चार सय कामउनु राम्रो हुने उनका सुझाव छ । २८ वर्षका अविवाहित उपेन्द्र आफूलगायत सडक पेटीमा गुजारा गर्ने सबैलाई सरकारको साथ आवश्यक रहेको बताउन पछि हट्दैनन् । त्यहि बारे प्रष्ट पार्दै उनले भने, ’काठमाडौंको भीडभाड त्यसमा पनि हामीहरुको बाटोमा पसल राख्न निकै गाह्रो छ । यदाकदा नगर प्रहरीले हैरान गराउँछ । नगर प्रहरीले एक पटक समाते १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । हाम्रो दैनिक कमाइ जम्मा पाँच सय हुन्छ । कसरी यत्रो पैसा तिर्नु ? सरकारले गतिलो ठाउँमा राखेर हाम्रो कमाइ गर्ने पेशालाई बचाइदिए हुन्थ्यो ।’यता, उनी जस्तै काम एउटै तर, भोगाइ केही फरक भएका महोत्तरीका रामनारायण राम काठमाडौंको प्रदर्शनीमार्गमा जुत्ता चप्पलको काम गर्छन् । उनले राजधानीका सडक पेटीमा यो काम गर्न थालेको ६० वर्ष भइसकेको छ । रामनारायणलाई पनि यो कामलाई कहिलेसम्म निरन्तरता दिने भन्ने कुनै ठेगान छैन । उनी छ छोरी र एक छोराका बाउ हुन् । तीमध्ये दुई छोरी र छोराले बिहे गरिसकेका छन् । उनका सबै परिवार महोत्तरीकै गाउँम कृषि कर्म गर्छन् ।

गाउँको खेतीले ठूलो परिवारलाई वर्षभरि खान पनि पुग्दैन । उनले जसोतसो जुत्ताचप्पल सिलाएर गुजारा गरेको बताउँछन् । त्यसो त जुत्ता चप्पलबाट कमाएको पैसाले आएको छोरालाई १२ कक्षा सम्म बढाएका छन् । तर पैसाकै अभावमा छोराको पढाइ त्यसपछि अघि बढ्न नसकेको उनले दुःख मान्दै जानकारी दिए ।

अहिले उनका छोरा गाउँमा बसेर घर परिवारको हेरविचार गरिरहेका छन् । मलिन अनुहार लगाउँदै भने, ’हाम्रो आर्थिक अवस्था कमजोर छ, त्यसमा पनि ठूलो परिवारले गर्दा म एक्लो बुढो मान्छेले यही काम गरेर गुजारा टार्दै आएको छु । छोरालाई बाँकी पढाउन पनि सकिएन, १२ कक्षासम्म पढाएको छु ।’

अब बुढ्यौली उमेरतर्फ लागेका उनलाई सडकपेटीको जीवन निकै रमाइलो लाग्ने गरेको अनुभव सुनाए । हँसिलो हुँदै उनले भने, ’सासले जबसम्म साथ दिन्छ तबसम्म यो कर्म छाडिँदैन । जानेको यो काम पनि नगरे कसले खान दिन्छ ? त्यसमा म बुढो भइसकेँ अरू काम गर्न सक्दिनँ । अब यही सडक पेटीको काम राम्रो लाग्न थालेको छ ।’

टिप्पणीहरू