कस्तो उल्टो जमाना आइलाग्यो बरिलै
युरोप, अमेरिका तथा एसियाकै पनि भारत र नेपालमा बाहेक अन्य देश कतै पनि आफ्नो राजनीतिक सिद्धान्त, विचारधारा तथा यसका नैतिक मूल्य–मान्यताको फजियत (हिन्दी शब्द हो) गरेर, तारतार (हिन्दी शब्द हो) लगाएर केवल सत्तामा सामेल हुन जीवनको महत्वपूर्ण समय खर्च गरी निर्मित दल फेर्ने गरेको देखिन्न, सुनिन्न ।
भारतमा यस्तो देखिन्छ । विधान सभामा निर्वाचित विपक्षी दलका पूरै सदस्य खरिद गरेर जम्मा एक सिट जितेको भाजपाले बहुमत पु¥याई बनाएको सरकार आजका मितिमा पनि त्यहाँ अस्तित्वमा छ । नेपालमा पनि दलबदल गर्ने काम भएको छ र यो लगातार बढ्दो छ । कानुनी प्रावधानले यस्तो गर्न सक्ने अवस्था रहिरह्यो भने भोलि नेपालमा पनि हुने यस्तै हो । एकथरी पदका भोका र अर्कोथरी पैसाका भोका सर्वत्र छन् ।
यी दुईथरी तत्वले नै आ–आफ्ना स्वार्थ पूरा गराउन यस्तो हुन सम्भव गराउनेछन् । र, यो कसरी सम्भव हुन सक्छ भने मुख्य धाराका राजनीतिक दल र त्यहाँभित्र रहेका खासखास मान्छेले चुनाव जित्ने, चुनावलाई प्रभावित पार्ने तथा विपक्षी दलका सदस्यलाई तान्ने उद्देश्यले विभिन्न तरिकाले अकुत धन संकलन गरिरहेका छन् । तिनीहरूसँग कति धन छ अनुमान गर्न पनि मुश्किल छ भने पैसा र पदको निम्ति जेसुकै गर्न सक्ने स्वार्थीहरू हरेक दलभित्र धेरै धेरै छन् ।
यहाँ अर्को डरलाग्दो कुरा के छ भने मुख्य धाराका राजनीतिक दलले आफ्ना कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर यसरी तयार पारिरहेका छन् कि तिनीहरूको मनमा, दिमागमा चुनाव जित्नु नै सिद्धान्त, विचार, नैतिकता, इमानदारी हो, जितेपछि सबै ठीक हुन्छ त्यसकारण चुनाव जित्नु नै राजनीति हो भन्ने भान परिसकेको छ । यिनीहरूलाई अरू कुरा सुन्नै नचाहने, नसक्ने असहिष्णु बनाइसकिएको छ ।
अहिले कलेजमा, युनिभर्सिटीमा अथवा हाइस्कुलमै पनि अध्ययन गरिरहेका विद्यार्थीले विचारधारात्मक राजनीतिबारे के सोच्दा हुन् म यकिनसाथ भन्न सक्दिनँ । किनभने अहिले निरंकुश राजतन्त्र छैन । तानाशाही व्यवस्था पनि छैन । हाम्रा संवैधानिक हक, अधिकार खोसिएको अवस्था पनि होइन यो । त्यस्तो खाले व्यवस्था कस्तो हुन्छ र किन सोको विरोध गर्नु आवश्यक हुन्छ भनेर जान्न उनीहरूले न त्यसखाले आन्दोलन देखे–भोगे, न त तिनीहरूलाई त्यो किसिमको प्रशिक्षण दिइन्छ, पढाइन्छ ।
त्यसकारण यो पुस्तामा यस्ता कुरामा उदासीनता रहन सक्छ । तर, हामी र हामीभन्दा अघिल्लो पुस्ताको नेतृत्व तथा कार्यकर्ता त माथिका सबै चरित्र भएको व्यवस्था व्यहोरेर हुर्किएको र आन्दोलनमा भाग लिएको पुस्ता हो । हाम्रो यही पुस्ताको नेतृत्व अहिले चुनाव जितेर आफू सत्तामा पुग्न सकिन्छ भने जस्तोसुकै विचारधारा बोकेको, जस्तोसुकै पृष्ठभूमिबाट आएको किन नहुन् तिनीहरूसँग घाँटी जोड्ने, तिनीहरूलाई हुल्ने र टिकट दिने अनि तिनीहरूको सहयोगमा चुनाव जित्ने चाहाना राखेर काम गरिरहेको छ ।
तिनीहरू जसले हाम्रा अग्रज कमरेडहरूको कत्लेआम गरे, जसले हाम्रा साथीहरूको नाकको डाँडी भाँचे तिनीहरूलाई साथ लिएर, तिनको सहयोग लिएर सत्तामा पुग्ने ख्वाव देखिरहेको छ । झट्ट हेर्दा ए हो त नि मुख्य कुरा भनेको त चुनावमा जितेर सरकार बनाउने नै हो, सत्तामा नपुगी केही गर्न सकिन्न भन्नेजस्तो देखिन्छ । तर, गहिरिएर हेर्दा यस्तो किमार्थ होइन, यसले राजनीतिको भ्रष्टीकरण नै गर्नेछ ।
राजनीतिक दल भनेको उस्तै विचारधारा बोक्ने मानिसको समूह मिलेर बनेको संगठन हो । यसको उद्देश्य आफूले अँगालेको विचारधाराले निर्दिष्ट गरेअनुसार संगठन बनाउने, तदनुसार जनतालाई गोलबद्ध गर्ने र त्यही कुरा जनतालाई बताएर चुनाव जित्ने र सोही आधारमा राज्यसत्ता सञ्चालन गर्ने हो । राजनीतिमा हिन्दू राज्य माग गर्ने र साम्यवादी शासन व्यवस्थाको वकालत गर्नेहरूको बीचमा कुनै साझा मुद्दा हुन सक्छ शत्रु देशसँग युद्ध हुने परिस्थितिमा बाहेक ? नवउदारवादी अर्थव्यवस्थाको हिमायती र समाजवादी अर्थ व्यवस्था मान्नेहरूको बीचमा कहाँनिर मिल्छ लक्ष्य ? जातीय राजनीति गर्ने र समाजवादी राजनीति गर्नेहरूको राजनीतिक कमन प्वाइन्ट केही हुन सम्भव हुन्छ ? यसको कुनै जवाफ छैन । नहुने कुराको जवाफ हुने कुरा पनि भएन ।
आजको मितिमा सबै नै दलहरूको उद्देश्य चुनाव जित्ने र सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य देखिन्न । सबैभन्दा छिटो उठेर गिट्टी कुट्न जाने गरिब मजदुर र जीविकाको निम्ति दिनभरि यता र उता भट्किएर सबैभन्दा ढिलो विस्तरामा पुग्ने गरिबबारे कुनै कुरा छैन । पेट्रोल, डिजल र खाद्यान्नको आकासिँदो मूल्यबारे कुनै कुरा छैन, बेरोजगारीबारे कुनै बहस छैन । यिनीहरूको निम्ति यस्ता विषय बकवास लाग्छन् । भाषण, छलफल र आपसी सल्लाह त कुन–कुन पार्टीसँग मिलेमा चुनाव जितिन्छ, कुन–कुन मान्छेले चुनाव जित्न सक्छ भन्ने विषयमा मात्रै हुन्छ ।
यो हददर्जाको गैरसैद्धान्तिक, गैरराजनीतिक, अलोकतान्त्रिक राजनीतिक बाटोमा देशलाई हिँडाएर देशमा के गर्न खोजेका छन् हाम्रा दलले, त्यसकारण दलको नेतृत्वले ? आजैभोलि त यसखाले राजनीतिको नकारात्मक असर देखा परिहाल्दैन । तर, यसको डरलाग्दो मूल्य हामी पछाडिको पुस्ताले अवश्य तिर्नुपर्नेछ । यस्तो राजनीति भनेको पैसाको बलमा व्यक्ति खरिद गरेर भए पनि सत्तामा पुग्ने राजनीति हो ।
पैसा र शक्तिको बलमा गरिने यस्तो राजनीतिले अन्ततः सीमित व्यक्तिको हातमा पार्टी सत्ता र राज्यसत्ता सुम्पिएर निरंकुश सत्ता स्थापना गराउन सहयोग गर्नेछ । समयमै बुद्धि नपु¥याउने हो र देशको राजनीतिलाई यो डरलाग्दो दिशातर्फ जानबाट रोक्न नसक्ने हो भने हाम्रो अग्रज पुस्ताले गरेको आन्दोलन, त्याग र बलिदानको कुनै अर्थ रहने छैन । साथसाथै म जोड दिएर सबैलाई सचेत गराउँदै के भन्न चाहन्छु भने हाम्रा अग्रजले पु¥याएको योगदानलाई इतिहासको पानाबाट पनि हटाउने काम गरिनेछ जसरी अहिले भारतमा मोदी सरकारको नेतृत्वमा भइरहेको छ ।
आजैबाट बोलौं सबै मिलेर, आज नबोले भोलि बोल्न नसकिने समयमा हुनेछौं हामी र त्योबेला पछुतो गरेर थै थै भन्नुको कुनै अर्थ रहनेछैन ।
टिप्पणीहरू