पाँच वर्षभित्र यो चुनावले पार्ने प्रभाव

पाँच वर्षभित्र यो चुनावले पार्ने प्रभाव

राष्ट्रियसभाको माननीय चयनदेखि पाइलापाइलामा प्रभाव पार्ने स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय राजनीतिको आगामी शक्ति सन्तुलनमा हेरफेरको संकेत गरेको छ । ०७४ सालको निर्वाचनमार्फत दलहरूलाई प्राप्त हैसियतमा ठूलो फेरबदल आउने देखिएको छ । २९६ पालिकामा प्रमुख जितेर पहिलो शक्ति बनेको नेकपा एमालेले यसपटक दोस्रो स्थानमा चित्त बुझाउनुपर्ने प्रष्ट चित्र आइसकेको छ भने नेपाली कांग्रेस नतिजामा उल्लेख्य सुधार गर्दै आफूलाई पहिलो पार्र्टीका रुपमा स्थापित गर्न सफल भएको छ । नेकपा माओवादी केन्द्र निर्णायक तेस्रो शक्तिका रुपमा आउने निश्चितजस्तै छ ।

देशभरिको अवस्था हेर्दा मुख्यतः पाँचदलीय गठबन्धन गरेर चुनावमा जाने निर्णयले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो फाइदा पु¥याएको देखिएको छ । स्थानीय चुनावले स्थानीय सत्ता सञ्चालनका लागि प्रतिनिधि चयनमात्रै गर्दैन । यसैको हार–जितले राष्ट्रिय राजनीतिमा पनि प्रत्यक्ष प्रभाव पार्छ । स्थानीय तहका जनप्रतिनिधि राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता पनि हुन् । साथै, आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा पनि अहिलेको निर्वाचन परिणामले एक हदसम्म प्रभाव पार्छ नै । प्रदेश र संघमा यहि मतको प्रतिविम्ब आउने हो ।

राष्ट्रिय शक्ति सन्तुलन मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा पनि यसको प्रभाव रहन्छ । शक्ति राष्ट्रहरूले ‘पावर’लाई नै ’ब्याकिङ’ गर्ने हो । त्यसैले राजनीतिक दलको जति पावर छ त्यहि मात्रामा ती शक्तिले व्यवहार गर्छन् । ०६४ सालमा माओवादी पहिलो पार्र्टी हुँदा ऊप्रतिको राष्ट्रिय–अन्तर्राष्ट्रिय आकर्षण जति थियो, आज छैन । दुई तिहाइ जनमतको नेतृत्व गर्ने नेकपा हुँदा जुन स्तरमा मान्छेको अपेक्षा हुन्थ्यो आजको एमाले वा माओवादीसँग त्यो हैसियत छैन ।

भनिन्छ, ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटनको कदम चाल्दा तिनै शक्तिको ‘ब्याक सपोर्ट’ थियो । त्यो शक्ति ’सिफ्ट’ भएर अर्कोतिर जाँदा त्यसको प्रभाव पनि स्वतः सर्ने हुन्छ । त्यसैले यो चुनावपछि दलहरूले नयाँ आकार ग्रहण त गर्ने नै छन्, साथै चुनावको समीक्षा गर्नुपर्ने ठाउँमा पनि उनीहरू पुगेका छन् । खासगरी आफैँभित्रको कमजोरीका कारण शक्ति गुमाएका वामपन्थी पार्र्टीहरूले निर्मम समीक्षा गर्नुपर्ने देखिन्छ । प्रमुख तीन कम्युनिष्ट पार्र्टीलाई यसले एक–अर्काको अस्तित्व स्वीकार गर्दै वस्तुगत धरातलमा उभिएर सहकार्यको हात अगाडि बढाउने या थप क्षतिका लागि तयार हुने दोबाटोमा उभ्याइदिएको छ ।

सतही प्रचार कि सग्लो संगठन ?

पार्र्टी फुटलाई सामान्यकृत गर्दै अरूतिरका गैरराजनीतिक मान्छे भिœयाएर चुनाव जितिने दाबी यसपटक पनि गलत सावित भएको छ । माधव नेपालको बहिर्गमनले पु¥याएको क्षति सुर्जेकुमारीहरूको पार्र्टी प्रवेशबाट पुर्ताल गराउने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई चुनावको परिणामले खण्डित गरिदिएको छ । अर्थात् संगठनको बलमै चुनाव जितिने हो भन्ने मान्यता फेरि एकपटक स्थापित भएको छ । ०६४ मा माटोमा पुगेको एमाले ०७० मा बौरिनु र ७ महिनाअघि सारा सम्पत्ति एमालेलाई सुम्पेर घरको जग नबन्दै केही ठाउँमा प्रतिस्पर्धा गर्न पुग्दा यति परिणाममै चित्त बुझाउन बाध्य हुनु एकीकृत समाजवादीको नियति हो । यही कथा लोसपामा पनि लागू हुन्छ । अनावश्यक तामझाम, हल्लाखल्ला र प्रचारवाजी जितको आधार होइन भन्ने कुरा चुनावी परिणामले फेरि पनि पुष्टि गरिदिएको छ ।

यसपटक एमालेलाई दोस्रो संविधानसभा चुनावमा माओवादीलाई जस्तै भयो । त्यतिबेला माओवादी अहिलेको एमालेजस्तै पहिलो पार्र्टीको हैसियतमा चुनावमा होमिँदै थियो । त्यतिबेला माओवादी विभाजित थियो भने अहिले एमाले फुटेको छ । जसरी यो चुनावअघि एमाले प्रवेशको लहर देखिएको थियो, त्यतिबेला पनि माओवादी प्रवेशको जगजगी थियो । अहिले केपी ओली हेलिकप्टर चढेर देश दौडाहामा निस्केजस्तै त्यतिबेला प्रचण्ड–बाबुरामको अधिकांश समय आकाशमै बित्थ्यो । तर, परिणाम माओवादीको पक्षमा आएन । प्रत्यक्षतर्फ १२० सिट जितेको माओवादी २६ सिटमा खुम्चिएर तेस्रो स्थानमा पुग्यो ।

अहिले एमाले तेस्रो नभए पनि त्यसरी नै साँघुरिने देखिएको छ । एमाले नेताहरूले पार्र्टी विभाजन नभएको दाबी गर्दै नेताहरूको सानो झुण्ड चोइटिएको भनेका थिए । कांग्रेस, माओवादी, मधेसवादी दल र विभिन्न स्वतन्त्र व्यक्तिलाई भिœयाएर त्यसको क्षति पुर्ताल गरिसकेकाले चुनावमा तात्विक फरक नपर्ने उनीहरूको दाबी रहँदै आएको थियो ।

तर, परिणामले बेग्लै कथा वाचन गरिरहेको छ । चुनावी परिणामको विश्लेषण गर्दा एमाले विभाजन नभएको भए उसले झिनो मतले हारेका अधिकांश पालिका जोगाउन सक्ने रहेछ । ‘फुटेर जानेहरू केही हैनन्, माओवादी, मधेशी र राप्रपाबाट ल्याएर पूर्ति गरेका छौँ भन्ने दाबी पूर्णतः खारेज भएको छ’, मत परिणामबारे धारणा राख्दै एमालेका एक नेताले भने, ‘आफ्नो जोगाउन नसक्ने हो भने परिणाममा प्रभाव पार्छ भन्ने कुरा देखियो । नेता गएका हुन्, जनमत गएको छैन भन्ने कुरा यो चुनावको परिणामले खण्डित गरिदिएको छ ।

गठबन्धनको निरन्तरतामाथि प्रश्न

विविध आशंका र अन्योलबीच चुनावी तालमेल गरेका सत्ता गठबन्धनका दलहरूले समान लाभ लिन सकेनन् । सिट भागबण्डामै निचोरिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई परिणाम सुखद देखिएन । गठबन्धन भएका ठाउँमा इमान्दारीपूर्वक कांग्रेसलाई भोट खन्याइदिएका यी दुई दललाई कांग्रेसबाट भोट ‘ट्रान्सफर’ हुन सकेन ।

कांग्रेस र माओवादीबीच तालमेल भएको ललितपुर महानगरमा मेयर र उपमेयरका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेसको भोट गठबन्धनका अरु दलले नपाएको प्रष्टै देखिन्छ । उपमेयरमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले मेयरका उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनको भन्दा आधा कम भोट पाएका छन् । त्यहाँ उम्मेदवार नै नभएको रूख चिह्नमा भोट खनिएको छ । काठमाडौँ, धुलिखेल, विराटनगर, बुटवलजस्ता राजनीतिक र रणनीतिक महत्वका स्थानीय तहमा कांग्रेसी मत गठबन्धनका अरु पार्र्टीलाई गएको देखिँदैन ।

अर्कोतिर माओवादी र समाजवादीसँग मिलेर अपेक्षाकृत परिणाम पाएको कांग्रेसलाई गठबन्धन जोगाउनुपर्ने चुनौती पनि छ । हुन त, चुनावअघि गठबन्धन गर्न नहुने मत सबैभन्दा बढी कांग्रेसमै थियो । त्यसको प्रभाव चुनाव प्रचार–प्रसारका क्रममा पनि देखियो । काठमाडौँ महानगरमै मेयर र उपमेयरको संयुक्त ब्यानर राखेर प्रचार गरिएको थिएन । ३२ वटै वडामा कांग्रेसले आफ्ना निर्वाचन कार्यालयमा उपमेयरको फोटोसहितको प्रचार सामग्री राखेन ।

तर, गठबन्धन भएका अधिकांश थुप्रै स्थानीय तहमा कांग्रेसले भने सहज नतिजा निकालेको छ । गठबन्धनबाट मनग्यै लाभ लिन सकेकाले गठबन्धनप्रति अनुदार कांग्रेसीहरू पनि सोच्न बाध्य हुनेछन् । सम्भवतः संघ र प्रदेशको चुनावमा सबैभन्दा बढी गठबन्धनको माग गर्ने कांग्रेस नै हुन सक्छ । माओवादी केन्द्रका एक नेताले आफूले लिने तर अर्कोलाई दिन नचाहने प्रवृत्तिले स्वाभाविक रुपमा गठबन्धनको निरन्तरतामाथि प्रश्न उठेको बताए ।

‘कांग्रेससँग तालमेल गर्नु भनेको उसलाई जिताएर आफू सक्किनु हो भन्ने कुरा यो चुनावले देखाएको छ’, उनले भने । कांग्रेसका नेताहरूले भने केही ठाउँको उदाहरण दिएर समग्र तालमेल असफल भयो भन्न नमिल्ने जिकिर गरेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले तालमेल सफल भएको र गठबन्धन अझै अगाडि जाने बताए ।

टिप्पणीहरू