प्रधानमन्त्री दङ्ग, मन्त्रीहरू फुरुङ्ग

प्रधानमन्त्री दङ्ग, मन्त्रीहरू फुरुङ्ग

उहाँले फेरि पनि केही तत्वहरू सरकारलाई असफल बनाउन सक्रिय हुनसक्ने भएकाले मन्त्रीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो ।

हिजो दिउँसो बालुवाटारमा बसेको क्याबिनेट बैठकको एजेण्डा र वातावरण विगतको भन्दा फरक थियोे । प्रधानमन्त्री हँसिलो अनुहार लगाउँदै बैठककक्षमा प्रवेश गर्नुभयो । बैठकमा प्रायः आगोझैँ प्रस्तुत हुने प्रधानमन्त्री हिजो भने पानीझैँ शीतल मुडमा देखिनुहुन्थ्यो । बैठकमा एजेण्डा पनि खासै थिएन । संसद आह्वानको लागि राष्ट्रपतिसमक्ष पेश गर्ने रेडिमेड एजेण्डा प्रस्तुत हुनेबित्तिक्कै पास भयो । त्यसपछि मुलुकमा देखिएको कोरोना संक्रमणको पछिल्लो अवस्थामाथि छलफल भयो ।

बैठक कोरोना संक्रमण समुदायमा प्रवेश गरेको चरणमा पुगेको आशंकातर्फ केन्द्रित भयो । प्रधानमन्त्रीको जोड समुदायमा प्रवेश गरेको संक्रमणलाई कसरी नियन्त्रणमा लिने भन्नेमा केन्द्रित थियो । त्यहि मेसोमा उहाँले फेरि पनि केही तत्वहरू सरकारलाई असफल बनाउन सक्रिय हुनसक्ने भएकाले मन्त्रीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो । अहिलेको महामारीमा काम गरेरै उनीहरूलाई परास्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

हिजो सम्भवतः लामो समयपछि कुनैपनि मन्त्रीले क्याबिनेटमा प्रधानमन्त्रीको हप्की खानुपरेन । त्यसैले होला मन्त्रीहरू पनि फूलजस्तै फुरुङ्ग भएर बालुवाटारबाट बाहिरिए।

टिप्पणीहरू