निर्वाचनले दिएको बहुआयामिक नतिजा

निर्वाचनले दिएको बहुआयामिक नतिजा

देशभरि लगभग मतगणना सकिएको छ । कांग्रेस सबैभन्दा धेरै स्थानीय तह जित्ने पार्टी बनेको छ भने दोस्रोमा नेकपा एमाले र माओवादी केन्द्र तेस्रो स्थानमा रही फेरि पनि निर्णायक शक्तिको रूपमा आएको छ ।

ठूला महानगर र केही निर्वाचन स्थगित केन्द्रबाहेक अरु स्थानको नतिजा आइसकेको अवस्थामा कुन दल कुन अवस्थामा छन् भन्ने सामान्यतया देखिसकिएको थियाे । चुनाव हुने कि नहुने दोधारमा थिए सबै राजनीतिक दल । सत्तापक्ष चुनाव गराउने कि नगराउने अन्योलमा थियो । घोषणा त भइसक्यो तर जनमत आफ्नो पक्षमा आउला कि नआउला भन्ने त्रासले गठबन्धनका केही घटक चुनाव नहोस् भन्नेमा लागेको गाइँगुइँ सुनिन्थ्यो ।

प्रमुख प्रतिपक्षी दल एमाले भने यही मौकामा तर मार्न सकिन्छ भन्ने हिसाबले आजै र अहिले नै चुनावमा जानुपर्छ भन्ने हुट्हुटीमा थियो । यतिसम्म कि खड्गप्रसाद ओलीले बालकोटमा भोट खसाइसकेपछि पत्रकारसँग ‘देउवाले वैशाख ९ गतेसम्म पनि चुनाव सार्ने प्रस्ताव राखेको’ बताएका थिए । कांग्रेसले अहिलेसम्म निर्वाचनको मामिलामा खुट्टा कमाएर पछि हटेको देखिँदैन, अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार छ । सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री हुँदाको अवस्थामा चुनाव सार्ने सम्भावना पनि थिएन । अन्ततः चुनाव भयो र परिणाम आउँदै पनि छ ।

राजनीतिक धरातल कमजोर भएका केही दलको भने चुनावको अन्तिम दिनसम्म पनि खुट्टा कामिरहेको थियो, लतारेर भए पनि निर्वाचनको भेलमा हेलिदिएपछि अन्ततः पौडिन सक्ने पारि तरे, नसक्नेहरू ५ वर्षसम्मका लागि भेलसँगै बगे । यसपटक राजनीतिक प्रतिस्पर्धाभन्दा पनि व्यक्तिगत रिसइबी साँधिएको देखिन्छ ।

अराजनीतिक संबोधन

अस्वस्थ प्रतिस्पर्धाको नमुना हेर्नका निम्ति केपी ओलीका चुनाव अघिसम्मका अभिव्यक्ति नै काफी छन् । आफूबाट विद्रोह गरेर बनेको माधव नेपालको पार्टीलाई उनले कहिल्यै स्वीकार गरेनन् न त माधव नेपालनै कुनै राजनीीतक व्यवहार गरे । माधव नेपालको नाम लिँदा ‘एकछिनपछि म मुख कुल्ला गर्छु, यस्ता मान्छेको नाम लिएर आफूलाई अपवित्र बनाउनु छैन’ भन्दै निम्छरो अभिव्यक्ति दिए । चुनावी सभालाई सम्बोधन गर्ने भन्दै देश दौडाहामा ओली जहाँ पुगे उनको भाषणमा कहीँ–कतै पनि राजनीतिक संबोधन पाइएन । उनले जापानी भाषको हुर्मत लिँदै सत्ता गठबन्धनलाई ‘हुतिहारा मोरा’ सम्म भन्न बाँकी राखेनन् ।

देश र जनताप्रतिको दायित्व र जिम्मेवारी कसरी बहन गर्ने ? जनताको जीवनस्तर उकास्ने चुनाव जितेपछिका योजना के हुन् जस्ता विषयमा प्रतिस्पर्धा गर्नुपर्ने बेला आफूइतरका दलको सत्तोसराप गरेर जनता र कार्यकर्तालाई हँसाउने शैली एउटा कमेडियनलाई माथ खुवाउनेभन्दा कमको हुँदैनथ्यो । गाली, बेइज्जतीपूर्ण भाषण गरेर प्रचण्ड, माधव, देउवालगायत नेताको खोइरो खन्दैमा उनको भाषणको समय सकिन्थ्यो, हो यही आधारमा जनताले यस स्थानीय तहको निर्वाचनमा उनको पार्टीलाई मत दिएनन् ।

उनी जहाँ – जहाँ पुग्थे त्यहाँ धेरै संख्यामा जनताको उपस्थिति गराइन्थ्यो र सत्तोसराप सुन्न लगाइन्थ्यो । आज उनी पुगेर सम्बोधन गरेको स्थानको नतिजा हेर्ने हो भने एमाले लगभग शून्य अवस्थामा देखिन्छ ।

निर्वाचन सकिएकै बेलुका चुनावी मत परिणाम आफ्नो पक्षमा नआउने छनक देखेपछि ओलीले नक्कली मतपत्र छापेर बाँडियो, धाँधली भयो, पुनः चुनाव गर्नुप¥यो भनी विज्ञप्ति निकाले । त्यसो हो भने ०७४ को चुनाव काँग्रेस र माओवादीले गराएका थिए । एमाले त्यो बेला सबैभन्दा ठूलो बनेकै हो । त्यसबेलाचाहिँ निर्वाचन निष्पक्ष भयो भन्ने ? कि आफू हार्दा धाँधली, जित्दा निष्पक्ष हुने हो ?

९ महिनासम्म संसद अवरुद्ध गरेर, जनताको पक्षमा रहेका सांसदलाई काम गर्न नदिएर बबाल मच्चाउँदै आएको एमाले अन्ततः चुनावको परिणामले गर्दा संसद् अवरुद्ध नगर्ने स्थितिमा पुगेछ । जुधेर थाकेको गोरुले हरियो झाडीमा टाउको लुकाएझैँ एमाले आज यही अवस्थामा देखिन्छ । यसरी ऊ आफ्नो दम्भ र घमण्डबाट अलि तल ओर्लेको देखिन्छ ।

चुनावअघि एमाले एक्लै सय किलोको ढक हो, गठबन्धन भनेको एक÷एक किलाका ढक हुन् भन्ने ओलीनै थिए । उनले आफ्नै गृहनगरमा नमीठो हार भोगे, साख नै जोगिएन, यद्यपि एमालेका प्रायः ठूला भनिएका नेताले आफ्नै गृहनगरमा जित निकाल्न सकेनन् । यो उनीहरूको लोकप्रियता मापन गर्ने अवसर पनि हो ।

माओवादी केन्द्र तुरूपको एक्का

यता, माओवादी केन्द्र फेरि पनि शक्ति फेरि निर्णायक शक्तिको रूपमा खडा हुने देखिन्छ । माओवादी केन्द्र र एमालेलाई एकीकरण गरेर नेकपा बनाएका ओली र प्रचण्ड अहिले उही पुरानो पार्टीको अस्तित्वमा छन् ।

माओवादी केन्द्रलाई आलोचना गर्ने प्रशस्त आधार छन् । हिजो जनतालाई देखाएको आश्वासन पूरा नगरी संसदीय व्यवस्थामा छिरेर आफँै गुमनाम बनेको भन्नेहरू त्यहींभित्र प्रशस्त छन् । पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउन रगत–पसिना बगाउने हजारौँ सहिद, बेपत्ता योद्धा परिवार, हजारौँ घाइते अपांग र युद्धको बेला सदैव अग्रपंक्तिमा रहेर बलिदानका लागि तयार योद्धालाई बिर्सेको भन्ने यथार्थ आरोप पनि छन् ।

आज ती योद्धा खाडी मुलुकको तातो गर्मीमा आफ्ना सन्ततिको सपना साकार बनाउने अर्को सपना बुनेर जसोतसो बचेको जिन्दगी घिसारिरहेका छन् । यस्ता विषयमा ध्यान नदिनाले पनि माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको छ । अब पनि नेतृत्वको चेत खुलेन भने मोहनविक्रमको हैसियतमा सीमित हुनुपर्ने र जनताको आशा भरोसाबाट स्खलित हुने खतरा छ । टुटफुटका कारण माओवादी आन्दोलन कमजोर भएको देखिए पनि जनतामा यस आन्दोलनको प्रभाव अझै पनि छ । आज पनि माओवादी आन्दोलन संसदीय व्यवस्थाको कहीँ–कतै निर्णायक भूमिकामा छ र रहनेछ ।

प्रतिगमनविरुद्ध कांग्रेसको नेतृत्व

हिजो माओवादी आन्दोलनलाई दबाउन टाउकाको मूल्य तोक्ने देउवा हाल प्रधानमन्त्री छन्, उनलाई यो पटक पनि सत्तामा पु¥याउने निर्णायक शक्ति भनेकै माओवादी र प्रचण्ड हुन् । राजनीतिमा असम्भव भन्ने कुरा के नै छ र भन्ने यो असाधारण उदाहरण हो ।

यति मात्र होइन कि यो स्थानीय तहमा कांग्रेसलाई पहिलो हैसियत बनाउन उनै प्रचण्डको योगदान छ भन्दा अतिसयक्ति नहोला । दोस्रो चोटीको प्रतिगमनविरुद्ध देउवाले बलियोसँग खुट्टा नटेकेका भए खड्गप्रसादले बितण्डा मच्चाइसक्थे । कांग्रेसभित्र पनि दम्भ र घमण्डबाट निस्किन नसकेका केही नेताको कारण यो निर्वाचनमा उसले कैयाँै ठाउँमा पराजित हुनुप¥यो ।

साना दलको पिरलो

यो निर्वाचनमा अन्य दलको अवस्था भने सन्तोषजनक रहेन । भर्खरै गठित एकीकृत समाजवादी केही स्थानमा सीमित छ उता बाबुराम भट्टराई नेता रहेको जसपा मधेसका केही स्थानमा देखिए पनि भट्टराईको आफ्नै गृहजिल्ला गोरखामा भने गुमनाम बन्न पुग्यो ।

टिप्पणीहरू