चुनाव हार्दैमा सकिँदैन चुनौतिको चाङ्ग मान्छेको जीवन सकिदैँन

चुनाव हार्दैमा सकिँदैन चुनौतिको चाङ्ग मान्छेको जीवन सकिदैँन

“भनिन्छ ‘सबैले बलेकै आगो ताप्छन् ।” सफलतामा खुशी मनाउन लाग्ने भीडमा ‘बलेको आगो ताप्ने’ नेपाली संस्कारको प्रतिविम्ब देखिन्छ । तर, पराजयमा भने मानिस एक्लिन्छ । जीवन बुझ्ने र हारपछि जितको सम्भावना देख्नेहरुले पराजयलाई पहिलो खुड्किलो बनाएर आफूलाई निखार्दै अगाडि लम्किरहेका हुन्छन् ।

जितहार हरेक मानिसको जीवनमा आइरहने घटनाक्रम हो । यस अर्थमा जीवनको पर्यायवाची नै हो हारजित । यो चक्र घुमिरहन्छ, चलिरहन्छ । जहाँ जुनसुकै अवस्थामा पनि संघर्षपश्चात त्यसको परिणाम आइ हाल्छ।

विजय-पराजयको कुरा गर्दा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरैले हारे भने थोरै (जति आवश्यक हो) ले मात्रै जित निकाले । कतिपयले वर्षौँसम्म जनप्रतिनिधि बन्ने धोको पूरा गर्न सकेनन् भने कयौँले दोहोरिने मौका पाए । जित्नेहरु त यसै खुशी छन्,उनीहरुको कुरा नगरौँ । तर हार्नेहरुको कुरा गर्दा उनीहरु कति विछिप्त होलान् त कतिलाई चुनावमा भएको खर्च सम्झेरै पसिना आउँछ होला । जे होस् हार्नु र जित्नु खेलको नियम हो, प्राप्त परिणामलाई स्वीकारेर अघि बढ्नुको विकल्प के छ र !

हारलाई जिन्दगीको अन्तिम बिन्दु मान्नेहरु पनि छन् यस धर्तीमा । दुई चार पटक हार्दैमा हरेस खानेहरु पनि छन् हाम्रै समाजमा । तर,हार सफलताको निम्ति एउटा गतिलो आधार बन्न सक्छ । राम्रो तयारीका साथ आगामी यात्रा तय गर्नेहरुका लागि जितले कुरिरहेको हुनसक्छ । तर,त्यसका लागि अठोट, प्रतिवद्धता, निरन्तरता र इमान्दारिता चाहिन्छ । ‘सफलतामा मात्तिने र असफलतामा आत्तिने’ हो भने अब्राहम लिंङ्कन आज दुनियाँका लागि प्रेरणादायी आदर्शका पात्र हुँदैनथे ।

अब उनै आदर्श पुरुष अब्राहम लिंङ्कनको कुरा गरौँ है त !

सन् १८०९ फेब्रुअरी १२ मा जन्मेका लिंङ्कनले अमेरिकामा धेरै पटक निर्वाचन लडे र पराजय भोगे । जीवनमा अनगिन्ति हण्डर,ठक्कर खाएर पनि उठ्दै हिंड्ने कोसिस गरे । फेरि लडे, अनि फेरि उठे । यो उनको जीवनको अत्यन्तै कहालीलाग्दो पाटो थियो ।

उनको परिवार सन् १८१६ ताका घरवारबिहीन हुन पुग्यो । तर, उनले संघर्ष भने जारी नै राखे । आमाको मत्युपश्चात अब्राहमले गर्दै आएको ब्यापार सन् १८३१ मा घाटामा गयो, तर पनि उनले फेरि चुनावमा भाग लिए । सन् १८३२ मा राज्य विधानसभाको चुनाव लडे तर हारे । चुनावमा हारेपछि उनी पढ्न चाहन्थे तर भर्ना हुन नपाएको दर्दनाक कहानी हामी पढ्न पाउँछौँ । त्यहि समयमा उनी जागिरबाट पनि निकालिएका थिए ।

सन् १८३३ ताका ऋण खोजेर व्यवसाय शुरु गरे तर उनलाई फेरि सफलता मिलेन । १७ बर्षसम्म अब्राहम ऋणमै डुबिरहे । अनगिन्ति चोटबाट खारिदै आएका उनको जीवन संघर्ष यतिमै रोकिएन,सन् १८३५ मा विवाह गरे । तर,श्रीमतीको मृत्यु भयो र उनी डिप्रेसनजस्तो खतरनाक रोगको शिकार हुन पुगे । ६ महिनासम्म बेडरेस्ट गर्नुपर्यो ।

निको भएपछि सन् १८३८ मा राज्य विधानसभाको वक्ताको चुनाव लडे । उनले फेरि पनि हार्नु पर्यो । सन् १८४० मा इलेक्टर बन्न खोजे,त्यहाँ पनि सफलता हात परेन । उनको संघर्षको जीवन देखेर आफन्त साथीभाइहरु पनि वाक्कै भैसकेका थिए तर साथ छोडेका थिएनन् । थुप्रै हार खाएका उनी अन्तत: सफल हुनेमा दृढ थिए । सन् १८४३ र ४८ मा संसदको चुनावमा उठे दुवै पटक हार नै हात लाग्यो । सन् १८५४ मा सिनेटको चुनाव लडे र हारे,यो क्रम चलि नै रहयो । सन् १८५८ मा पुन: सिनेटकै चुनाव लड्ने हिम्मत गरे तर जित्न सकेनन् ।

“चुनाव हार्दैमा मान्छेको जीवन सकिदैँन” भन्ने उनको महान वाणीलाई अहिले निर्वाचनमा पराजय भोगेका उम्मेदवारहरुले पनि बुझ्नुपर्ने हुन्छ । असल व्यक्तित्व र जनताको पक्षमा राम्रो काम गर्नेहरुलाई ढिलोचाँडो जनताले पुरस्कृत गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् अब्राहम लिंकन । हारको चाङ्गबाट जुरुक्क उठ्दै सफलताको मन्जिल छुन हिंड्ने उनको अदम्य साहस देखेर विश्व नै त्यतिबेला अचम्मित थियो ।

यी यावत हण्डर ठक्करपश्चात उनले सन् १८६० को निर्वाचनमा सफलता प्राप्त गरे । चुनावमा सानदार मतले जितेर अब्राहम अमेरिकाको १६ औं राष्ट्रपति बन्न सफल भए । अमेरिकी जनताले उनलाई न्याय गरे । आफूले भोगेको दु:ख र हैरानीको बीचबाट उनको अदम्य साहसलाई सार्थक बनाउन सफल भए । अब्राहमले गृहयुद्दमा फसेको अमेरिकालाई शान्तितर्फ लगे । दासप्रथाको अन्त्य गरे । काला र गोरा जातिवीचको जातीय द्वन्द्वलाई अन्त्य गर्दै आफ्नो शासनकाल भब्य र सभ्य बनाउन सके ।

देशप्रतिको लगाव र जनताप्रतिको जिम्मेवारीलाई सदैव प्राथमिकतामा राख्ने अब्राहमको शासकीय शैली थियो । जुन उनको जीवनीबाट थाहा पाउन सकिन्छ । उनका धेरै बाणी छन् जसले जीवनमा संघर्षको सार्थकताबारे आँखा खोल्छ । हाम्रो समाजमा यस्ता असफलताको कथा बोकेर पनि सफलताको खुड्किलो उक्लदै गरेका कैयौं व्यक्ति छन् तिनीहरु पनि समाजका लागि प्रेरणादायी पात्र बन्न सक्छन् ।

“बाटो चिप्लो र खराब थियो । मेरो खुट्टा बारम्बार चिप्लियो,अर्को खुट्टाले बाटो खोजिरहें, तर म सम्हालिएँ र आफैंलाई भने, म लडेको छैन सिर्फ चिप्लिएको हुँ ।” – अब्राहम लिंङ्कन

पटक-पटकको असफलताले जीवनदेखि हार खाएकाहरुलाई अब्राहमको जीवन एक मार्गदर्शन बन्न सक्छ । अब्राहमले आफ्नो हारसंग सम्बन्धित रहेर भनेका यो जीवन्त भनाई हामी सबैलाई सफलताको मार्गदर्शन बन्न सक्छ । जुनसुकै क्षेत्रमा किन नहोस्, असफलतासंग संघर्ष र प्रेरणादायी सफलतालाई एक आपसमा बाँड्ने हो भने असफलताको कुण्ठाबाट बाहिर आउन सक्ने वातावरण बन्थ्यो कि !

टिप्पणीहरू