कसले पत्याउने यी पहिले युवराज थिए !

कसले पत्याउने यी पहिले युवराज थिए !

पूर्वराजा ज्ञानेन्द्र शाहको जिन्दगीमा दुःखहरू त छन्, तर रहरहरू पूरा गर्दै चलिरहेको छ ! मुटुको खान्दानी रोग, स्टेण्ट प्रत्यारोपण गरेर बाँचेको जिन्दगी । तर, हप्तामा एकचोटि चिल्लो, च्वाट्टचुट्ट परेको बिरयानी, त्यो पनि आफैँले पकाएर खानैपर्ने ।

निर्मल निवासमा अनेकन सहयोगी, सुरक्षाकर्मी र परिवारका सदस्य छन् । तर, बिहीबारको दिनचाहिँ अरुबाट चल्दैन, आफैँले पकाएर, अनि अरुलाई पनि बाँडेर बिरयानी खानैपर्ने उहाँको आदत जारी छ । खानपानमा थुप्रै कुराहरू नियन्त्रण गर्नुभएको छ । निकटस्थस्रोतका अनुसार, खसी र पाडोको मासु खान छोडेको धेरै भयो ।

नत्र उहाँ एक समय खसीको कबाब र बफ ममको सोखिन नै हो । मदिरामा ह्वीस्की र रम करिव–करिव छोडेको स्थिति छ । वाइन र बियर, त्यो पनि ज्यादै कम लिनुहुन्छ । मसालेदार खाना प्रायः नियन्त्रित छ । उसिनेको साग, थोरै भात र धेरै मरमसला नहालेको तरकारीसहितको खाना लिने गर्नुहुन्छ । नून सेवन पनि नियन्त्रित छ ।

तर, यसका बाबजुद पनि उहाँ हप्तामा एकदिन स्वादिष्ट भोजनको तिर्खा मेट्न आफैँ भान्सामा छिर्नुहुन्छ, पकाएर अरुलाई दिँदै आफू पनि खानुहुन्छ । उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गर्नुहुने उहाँलाई चिकित्सकहरूले चिल्लो, पिरो, अमिलोसहित धुमपान र मदिरा सेवन बर्जित गरेका छन् । धुमपान करिव करिव छोडेको निकटस्थहरू बताउँछन् । तर, परिवारका सदस्यहरूसँग ‘भगवान र डाक्टरले नदेखुन्’ भन्दै हप्तामा एकदिन मस्तसँग बिरयानीको मज्जा लिने गर्नुभएको छ ।

उता, छोरा पारसको जिन्दगीमा अचम्मैको सुधार छ । पोखरा, पामेस्थित एउटा घरको २ वटा फ्ल्याट भाडामा लिएर बस्छन् । त्यहाँ सञ्चालित केबुल कार स्टेशनभन्दा दुई–चार घर माथि, चार तलाको घरमा सशस्त्रका एक सिपाहीलाई सहयोगी बनाएर दिनचर्या चलेको छ । उनी पनि बुबाको झैँ खान्दानी रोग मुटुको दबाई खाने गर्छन् ।

पाँच–सात जना मान्छे सधैं साथ हुन्छन् । भन्ने गर्छन्, ‘नागरिक जसरी हिँड्न किन नपाइने ? म राजा हुन जन्मिएकै होइन । राजपरिवारमा जन्मिएको नाताले युवराजसम्म भएँ ।’ धेरै मान्छेमा पारसप्रतिको धारणा छ, उद्दण्ड, जंकी, लागुऔषधका दुव्र्यसनी, नारी देहका भोगी ! तर, अहिलेको जीवन यसबाट बिल्कुलै टाढा छ । दुव्र्यसनमा जम्माजम्मी गाँजामात्रै बाँकी छ । त्यो पनि ४० वर्षको उमेरबाट खान थालेको ।

मदिरा पूर्णतः परित्याग गरिसकेका छन् । संस्कृतमा फरर बोल्ने बानी परेको छ । प्रायः हातमा एउटा न एउटा किताब हुन्छ । यौनमा ठकुरी परिवार अरु समुदायभन्दा उदार हुने नै भयो । तर, युवतीमोहका नाममा निकृष्ट गतिविधिमा उनको संलग्नता छैन । एकजना युवतीका कारण केही समयअघि टिकटकमा भाइरल भए पनि ती युवती उनीबाट पन्छिएकी छन् । बरु, उनलाई साथ दिन रुचाउने र माया गर्न चाहने महिलाहरू पोखरामा पनि थुप्रै छन् ।

पोखरा बसाइका लागि उहाँलाई काठमाडौंबाट खर्च जान्छ । काका धीरेन्द्रकी छोरी शीताष्माले महिनामा कहिलेकाहीँ १५ लाख रूपैयाँसम्म पठाउने गरेकी छन् । त्यो पनि आमा कोमलले दिएको रकम पठाउने गरेकी हुन् । स्रोतका अनुसार, प्रायः निर्मल निवासको आर्थिक कारोबार शीताष्माबाटै हुने गरेको छ । उनका पति अविनेशसिंह शाहको १२ वर्षअघि निधन भएको हो । एकल जीवन बिताइरहेकी धीरेन्द्रकी माहिली छोरी उनी निर्मल निवासमा बस्दिनन् ।

पोखरामा पारसका साथीहरूको अलग्गै सर्कल छ, प्रायः त्यहीँका स्थानीय । भन्ने गर्छन्, ‘म रगतको खोलोबाट आएको हुँ । फूपू मरेको, ठूलोबुबाको परिवारै ढलेको दृश्य मेरो आँखामा जतिबेला पनि नाचिरहन्छ । म त्यसै मर्दिनँ, ८० वर्ष बाँच्छु ।’ गोरखनाथ बाबा मान्ने उनमा आजकल निकै भावुक स्वभाव पाइन्छ । आफ्नो गाडीले छोयो भने पनि कुकुरलाई अंगालो हालेर रोइरहेको देखिन्छ । बृद्धबृद्धा देख्नासाथ खुट्टा ढोगिहाल्ने बानी छ । भात खाने चलन छैन । फलफूल खाएर दैनिकी चलेको छ । पोखरा वरिपरिका पर्यटकीय स्थलमा दिनहुँ घुमफिर गर्ने र कहिलेकाँही साँझ पब, क्लबतिर छिर्ने गरेका छन् ।

पोखरामा साथीहरूले पारसलाई उनीसँग जोडिएर आउने पुरानो घटनाबारे सोध्ने गर्दछन् । त्यो हो, पोखराकै संगीतकार प्रवीण गुरुङको मोटरसाइकल दुर्घटना । भनिन्छ, पारसले चलाएको गाडीको ठक्करले उनी ढलेका हुन् । तर, पारस घुमाउरोपाराले जवाफ दिन्छन्, दाजु दीपेन्द्र आफैँले गाडी चलाएको । अर्थात्, दीपेन्द्रका सबै गलत काम व्यहोर्ने गरेकै कारण आफूले बदनामी कमाएकोतिर संकेत गरिरहेका हुन्छन् । साथीहरूले पोखरा, पामेमाथिको रातो डाँडा, माझीकुनास्थित ४० रोपनी जग्गामा घर बनाउन सुझाव दिएका छन् ।

तर, मान्दैनन् । सोल्टीको नाममा रहेको उक्त जग्गाको भोगाधिकार ज्ञानेन्द्र शाह परिवारमै रहेको बताइन्छ । जन्मदिन मनाउने क्रममा पोखराका साथीहरूलाई उनले काठमाडौंको सोल्टी होटलमा पाँच दिनको लागि कोठा बुक गरिदिएका थिए । त्यहीँ उनको जन्मदिन मनाइँदा बाबुआमा आए, तर पाँच–दश मीनेट बसेर फर्किए । श्रीमती, छोरा, छोरी पनि पुगे । उनीहरू पनि धेरैबेर बसेनन्, ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै च्वाप्प–च्वाप्प किस खाँदै फर्किए ।

टिप्पणीहरू